मंगलबार, पुस १, २०८२

मेलमिलाप दिवस

राजा महेन्द्रले यसरी समातेका थिए वीपीलाई

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ विश्वेश्वरप्रसाद कोइरालालगायत नेता मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।
 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- नेपाली कांग्रेसले आज ४८ औं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ। पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायत नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा कांग्रेसले मनाउँदै आएको छ।

National life

यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई निमन्त्रणा पठाइएको छ। विगतका वर्षमा पार्टीले आन्तरिक रुपमा कार्यक्रमहरु गरेर दिवस मनाउने गरेकोमा यो वर्ष अन्य पार्टीहरुलाई पनि निमन्त्रणा गरेको हो।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्केका कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो।

Laxmi sunrise bank
kumari

राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री वीपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए।

शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

प्रकाशित: Jan 01, 2024| 06:43 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्