काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ।
उनी रौतहटकी हुन्। २०७९ मा भएको चुनावमा उनी रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबारको बैठकले चौधरीलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
जसपाले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने सहमति गरेको थियो। जसअनुसार जसपालाई मधेसको महिला क्लस्टर परेको थियो। माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।