सोमबार, साउन ५, २०८२

राष्ट्रिय सभाका १९ सिटमा भागबन्डा

 |  आइतबार, पुस २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

vianetvianet

काठमाडौं- सत्ता गठबन्धन दलले राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि सहमति गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अबेर राति सकिएको बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सिटको भागबन्डा गरेका हुन्। 

सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने भएका छन्। कोशीमा कांग्रेस र माओवादीले १/१, मधेशमा कांग्रेस र जसपाले १/१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १/१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १/१ सिट पाउने अनौपचारिक सहमति भएको छ।

वाग्मती, गण्डकी र कर्णालीमा कांग्रेस र एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति हुन सकेको छैन। बाँकी सिटबारे आइतबार बिहान बसेर निष्कर्षमा पुगिने बैठकमा सहभागी माओवादी वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए। 
नेकपा एकीकृत समाजवादी भने आफूले पाउने सिटप्रति असन्तुष्ट छ। समाजवादीले ३ सिटको दाबी गर्दै आएको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक सहमतिमा टुंग्याउने सर्तमा एमालेसँग भागबन्डा गर्न वार्ता गरे पनि सम्भव नभएपछि गठबन्धन दल साझा उम्मेदवार बनाउन छलफलमा जुटेका हुन्।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। राष्ट्रिय सभाका लागि कोशीमा अन्य र महिला गरी दुई सिट, मधेशमा अन्य र महिला गरी दुई, वाग्मतीमा अपांग, दलित, अन्यसहित चार, गण्डकीमा अपांग, महिला र अन्य गरी तीन, लुम्बिनीमा महिला र अन्य गरी दुई, कर्णालीमा महिला, दलित र अन्य गरी तीन, सुदूरपश्चिममा अन्य, अपांग र महिला गरी तीन सिटका लागि निर्वाचन हुनेछ। गठबन्धनबीच यिनै क्लस्टरका आधारमा भागबन्डा हुनेछ।

प्रकाशित: Jan 07, 2024| 07:43 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्