इस्लामाबाद- चर्चित क्रिकेटर इमरान खानले पाकिस्तानमा शासकीय बागडोर सम्हालेको सय दिनमै आशा जगाएका छन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सय दिनमा अस्थिर र अशान्त पाकिस्तानको राजनीतिक कोर्षलार्इ 'लिक' ल्याउने कोसिस गरेका छन्।
सुधारका महत्वपूर्ण शिलन्यास गरेका छन्। नट आउट इमरानले सय दिनमा विस्फोटक ब्याटिङ गरेको टिप्पणी नागरिकस्तरबाट हुन थालेको छ। सय दिनको अवसरमा उनले सम्बोधन गर्दै देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नयाँ नीति अख्तियार गरी विदेशी लगानी र अर्थतन्त्रको सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा गरेका हुन्। कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले एक सय दिनको अवधिमा सरकारले नयाँ नीति र परियोजनाहरु पनि सुरु गरेको बताए।
गत अगस्ट १८ मा आफ्नो कार्यकाल सुरु गर्नेक्रममा प्रधानमन्त्री खानले सरकारको सयदिने कामको एजेन्डा प्रस्तुत गरेका थिए। सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारद्वारा लक्षित ३४ ओटा परियोजना यस अवधिमा गर्ने भनेको र त्यसमा १८ ओटा पूरा भएको तथा अरु १६ ओटा परियोजना प्रगतिको क्रममा रहेको बताइएको छ।
सरकारले सुशासन दिने, आर्थिक वृद्धिलाई गति दिने, कृषि सिंचाई तथा खानेपानीको अवस्थामा सुधार गर्ने र सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याउने जनाइएको छ।
यी कार्यक्रमहरुका अतिरिक्त सरकारले गर्ने अरु कार्यक्रमहरुमा विशेषगरी देशको सुरक्षा अवस्थामा सुधार गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने पनि रहेको छ। सरकारले अघि सारेका यी सबै कार्यक्रमहरुमा प्रगति भएको जानकारी प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा दिएका हुन्।
प्रधानमन्त्री खानले आफ्नो सय दिने कामको विवरण सार्वजनिक गर्दै देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक वृद्धि गर्ने संकेतहरु देखिएको दाबी गरेका छन्। प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा विषेश कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी अधिकारीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४