राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज जाँच रहेको बताएका छन्।
आइतबार प्रतिनि धिसभा बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका बहालवाला मन्त्री प्रकाश ज्वालालाई के गर्ने भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधे।
उनले भने, ‘प्रधानमन्त्रीको आज जाँच हुन्छ। दोषी ठहरिएका मन्त्रीलाई के गर्ने हो ?’ जाँचबुझ आयोगले दोषी ठहर गर्दा पनि मन्त्रीले नैतिकता नदेखाएको उनले बताए। ‘अहिलेसम्म मन्त्रीले न नैतिकताको प्रदर्शन गरेका छन्, न प्रधानमन्त्रीले छनक देखाउनु भएको छ। छानबिन आयोगले दोषी ठहर्याउँदा पनि चुइँक्क नबोली भाषण गर्दै हिँड्नेसँग नैतिकता हुन्छ ?’ उनले प्रश्न गरे।
प्रमाण नभएकालाई खोजीखोजी थुन्न खोज्ने र छताछुल्ल प्रमाण भएकालाई सरकारले कारबाही नगरेको लामिछानेले बताए। भ्रष्टाचारको फाइल रास्वपाका सांसदबाट खोल्न पनि उनले चेतावनी दिए। ‘ललिता निवास, भुटानी शरणार्थी प्रकरण र सुनकाण्ड देखियो। आफ्नो मान्छेको अनुहार आउने बित्तिकै बन्द गर्ने?’ उनले भने।