सोमबार, वैशाख २४, २०८१

कैलाली र कञ्चनपुरको साढे पाँच हजार हेक्टरमा सिँचाइ

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

कैलाली- कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युववेलमार्फत ५ हजार ४ सय ८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ। 

triton college

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो र प्रदेश संरचनापश्चात् अहिलेसम्म पाँच हजार चार सय ८७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो।

डिभिजन प्रमुख श्रवण खनालका अनुसार प्रदेश स्थापनापश्चात् कैलाली, कञ्चनपुर र डडेल्धुरामा गरी एक सय ४० डिप ट्युववेल जडान गरिएको छ। यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उनको भनाइ छ।

जडान गरिएका डिप ट्युववेलमध्ये ९१ चलिरहेका छन् भने अन्य संरचना निर्माणका क्रममा रहेको जनाइएको छ। विशेष गरी कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युववेल जडान भएको उनले बताए।    

गत आर्थिक वर्षसम्म कैलाली र कञ्चनपुरमा एक हजार एक स्यालो ट्युववेल जडान गरिएकामा चालु आवदेखि स्यालो ट्युववेलका लागि बजेट विनियोजन नगरिएको डिभिजन प्रमुख खनालले बताए।

corrent noodles
Metro Mart

स्यालो ट्युववेल जडानको कार्य स्थानीय तहलाई हस्तान्तरण गरिएकाले डिभिजन कार्यालयले त्यसका लागि बजेट विनियोजन नगरिएको जनाएको छ। स्यालो ट्युववेल जडानका लागि वित्तीय हस्तान्तरणअन्तर्गत १२ लाख रुपैयाँ बजेट स्थानीय तहलाई दिएको डिभिजन प्रमुख खनालले जानकारी दिए।

कैलालीका १३ स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा सात, गौरीगङ्गा नगरपालिकामा आठ, घोडाघोडी नगरपालिकामा आठ, लम्कीचुहा नगरपालिकामा एक, भजनी नगरपालिकामा तीन, धनगढी उपमहानगरपालिकामा दुई, बर्दगोरिया गाउँपालिकामा चार, कैलारी गाउँपालिकामा एक, जोशीपुरमा गाउँपालिकामा छ डिप ट्युववेल जडान गरिएको जनाइएको छ। अन्य डिप ट्युववेल कञ्चनपुर र डडेल्धुरामा जडान गरिएको जनाइएको छ।

कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा डिप ट्युववेल जडानका लागि अध्ययन भइरहेको सो कार्यालयले जनाएको छ। एक डिप ट्युववेल जडानका लागि झन्डै ८५ लाख रुपैयाँ खर्च लाग्ने गरेको जनाइएको छ।

कैलाली, कञ्चनपुर र डडेल्धुरामा प्रदेश, प्रदेश पूर्वाधार र सङ्घ सशर्त अनुदानबाट डिप ट्युववेलका लागि बजेट विनियोजन हुँदै आएको डिभिजन कार्यालयले जनाएको छ।    -रासस

प्रकाशित: Feb 03, 2024| 05:31 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्