शनिबार, असार १३, २०८३

राष्ट्रिय सभाका १९ सिटमा ४७ उम्मेदवार प्रतिस्पर्धा गर्दै

 |  सोमबार, पुस २३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज सोमबार देशका सातै प्रदेशमा मनोनयन भइरहेको छ। उम्मेदवारीका लागि आज दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।

National life

आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभाका सदस्यको पदावधि सकिने भएपछि एक महिना अगावै निर्वाचन हुन लागेको हो। बिदा भएर जानेमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित छन्। यसमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का का ८ जना सांसद छन्।

एमालेका समेत आठ सिटको सत्तारूढ गठबन्धनले भागबन्डा गरेका छन्। जसमा कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, एकीकृत समाजवादीबाट २, जनता समाजवादीबाट १ जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसले कोशी प्रदेशको अन्यबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र मधेसको अन्य कोटाबाट आनन्द प्रसाद ढुंगानालाई उठाएको छ। बागमतीबाट महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यतर्फ जीतजंग बस्नेतलाई उठाएको छ।

कर्णालीको अन्य कोटामा कृष्ण रोकाया, सुदूपश्चिमको अपांगतातर्फ नारायणदत्त भट्ट र अन्यमा बलदेव बोहराले टिकट पाएका छन्। गण्डकीको अपांगतातर्फ पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठले टिकट पाएका छन्। उनीहरू दुवै शेखर कोइराला समूहका हुन्। अर्कोतिर लुम्बिनीमा विष्णुदेवी सापकोटा महिलातर्फबाट उठ्दैछिन्।

Shivam cement

माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि जनयुद्धमा योगदान दिएका र तिनका परिवारका सदस्यलाई रोजेको छ। माओवादीले सत्ता गठबन्धनबाट भागबन्डामा ६ सिट पाएको छ। माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई उठाएको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि दुईजना उम्मेदवार तय गरेको छ।

नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका दलित कोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ।

गठबन्धनमा तलमाथि नभए सबै १९ सिटमै सत्तारुढ दलका उम्मेदवार विजयी हुने निश्चित छ।

एक्लै मैदानमा उत्रिएको एमालेले १९ जना नै उम्मेदवार तय गरेको छ। सत्ता गठबन्धनसँग मिलेर जाने प्रयास भए पनि सफल हुन नसकेपछि एमाले एक्लै मैदानमा छ।

एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) लाई उठाएको छ। मधेस प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) उम्मेदवार भएका छन्।

बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उठ्दैछन्। गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपांगता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन  (मुस्ताङ) उम्मेदवार भएका छन्।

लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ। कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन्।

सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइएको छ।

प्रकाशित: Jan 08, 2024| 13:49 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्