काठमाडौं- नेपाल र बंलादेशबीचको उर्जा संयन्त्रको बैठक काठमाडौंमा बस्ने भएको छ। बंलादेशसँग उर्जा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाडौंमा बस्न लागेको हो। सोमबारबाट सुरु हुने बैठक मंगलबारसम्म चल्नेछ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काले उक्त नेपाल–बंगलादेशबीचको ‘जोइन्ट इनर्जी स्टेरिङ कमिटी’को बैठक सम्बन्धमा जानकारी दिएका हुन्।
बैठकमा सहभागी हुनको लागि बंलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आइपुगेका छन्।
बैठकमा नेपालकोतर्फबाट भने सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्ने भएका छन्।
सोमबार नै सहसचिव स्तरीय संयुक्त कार्य समूहको बैठक समेत बस्ने तय भएको छ। उक्त बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरेले भने बंलादेशकोतर्फबाट पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्ने भएका छन्।
यस्तो छ बैठकको एजेन्डा
बैठकमा क्रसबोर्डर इन्टरकनेक्शन सम्बन्धी छलफल हुनुका साथै विद्युत ब्यापार बारे समेत दुवैपक्षबीच बार्ता हुनेछ। मन्त्रालयकाअनुसार बैठकमा नविकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बंलादेशले लगानी गर्ने सम्बन्धी छलफल र ‘जिएमआर’बाट पाँच सय मेगावाट विजुली बंलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ।
उर्जा मन्त्री पुनको गत सेप्टेम्बरमा भएको बंगलादेश भ्रमणमा दुवै देशबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो। नेपालमा उत्पादीत बिजुलीको खपतका लागि आन्तरिक बजार निर्माणका साथै क्षेत्रीय बजार निर्माणका लागि चीन र बंलादेशसँग ‘इनर्जी कोअपरेशन’मा समेत हस्ताक्षर भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४