काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले कांग्रेसले ०८४ भन्दा पनि जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको बताएका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने झलारीमा बुधवार आयोजित नेपाल दलित संघको अन्तर्क्रियामा मन्त्री साउदले जनताको सेवा नै कांग्रेसको मिसन भएको बताएका हुन्। 'अन्य पार्टीहरुले मिसन ०८४ भनिरेहका छन्, कांग्रेस पार्टीमात्रै मिसन ८०, ८१ बनाएर दैनिक जनताको सेवामा हिँडिरहेको छ,' उनले थपे।
मन्त्री साउदले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समेत बताए। 'अर्थतन्त्र जसरी-जसरी गतिमा जानुपर्थ्यो, त्यसरी जान सकेको अवस्था छैन। अघिल्ला सरकारले खर्च धेरै गरेर आम्दानी गर्न नसकेका कारण अर्थतन्त्र जोखिममा छ,' उनले भने, 'तर सरकार त्यसको सामना गरेर अघि बढिरहेको छ।'
साउदले दलित समुदायलाई संविधानले संरक्षण गरेको समेत बताउनुभयो। उहाँले दलित समुदाय देशभर छरिएर रहेकाले वर्गिय प्रतिनिधित्व कम भएको समेत बताए। आर्थिक कारणबाट दलित समुदाय त्यसमाथि पनि महिलाहरु पछाडि परिरहेको भन्दै मन्त्री साउदले संविधानले दलित समुदायलाई संरक्षण गरेको बताए।
उनले सबै बराबर रहेको बताउँदै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए। महिला सशक्तिकरण बलियो हुँदै गएको मन्त्री साउदको भनाई थियो।
उनले कञ्चनपुरका आरक्षपीडित्को समस्या समाधानका लागि सरकारले काम गरिरहेको पनि बताए। परराष्ट्रमन्त्री साउदले डुबानको समस्या समाधानका लागि आफूले अर्बौको परियोजनाबाट दीर्घकालिन रुपमा नदी नियन्त्रणका लागि काम गरिरहेको पनि बताए।