काठमाडौं- व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र(टीइपीसी)ले प्रदेशको उत्पादनको प्रोफाइल बनाउन सुरु गर्ने भएको छ। केन्द्रले प्रदेशस्तरमा आयात प्रतिस्थापन गरि निर्यात प्रबर्द्धन तथा अन्तरप्रादेशिक व्यापारको विकास गर्ने उद्देश्यले प्रोफाइल बनाउने भएको हो।
केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले सो अध्ययनको उद्देश्य औचित्य र महत्वबारे प्रकाश पारेका छन्। उनले धनगढीमा भएको छलफल कार्यक्रममा उक्त उत्पादनको प्रोफाइल प्रदेश सरकार र निजी क्षेत्रमाझ छलफल गरि अनुमोदन गरिने बताए। ‘संघीय स्तरमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना गरि प्रदेश–प्रदेशबीच ब्यापार लगानी सम्बन्धी समझदारी गरिनेछ,’ उनले भने।
उनकाअनुसार प्रदेश स्तरमा आयात प्रतिस्थापन निर्यात प्रवद्र्धन तथा अन्तरप्रादेशिक ब्यापारका सम्बन्धमा गहन अध्ययन गरि प्रदेशका लागि यसरी आउने प्रतिवेदन भविश्यमा उद्योग ब्यापारको विकासमा आधार दस्तावेज हुने गरि तयार गरिने छ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश स्तरमा आयात प्रतिस्थापन निर्यात प्रवद्र्धन तथा अन्तर प्रदेश ब्यापारको सम्भावना पहिचान गर्न केन्द्रले प्रदेशका उत्पादनहरुको प्रोफाइल बनाउनु सकरात्मक रहेको बताए।
कार्यक्रमाम उक्त विषय शुरु गर्न लागेको अध्ययनको स्वरुप पद्धति तथा अध्ययनको उद्देश्यका विविध आयाम सम्वन्धमा ब्यापक र गहन छलफल भएको छ। कार्यक्रममा मुख्यमन्त्री भट्टले हिमाल पहाड र तराईको विशिष्ट संगमको रुपमा रहेको सुदुरपश्चिम प्रदेशमा उद्योग ब्यापारका प्रशस्त सम्भावना रहेको बताउदै केन्द्रले शुरु गर्न लागेको अध्ययन प्रतिवेदन प्रदेशको लागि महत्वपूर्ण दस्ताबेज रहने विश्वाश व्यक्त गरे।
सुदुरपश्चिम सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले सिमित साधन श्रोतका माझ पनि केन्द्रले लिएको यस प्रकारको पहललाई सहयोग गर्ने बताइन्।
प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद विडारिले अध्ययन प्रदेशको उद्योग वाणिज्य क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार हुने बताए। सो अध्ययनको लागि संरचना र तथ्यांकहरु जति तल्लो तहमा गएर संकलन गर्न सक्यो प्रतिवेदन त्यति नै निखारिने उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४