काठमाडौं- फागुन तेस्रो साता घरेलु उद्योग महोत्सव हुने भएको छ। ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, श्रृजना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने नाराका साथ १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५ फागुन तेस्रो साता राजधानीमा आयोजना हुने भएको हो।
प्रदर्शनी नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा फागुन २३ देखि २७ गतेसम्म अयोजना गर्न लागेको हो। मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले जनाए।
उनकाअनुसार लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न सकेको छैन। जसकारण युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन्। उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या छ।
नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू, भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने प्रदर्शनीमा बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव लगायत हुने बताइएको छ।
आयोजककाअनुसार प्रदर्शनीमा दुई सय स्टल राखिनेछ भने दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। त्यस्तै सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोवार हुने अयोजकको प्रक्षेपण छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४