काठमाडौं- गैरसरकारी संस्था महासंघको नवौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
महराले दुई दिनसम्म चल्ने महासंघको उद्घाटन गर्दै गैरसरकारी संस्थाले मुलुकको विकास निर्माणमा सरकारको परिपूरकको रुपमा योग्दान पु्यायी रहेको बताएका हुन्। नेपाली सामाजिक सङ्घसंस्थाको छाता सङ्गठनका रुपमा महासङ्घले तीन दशकदेखि निरन्तर काम गर्दै आइरहेको छ।
नागरिक सङ्गठनले राज्य र जनताबीच पुलको भूमिका खेल्नसक्ने बताउँदै उनले सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा गैरसरकारी संस्था पुगेके बताए। उनले सङ्कटको घडीमा स्थानीय समुदायलाई राहत आपूर्ति गर्ने काममा नागरिक सङ्गठन एवं गैससले प्रभावकारी भूमिका निर्वाह गरेको आफूले पाएको बताए।
उनले स्थानीय स्रोत साधन, सीप र श्रमको समूचीत परिचालनमा गैरसरकारी संस्थाले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेमा जोड बताए।
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य २०३० लाई प्रभावकारीरुपमा कार्यान्वयन गरी नेपालको मुहार फेर्नका लागि सरकार, संसद्, राजनीतिक दल, नागरिक सङ्गठन, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घसंस्था र सिङ्गो सञ्चार जगत्ले साझा अभियान बनाई लाग्न जरुरी रहेको उनको भनाई छ। महासंघले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४