जनकपुरधाम- हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिरको सौन्दर्यीकरण गरिने भएको छ। स्थापनाको सय वर्षभन्दा बढी पुरा गरि सकेको जानकी मन्दिर सौन्दर्यीकरण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका छन्।
जानकी मन्दिर परिसरभित्र बिहिबार आयोजना गरिएको एक समारोहका बीच मुख्यमन्त्री राउतले हिन्दु परम्परा अनुसार वैदिकमन्त्र उच्चारण गरी सौन्दर्यीकरण कार्यको शिलान्यास गरेका हुन्। ५१ जना पंडित र २१ कन्याले वैदिकमन्त्र उच्चारण गरेका थिए।
प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरणका लागि चालू आर्थिक वर्षको बजेटमा ८ करोड रुपैयाँ विनियोजन गरेको थियो। सौन्दर्यीकरण कार्यका लागि काठमाण्डौंस्थित परेरा जेवी कन्स्ट्रक्सनले ठेक्का पाएको छ। जानकी मन्दिर सौन्दर्यीकरण गर्न प्रदेश सरकारले आठ करोड बजेट छुट्याएपनि ६ करोड ७५ लाखमा ठेक्का लागेको बताइएको छ।
जानकी मन्दिर सौन्दर्यीकरणका लागि पहिलो चरणमा टायल्स मार्बलसम्बन्धी कार्य गरिने बताइएको छ। सौन्दर्यीकरणका लागि अहिले ठेक्का लागेको रकमले मन्दिर परिसरभित्र टायल्स मार्बल ओछ्याउनुका साथै ‘अन्डरग्राउण्ड’ ढल निर्माण कार्य गरिने शिलान्यास कार्यक्रममा जानकारी दिइएको थियो। २६ मंसिरमा रामजानकी विवाहोत्सव सके लगत्तै सौन्दर्यीकरण कार्य सुरु गरिने र अषाढ मसान्तभित्र पुरा गर्ने लक्ष्य लिइएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ ले विकास निर्माणको थालनी जानकी मन्दिर सौन्दर्यीकरण शिलान्यासबाट गरेको बताए। जानकी मन्दिर सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको भन्दै मुख्यमन्त्री राउतले आगामी दिनमा यस कार्यका लागि सरकारले थप बजेट उपलब्ध गराउने उल्लेख गरे।
विश्वभरका हिन्दुहरुको आस्थाका केन्द्रको रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन प्रदेश सरकार थोरैपनि पछि नहट्ने उनले विश्वास दिलाए। विकास निर्माण कार्य सुरु भइसकेको भन्दै राउतले प्रदेश २ लाई विकसित हुनबाट अब कसैले रोक्न नसक्ने दाबी गरे।
शिलान्यस कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास, नागरिक समाजका अगुवालगायतका व्यक्तिहरुको उपस्थिति थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४