काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र सदस्यहरुको ना समेत तय गरेको छ । तर, नाम भने सार्वजनिक गरिएको छैन् । नामावली बिहीबार सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । आगामी अर्को बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्को बैठकको मिति भने तय भएको छैन ।
यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४