काठमाडौं- एसिया प्यासिफिक शिखर सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। एसिया प्यासिफिक क्षेत्रका सरकार प्रमुख, राष्ट्रप्रमुख एवं अति विशिष्ट व्यक्तिको सहभागिता रहने सम्मेलनमा यस क्षेत्रले भोग्नु परेको समस्याका बारेमा छलफल गरी काठमाण्डौं घोषणापत्र जारी गरिनेछ।
नेपालमा पहिलो पटक हुन लागेको सम्मेलन यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंको ह्यात रिजेन्सी होटेलमा हुनेछ। समिटमा कम्बोडियाका प्रधानमन्त्री, तायरोका प्रधानमन्त्री, सामोहका राजारानी, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, तुवालुका राष्ट्रपति, अफगानिस्तानका उपराष्ट्रपति र फिलिपिन्सका उपराष्ट्रपतिले भाग लिने आयोजक युनिभर्सल पिस फेडेरेसनका मिडिया कन्सलटेन्ट विस्णु गिरीले जानकारी दिए।
सम्मेलनमा भारत र पाकिस्तानका पूर्वप्रधानमन्त्री, लाओसबाट नेसनल एसेम्बली प्रमुख तथा फिजिबाट संसद्प्रमुखलगायत विभिन्न मुलुकका पाँच सय विशिष्ट पाहुना उपस्थित हुने जनाइएको छ। कार्यक्रममा ४५ देशका एक हजार पाँच सय जनाले सहभागिता जनाउने आयोजक युनिभर्सल पिस फेडेरेसनले जनाएको छ।
सम्मलेनको विषय ‘वर्तमान समयका गम्भीर चुनौतीहरुमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य मान्यता रहनेछ। सम्मेलनको उद्घाटन समारोहमा विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखले सम्बोधन गर्नेछन्। त्यस्तै सम्मेलनमा शान्ति विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफलका लागि फरकफरक सत्रको आयोजना गरिने भएको छ।
फेडेरेसनका अनुसार कार्यक्रमका माध्यमबाट क्रिस्चियन धर्म प्रचार हुने भन्ने विषय गलत भएको भन्दै कार्यक्रममा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मगुरुहरुको पनि उपस्थिति हुने जनाए।
दुर्इ दशकअघि सुरु भएको यो सम्मेलनमा करिब २० करोड खर्च हुने अनुमान गरिएको छ। सम्मेलनका लागि आवश्यक सबै खर्च युर्निभर्सल पिस फेडेरेसन न्युयोर्कले बेहोर्ने जनाइएको छ।
यस सम्मेलनलार्इ विश्व स्तरमा भूराजनैतीक महत्वका साथ हेरिएको छ। सम्मेलनमा शान्ति स्थापना, द्वन्द व्यवस्थापन, जलवायु परिवर्तन, सामाजिक न्याय, खाद्य सुरक्षा तथा दिगो विकासलगायतका प्राथमिक एजेन्डाहरु तय गरिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४