काठमाडौं- पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन सकिएको छ। दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन मंसिर १५ र १६ गते राजधानीमा भएको थियो।
प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको उक्त सम्मेलनले परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने, वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्ने, लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बिमा कार्यान्वयनमा बिमा प्रदायक संस्थासँग समन्वय गर्ने लगायत १५ बुँदा घोषणा पत्र जारी गरेको हो।
घोषणा पत्रका बुँदाहरु
‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ लाई कार्यान्वयन गरी मूर्त रुप दिन सम्मेलनका सहभागी सदस्यहरु आ(आफ्नो क्षेत्रमा आफ्नो संस्थाको अभियन्ताकोे रुपमा कार्य गरी परिणाम मुखी बनाउन अठोट गर्ने।
वित्तीय साक्षरता कार्यक्रम प्राथमिकताका साथ सम्पूर्ण लघुवित्त संस्थाहरुले अभियानको रुपमा संचालन गरी ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’लाई साकार एवं सफल पार्ने।
लघुवित्तमा हालसम्म पहुंच नभएका तथा दुर्गम स्थानका अति विपन्न वर्गमा समेत पुर्याउन कार्ययोजना बनाई प्राथमिकताका साथ लघुवित्त सेवाको पहुंच विस्तार गर्ने।
लघुवित्त संस्थाहरुले सुशासन, लघुवित्तको सिद्धान्त, मूल्य मान्यताको पूर्ण पालना हुने गरी प्रतिबद्धताका साथ लघुवित्त कार्यक्रम संचालन गर्ने।
लघुवित्त संस्थाहरुले आफ्ना सदस्य एवं परिवारहरुको हित एवं सुरक्षाकोलागि स्वास्थ्य तथा कर्जा बीमा लगायत विभिन्न बीमा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न बीमा प्रदायक संस्थाहरुसँग समन्वय गरी लागू गर्ने।
लघुवित्त कार्यक्रममा संलग्न लघुवित्त संस्थाहरु र सहकारीहरुले कर्जा साख सूचना (सीआईसी) लिने एवं दिने नियमको पूर्ण पालना गरी ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ को मर्म अनुरुप एक जना एक लघुवित्त संस्थामा रही सदस्यको आवश्यकता एवं क्षमताको मूल्यांकन गरी आवश्यक रकम मात्र कर्जा प्रवाह गर्ने र सदस्यहरुलाई अनावश्यक अधिक ऋण भारको जोखिममा पर्नबाट जोगाउने कार्यनीति तुरुन्त अवलम्बन गर्ने।
लघुवित्त संस्थाका नीति निर्माताहरु (संचालक समिति समेत) ले ग्राहक सदस्य प्रति जिम्मेवार भइ ग्राहकसदस्यहरुको व्यवसाय, सीप तथा क्षमता विकासका साथै सदस्यहरुको हित संरक्षण हुने एवं उद्यमशीलता बढाउने कार्यमा नीति बनाइ लागू गर्ने। साथै उत्पादित वस्तु बजारीकरणको व्यवस्था र सहजीकरण गर्न सरकार लाई अनुरोध गर्ने।
स्थानीय स्तरमा रहेका उद्यम विकास गर्ने कार्यालयहरुसँग समन्वय गरी लघुवित्त सदस्यहरुलाई उद्यमशीलता विकासका तालिमहरु दिई उद्यमी बनाउन स्थानीय स्तरमा उपलब्ध सीप, साधन र श्रोतमा आधारित उद्यम एवं सृजनशील कार्यका लागि प्रत्येक लघुवित्त संस्थाले आवश्यक रणनीति तयार गरी लागू गर्ने।
लघुवित्त कार्यक्रमको सेवाबाट ग्राहक सदस्यको जीवनस्तरमा पारेको प्रभावको स्तर मापन नियमित रुपमा गर्न प्रत्येक संस्थामा इकाइको स्थापना गर्ने र सो इकाईले ग्राहक सदस्य स्तर वृद्घि मापन कार्ड तयार गरी प्रत्येकसदस्यलाई उपलब्ध गराउने र सोको निरन्तर अनुगमन गर्ने।
लघुवित्त कार्य गर्ने सहकारी संस्थाहरुलाई संशोधित सहकारी ऐन २०७४ मा ५, ७, र १० प्रतिशत आयकर तिर्नू पर्ने व्यवस्था रहेकोमा २० प्रतिशत आयकर लिने गरेकोले सहकारी ऐन २०७४ अनुसार आयकर लिने व्यवस्था कार्यान्वयनको लागि सरकार, अर्थ मन्त्रालय र सहकारी विभागलाई अनुरोध गर्ने।
उद्योग मन्त्रालय अन्तरगत कम्पनी रजिष्ट्रार कार्यालयले नेपालको लघुवित्त कार्यक्रमलाई प्रभावकारी भूमिका खेलेको गैर सरकारी संस्थालाई अप्राकृतिक संस्था भनि उनीहरुले लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेको संस्थापक सेयर विक्री गर्नु पर्ने भनी गरेको निर्देशन कम्पनी ऐन विपरित समेत भएको हुँदा गैर सरकारी संस्थाहरुले लघुवित्तवित्तीय संस्थामा लगानी गर्न नपाउने निर्देशन खारेज गर्न सरकार, उद्योग मन्त्रालयलाई अनुरोध गर्ने।
लघुवित्त संस्थाहरुले लघुवित्तको दिगाोपना तथा गरीवी न्यूनीकरण लक्ष्यलाई दृष्टिगत गरी सन् ०३० सम्ममा गरिबी शून्यमा झार्ने गरी लघुवित्त कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने।
लघुवित्त संस्थाहरुले विगत केहिवर्षदेखि सेवा तथा कर्जा विस्तारमा अनअपेक्षित रुपमा नगद प्रवाहमा अभावको सामना गर्नु परेको छ। यसको दीर्घकालिक समाधानका निम्ति लघुवित्त संस्थाहरुलाई निक्षेप संकलन गर्न दिने स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने।
ग्राहकहरुको स्वामित्वमा लघुवित्त संस्थाहरुको संरक्षण र प्रवर्धन गर्न सर्वसाधारण शेयर एवं बिक्री गर्न चाहने संस्थापक शेयर समेत सम्बन्धित संस्थाका ग्राहक एवं ऋणीहरुले खरिद गर्न सक्ने ब्यवस्था गर्न नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलाई अनुरोध गर्ने।
लघुवित्त संचालन गर्दै आएका संस्थाहरु बाहेक नयाँ लघुवित्त संस्था दर्ता नगर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४