बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • उद्योग बन्द भएपछि गोदाममै थन्कियो एक अर्बको दुग्धजन्य पदार्थ

उद्योग बन्द भएपछि गोदाममै थन्कियो एक अर्बको दुग्धजन्य पदार्थ

 |  बिहीबार, माघ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २५, २०८०

चितवन- दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ। उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो।

National life

यही माघ २० गतेदेखि दूध संकलन रोकिएको छ। भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए।

'सहकारी र दुग्ध उद्योगले प्रशोधनका लागि ल्याएका दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ। उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ', उनले भने। उनका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्डस्टोर भरिएका हुन्।

प्रबन्धक पराजुलीका अनुसार पाउण्डर दूधले गोदाम, चिनी भण्डारण गर्ने, कपडा फेर्ने ठाउँ, क्यान्टिन सबै भरिएको छ। बीस हजार बोराभन्दा बढी दूध बाँकी रहेको जनाउँदै उनले पाँच सय टनभन्दा बढी बटर कोल्डस्टोरमा थन्किएको बताए।

'हामीसँग एक अर्बभन्दा बढी दुग्धजन्य पदार्थ गोदाममा थन्किएको छ', पराजुलीले भने, 'डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेका छौँ। उहाँहरुले सामान नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरेका हौँ।'

Laxmi sunrise bank
kumari

विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द हुन पुगेको थियो। विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको एक सय १३ र बटरको प्रतिकिलो ५५ रूपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ। 

प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र सबैमा दुग्धजन्य पदार्थ मौज्दात रहेको उद्योगका प्रबन्धक पराजुलीले जानकारी दिए। उनका अनुसार ३१ दुग्ध उद्योग र सहकारीको दूध भण्डार भएर बसेको छ। उत्पादन बिक्री हुन नसकेपछि उद्योग आर्थिकरूपमा समेत समस्यामा परेको उनको भनाइ थियो।

दुग्ध उद्योग र सहकारीले आफ्नो उत्पादन बिक्री नभएपछि किसानले दूधको भुक्तानी पाउन सकेका छैनन्। प्रशोधनसमेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन्। 

प्रकाशित: Feb 08, 2024| 21:31 बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्