पर्सा-दोहोरो नागरिकता लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले दुईजना भारतीय नागरिकविरुद्ध कानूनी कारवाही प्रकृया थालेको छ। प्रहरी उपरीक्षक रेवती ढकालले वीरगंज-९ निवासी २३ वर्षिय दिनेश साह र ३७ वर्षीय अरविन्द सर्राफलाई किर्ते र दोहोरो नागरिकताको अभियोगमा कारवाही प्रकृया थालेको बताए।
पक्राउ परेकामध्ये दिनेशले तीन दिनअघि जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानीको लागि दिएको आवेदनसँगै पेश गरेको नागरिकता प्रमाणपत्र २०६८ सालमा अर्कै व्यक्तिको नाममा जारी भएको पाइएपछि किर्ते फेला परेको हो । दिनेशले पेश गरेको नागरिकता विश्रामपुरका एक व्यक्तिको नाममा जारी भएको रहेको छ । प्रहरी अनुसन्धानको क्रममा दिनेश भारतीय नागरिक भएको पाइएको प्रहरीले जनाएको छ ।
यसैगरी भारतीय नागरिक अरविन्दले आफ्नो छोराको नेपाली नागरिकताका लागी जिल्ला प्रशासन कार्यालय,पर्सामा निवेदन दिएपछि उनीविरुद्ध उजुरी परेको थियो। उजुरीकर्ताले अरविन्दले भारतबाट समेत फरक नामबाट नागरिकता लिएको र पुरानो भारतीय नागरिकता परित्याग नगरी नेपाली नागरिकता लिएको पाइएपछि उनलाई पनि पक्राउ गरी कारवाही प्रकृया शुरु गरेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४