नुवाकोट- कांग्रेस जिल्ला सभापतिहरूको ककनी भेलाको गुटबन्दीका कारण पार्टी कमजोर हुँदै गएको निश्कर्ष निकाल्दै गुटबन्दी अन्त्य गर्नका लागि संगठित दबाब दिने निर्णय गरेको छ।
बुधबार र बिहीबार दुई दिनसम्म चलेको भेलामा कांग्रेसको भेलामा कांग्रेसको प्रस्तावित विधान, महासमिति बैठकको एजेन्डा, चुनावी पराजयको समीक्षा र पार्टीको संगठन सुदृढीकरण र पुनरसंरचनालगायतका विषयमा खुला छलफल भएको थियो। अधिकांशले पार्टीभित्र पद्धति र संस्थाभन्दा पनि व्यक्ति र गुटबन्दी हावी भएको चिन्ता व्यक्त गरेका थिए। शीर्ष नेताहरुको कार्यकर्ता पाल्ने प्रवृत्तिका कारण गुटबन्दी हावी भएको सहभागी सभापतिहरुले बताएका थिए।
पार्टीमा वरिष्ठ नेता नराख्ने प्रस्ताव पनि पेस भएको छ। नेपाली कांग्रेसको महासमिति बैठकको मुखमा सम्पन्न कांग्रेसका जिल्ला सभापतिको दुई दिने भेलालाई पार्टीभित्र पनि महत्व र चासोका साथ हेरिएको छ। सभापतिलगायत कुनै पनि शीर्ष नेतालाई नबोलाइएको भेलामा नेतृत्वको कमजोरीबारे व्यापक समीक्षा र आलोचना भएको छकेन्द्रसँग कुनै समन्वय नगरीकन भेला आयोजना गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष ककनीभेला प्रति असन्तुष्ट छन्।
भेलापछि कांग्रेसका जिल्ला सभापतिहरु काठमाडौं आउँदैछन्। यहाँ उनीहरुले सभापति शेरबहादुर देउवा, वरिष्ट नेता रामचन्द्र पौडेलगायतका नेताहरुलाई भेट्नेछन्।चुनावको पराजयपछि पनि कांग्रेस नेतृत्वले संगठन पुनरजागरण र पुनरसंरचना अभियान अघि बढाउन नसकेको भन्दै जिल्ला सभापतिहरुले आलोचना गर्दै आएका छन्।
ककनी भेलाले कांग्रेसलाई थप जागरुक बनाउन महत्वपूर्ण सन्देश दिने नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले बताए। भेला विधानको मस्यौदामै केन्द्रित रहेको जानकारी उनले दिएका छन्।
विधान मस्यौदा समितिले तयार पारेको विधानमा उल्लेखित सङ्गठनात्मकलगायत विभिन्न विषयमा संशोधनको लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको जिल्ला सभापति केसीको भनाइ छ ।
काङ्ग्रेसको महासमितिको बैठक आगामी पुस २० गतेबाट हुने तय भएको छ । महासमितिले विधान दुई तिहाइले पारित गरेपछि मात्र नयाँ विधान लागू हुने भएकाले महासमितिमा जिल्ला सभापतिको धारणा समान बनाउन ककनी भेलाले सहयोग पुग्ने काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४