काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत पुस ११ गते बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको घटनामा गरिएको छानविन प्रतिवेदन संसद्मा प्रस्तुत गर्न माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमा सभामुखको ध्यानाकर्षण गराउँदै एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा सरकारको प्रत्यक्ष संलग्न रहेको बताउँदै बालकुमारी घटनाको छानविन समितिको प्रतिवेदन संसद्मा प्रस्तुत गर्न माग गरे।
सो घटनाको कारक भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला रहेको बताउँदै उनलाई तत्काल सरकारबाट हटाउन उनले माग गरे। भट्टराईले भने, ‘बालकुमारीमा दुई युवाको हत्या भएको भनेर फागुन ६ गतेको संसद् बैठकमा प्रधानमन्त्री स्वयंले भन्नुभएको छ। त्यो हत्या कसले गरेको हो? त्यहाँ कुनै नागरिक तहबाट एक अर्कामा झडप भएर हत्या भएको होइन। सुरक्षाकर्मीको गोलीबाट हत्या भएकोले त्यसमा सिंगो सरकार जिम्मेवार छ भन्ने कुरा हामी जोड दिएर भन्न चाहन्छौं। भौतिक पूर्वाधार मन्त्रीको लापरवाहीले सो घटना भयो। सरकारले नै बनाएको बालकुमारी घटना छानविन आयोगले नै मन्त्री दोषी छ भनेपछि त्यो मन्त्री फेरी पदमा बाहाल हुने भन्ने कुरा नैतिक हिसावले हुँदै हुँदैन। प्रधानमन्त्रीले नै हत्या भनेपछि सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’
उनले सो घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत नैतिक जिम्मेवारी लिनुपर्ने उनले बताए। यस्तै टेरामक्स काण्डमा संलग्न रहेको भनेर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग अख्तियारले बयान लिएको बताउँदै उनले मुद्दा प्रभावित पार्न सक्ने भन्दै उनलाई पनि सरकारबाट हटाउन माग गरे।
यस्तै गौतमबुद्धको अस्तुधातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ वर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटनमन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनी पनि सरकारमा बस्न नहुने एमालेको माग छ।