जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुरलाई सुन्दर बनाउन १ अर्ब १४ करोडको आयोजना ल्याइएको छ। जनकपुरको सौन्दर्यीकरणका साथै यहाँ रहेका धार्मिक तथा ऐतिहासिक पोखरी संवद्र्धनका लागि आयोजना ल्याइएको हो।
खानेपानी मन्त्रालयअन्र्तगत खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ आयोजना व्यवस्थापन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाबीच आयोजना कार्यान्वयन गर्न समझदारी भएको छ।
‘जनकपुरधाम सरसफाइ तथा पाखेरी संवद्र्धन’नाम दिइएको योजना पुरा भइसकेपछि जनकपुरको मुहार फेरिने उपमहानगरपालिकाको दाबी छ। स्वीकृत ढल व्यवस्थापन नीति २०७५ अनुसार आयोजना व्यवस्थापन कार्यालय काठमाण्डु र जनकपुरधाम उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार सम्पूर्ण कार्य पुरा गर्न दुई वर्षको समयसीमा तोकिएको छ।
आयोजना अन्तर्गत नगरक्षे भित्रका ३१ वटा पोखरीको संवद्र्धन, रंगभूमि मैदान सरसफाइ तथा संवद्र्धन, ३० वटा सार्वजनिक शौचालयको निर्माण लगयातका कार्य गरिने बताइएको छ।
यसैगरी पोखरीहरुमा सोलार बत्ती जडान, वृक्षारोपण तथा पार्क निर्माणजस्ता कार्यसमेत आयोजना अन्तर्गत गरिने छ। जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषसागर, गंगासागर र अंगराजसर पोखरीलाई आयोजना अन्तर्गत विशेष सौन्दर्यीकरण गर्ने तयारी छ। तीन पोखरीमा म्युजिकल फाउन्डेसन निर्माण गरी लेजर लाइट प्रयोग परी जानकी लिला प्रदर्शनी गरिने बुझिएको छ। पोखरीको संवद्र्धन तथा सौन्दर्यीकरण गर्न ब्लुप्रिन्टसमेत सार्वजनिक गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४