बिहीबार, भदौ १८, २०८३

माओवादीको विधान सम्मेलन फागुन १–३ गते हुने 

 |  शनिबार, पुस २८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

काठमाडौं- सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आउँदो फागुन १ देखि ३ गतेसम्म गरिने भएको छ। विधान सम्मेलन काठमाडौंमा गर्ने निर्णय पनि गरिएको छ।

शनिबार बसेको स्थायी कमिटीको बैठकबाट यो निर्णय गरिएको उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बस्ने उनले बताए। 

मंसिरमा हुने भनिएको माओवादी केन्द्रको विधान सम्मेलन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डको व्यस्तता, जनतासँग माओवादी विशेष रूपान्तरण अभियान लगायतका कारण स्थगित गरिएको बताइएको थियो।

गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा पार्टीको विधान सम्मेलन र त्यसको ६ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। पार्टी विधि र पद्धतिसम्मत नचलेको, नेतृत्व मनोमानी रूपमा चलेको भन्दै बैठकमा केन्द्रिय सदस्यहरूले प्रश्न उठाएपछि माओवादीले विधान सम्मेलन गर्ने निर्णय गरेको थियो।

विधानसम्मेलन अघि पार्टीलाई कस्तो बनाउने भन्नेबारे जनतासँग छलफल गर्ने भन्दै उसले भदौ १७ गतेदेखि मंसिर १७ गतेसम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो।

प्रकाशित: Jan 13, 2024| 17:29 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्