शनिबार, साउन ९, २०८३

मुख्यमन्त्रीको मुखै छोपिने सम्मान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको मुखै छोपिने गरी माला लगाएको तस्बिरका विषयमा अहिले सामाजिक सञ्‍जालमा व्यापक टिकाटिप्पणी भइरहेको छ। सम्मानका नाममा थाम्नै नसकिने गरी माला लगाएको तस्बिरको सकरात्मक भन्दा नकारात्मक टिप्पणी बढी भइरहेको छ। 

सूदुरपश्चिमेलीहरुले कोही पाहुना वा उच्च पदस्थ व्यक्तित्वलार्इ सम्मान गर्दा माला लगाइ दिने संस्कार छ। यही अनुरुप मुख्यमन्त्रीलार्इ माला लगाइएको हो। तर, त्यसरी माला लगाइरहँदा उनका सहयोगिहरुले ती मालाहरु हटाइ दिनु पर्थ्यो र उनले पनि हटाउन लगाउनु पर्थ्यो। त्यसो गर्न नसक्दा उनी चिप्लिएका हुन्। सम्मानको सदुपयोग गर्न नसक्दा यो अपमान व्यहोर्नु परेको टिप्पणीहरु भइरहेका छन्। 

हालै डोटीको बुढरमा गाउँपालिका महासंघको प्रदेश अधिवेशन उद्घाटनका लागि पुगेका मुख्यमन्त्री भट्टलाई आयोजकले सम्मानस्वरुप अनुहार नै छोपिनेगरी लगाएको मालाको दृश्यलाई धेरैले अपमानजनक सम्मान भनेका छन्। प्रदेशको गरिबी, पछौटेपन, विकासजस्ता सरकारसँग प्रत्यक्ष सरोकार राख्ने विषयसँग मुख्यमन्त्रीलाई जोडेर सम्मानको यो तस्बिरमा नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्।

कसैले पहिलो चौमासिकमा एक प्रतिशत पनि विकास बजेट खर्च गर्न नसक्ने प्रदेश सरकारका मख्यमन्त्रीलाई यसरी सम्मान गर्नु उपयुक्त नभएको उल्लेख गरेका छन्। कसैले भने जनताको यसरी सम्मान पाउने गरी मुख्यमन्त्री तथा प्रदेश सरकारले कुनै काम नै नगरेको प्रतिक्रिया दिएका छन्। 

केहीले विकासको कामसमेत गर्न नसक्दा त यति धेरै सम्मान पाए भने विकास गर्दा झनै कति धेरै सम्मान हुन्थ्यो होला भनेर टिप्पणीसमेत गरेका छन्। 



आफैले पनि भारतमा लामो समय चौकीदारी गरेका मुख्यमन्त्री भट्टले सपथ खाएलगत्तै ‘अब सुदूरपश्चिमका छोराहरुले भारतमा चौकीदारी गर्न जान नपर्ने’ भन्दै चर्का भाषण गरे पनि चौकीदारी गर्न भारत जाने क्रम नरोकिएको कुरालाईसमेत धेरैले सम्मानसँग जोडेका छन्। मुख्यमन्त्री भट्ट जनताले सम्मानस्वरुप लगाइदिएको मालाले ‘थचारिए’ को भन्दै आलोचना खेपिरहेका छन्। 

नाक, कान र मुखसहित आँखा छोपिने गरी मालाको थुप्रो बनिसक्दा समेत माला थप्न रोकेका छैनन्। मुख्यमन्त्रीले ती मालाहरु हटाउन खोजेका छैनन् बरु उनी दाँत देखाएर खिसिक्क हाँसेका छन्। छेउमै रहेका उनका सहयोगीहरुले पनि माला हटाउन चासो दिएको देखिँदैन।

‘२०७४ माघमा सपथका बेला प्रतिबद्धता अनुसार भारतमा जाने मजदुरमध्ये कतिलाई स्वदेशमै काम दिनुभयो? एक वर्षमा सुदूरपश्चिमको ४७ प्रतिशतको गरिबी कति घटाउनुभयो? संघीय सरकारले खर्च गर भनेर दिएको २५ अर्ब रकममा अहिले सम्म डेढ प्रतिशत भन्दा बढी विकास खर्च किन गर्न सक्नु भएन ? सोध्नुको सट्टा जनताले मालाले यसरी थचारे पछि किन गर्नुपर्या र विकास?’, पत्रकार शिवराज भट्टले फेसबुकमा लेखेका छन्।

धनगढीका युवा मदन भट्टले पनि मुख्यमन्त्री भट्टको उक्त तस्बिर शेयर गर्दै उनलाई ‘महामानव’को संज्ञा दिएका छन्। ‘मालाको भार थेग्न नसकेर झण्डै लड्न  लागेका तर पनि माला थाप्न नछोडेका अनि लगाएको माला पनि झिक्न नचाहेका, पक्का पनि उहाँ ठूलै मान्छे हुनुपर्छ, हामीजस्ता चानचुनेहरुलाइ त कसैले एउटा माला नि लगाई दिन्न, उहाँ कुन महामानव हुनुहुन्छ? मैले चिन्न नसकेको हुँदा पत्ता लगाएर सहयोग गरिदिन हुन अनुरोध गर्दछु।’ उनले फेसबुकमा व्याङ्ग्यात्मक शैलिमा लेखेका छन्।
    
यस अघि मुख्यमन्त्री भट्टले दार्चुलामा रातो कार्पेटमा हिडेको तस्विरको पनि व्यापक आलोचना खेपेका थिए। अहिले पनि उनलाई फुलको मालाले अनुहार नै छोपिने गरी जनताले सम्मान गरिहाल्नु पर्ने कुनै काम नभएको सर्वत्र टिकाटिप्पणी भइरहेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।