नयाँ दिल्ली – भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा प्रमुख अतिथि बन्ने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आउँदो जनवरी २६मा हुने ७०औं गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रुपमा रामाफोसा रहने जानकारी दिएका हुन्। मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरुको समूह जी–२० शिखर सम्मेलनका क्रममा भेटेर प्रमुख अतिथिका रुपमा उपस्थित भइदिन अनुरोध गरेको बताइएको छ।
दक्षिण अफ्रिकासँग महात्मा गान्धीको विशेष र नजिकको सम्बन्ध भएकाले रामासोफालाई प्रमुख अतिथि बनाउन लागेको मोदीले बताएका छन्। गान्धीले सन् १८९३ देखि १९१४ सम्म दक्षिण अफ्रिकामा जीवन बिताएका थिए। त्यहाँ उनले अधिवक्ताको रुपमा काम गरेका थिए।
भारतमा भएको अहिंसा आन्दोलनको योजना गान्धीले दक्षिण अफ्रिकामै बनाएका थिए। काला जातिका मानिसलाई गोरा जातिका मानिसले गरेको भेदभावबाट रुष्ट भएर उनले भारतमा अङ्ग्रेज शासनविरुद्ध अहिंसात्मक आन्दोलन सुरु गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४