बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महासमिति बैठकमा होहल्ला र नाराबाजी भएपछि प्रहरी परिचालन

कांग्रेस महासमिति बैठकमा होहल्ला र नाराबाजी भएपछि प्रहरी परिचालन

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

काठमाडौं- गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठक प्रभावित भएको छ। समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा आफूहरूका सुझाव नसमेटिएको भन्दै प्रतिनिधिहरूले होहल्ला गरेपछि तनाव भएको हो। 

National life

बन्दसत्रको अन्तिम दिन बिहीबार समूहगत छलफलको निष्कर्ष प्रदेश सभापतिले सुनाउने क्रम चलिरहेको थियो। बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँले निष्कर्ष सुनाइरहेको समयमा प्रतिनिधिले आफ्ना सुझाव नसमेटिएको भन्दै होहल्ला शुरू गरेका थिए। प्रतिनिधिहरू मञ्चको अगाडितर्फ गएपछि बन्दसत्र प्रभावित भएको थियो। प्रतिनिधिलाई रोक्न प्रहरीसमेत परिचालन भएको थियो। 

त्यसपछि महामन्त्री गगन थापाले परिस्थिति सम्हाल्न अग्रसरता लिएका थिए। सबैको कुरा सुनेर मात्र निर्णय हुने भन्दै अन्य प्रदेशका सभापतिलाई बोल्न दिन उनले आग्रह गरे। यसअघि संस्थापन पक्षकै सभापतिले छलफलका निष्कर्ष राखेका थिए। 

महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावलाई प्रदेश सभापतिहरुले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ। बैठकमा उठेका सुझावहरुलाई केन्द्रीय पदाधिकारीहरुसहितको संयुक्त बैठकमा प्रस्तुत हुन थालेको हो।

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्‍वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री  प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि बुधबार दिनभर महासमिति सदस्यहरुले चार समूहमा रहेर समूहगत छलफल गरेका थिए।

kumari

महासमिति सदस्यहरुले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरु, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझाव प्रस्तुत गरेका छन्।

ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठकको आज चौथो दिन हो।  महासमिति बैठकको समापन पनि आज नै गरिने महासमिति बैठकका प्रचार प्रसार संयोजक मीनबहादुर विश्‍वकर्माले बताएका छन्।

नेपाली कांग्रेसमा चुनावमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा फरकफरक मत रहँदै आएको छ। सभापति शेरबहादुर देउवा गठबन्धन रणनीतिक विषय भएकाले चुनावका बेला निर्णय गर्नुपर्ने पक्षमा छन्। महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा भने गठबन्धन गर्न नहुने प्रस्ताव गरिएको छ। महासमिति बैठकमा पनि सदस्यहरू यिनै दुई कित्तामा उभिँदै आएका छन्।

महासमिति बैठकका क्रममा विवाद हुँदै आएको छ। यसैगरी बिहीबार बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन्। गण्डकीका उपसभापतिसमेत रहेका श्रेष्ठ प्रदेशका पूर्वमन्त्रीसमेत हुन्। उनी महासमिति सदस्य नरहेको भन्दै सदस्यहरूले विरोध जनाएका थिए।

बुधबार पनि महासमिति सदस्यहरूले बोल्न समय कम दिइएको भनेर विरोध जनाएका थिए। त्यस क्रममा केही समय बैठकमा निकै होहल्ला भएको थियो। सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले माफी मागेपछि विवाद साम्य भएको थियो।

महासमिति बैठक आज नै समापन गर्ने तयारी छ।  

प्रकाशित: Feb 22, 2024| 16:33 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्