शनिबार, भदौ १३, २०८३

अघि बढ्यो बाँसबारी छाला जुत्ताको जग्गा सरकारीकरण प्रक्रिया

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाको हडपिएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया अगाडि बढिसकेको बताएका छन्।

शुक्रबार अध्यागमन विभागमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले उक्त जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढिसकेकाले दोषीमाथि कारवाही हुने बताए।

उनले भने, 'बाँसबारी छाला जुत्ता कारखानाको हडपिएको १० रोपनी जग्गालाई सरकारीकरण गर्ने प्रक्रिया अघि बढिसकेको छ। जुन व्यक्ति र व्यक्तिका संस्थाहरूले आफ्नो बनाए, उनीहरूमाथि कारवाही गर्छौं।' श्रेष्ठले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरिसकेको जानकारी दिए।

गृहमन्त्री श्रेष्ठले गैरकानुनी रुपले सरकारको जग्गा विभिन्न व्यक्तिहरूले विभिन्न नाममा प्रयोग गर्दै आएको बताउँदै त्यस्ता जग्गालाई सरकारको नाममा ल्याई दोषीमाथि कडा कारवाही हुने बताए। बाँसबारीको जग्गा हडपेको आरोपमा प्रहरीले व्यवसायी अरुण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकु्रलाई पक्राउ गरेको थियो।

जिल्ला अदालत काठमाडौंको आदेशपछि चौधरीसहित तीनैजना हाजिरी जमानीमा रिहाइ भएका छन्। सीआईबीले उनीहरूलाई माघ १८ गते पक्राउ गरेको थियो। उनीहरूलाई हिरासतमा राख्न दुई पटक म्याद थपिएको थियो। दोस्रो पटकको म्याद थप्दा जिल्ला अदालतले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो।

 

प्रकाशित: Feb 09, 2024| 12:48 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्