नुवाकोट : नेपाली काङ्ग्रेसको महासमिति बैठकको मुखमा कांग्रेसका जिल्ला सभापतिको दुई दिने भेला बुधबारबाट ककनीमा सुरु भएको छ
भेलामा कांग्रेसको प्रस्तावित विधान, महासमिति बैठकको एजेन्डा, चुनावी पराजयको समीक्षा र पार्टीको संगठन सुदृढीकरण र पुनरसंरचनालगायतका विषयमा खुला छलफल हुनेछ। अधिकांश जिल्ला सभापतिहरु सहभागी रहेको यो भेलाले कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ। केन्द्रसँग कुनै समन्वय नगरीकन भेला आयोजना गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष ककनीभेला प्रति असन्तुष्ट छन्।
ककनी भेलाले कांग्रेसलाई थप जागरुक बनाउन महत्वपूर्ण सन्देश दिने नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए।महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले केन्द्रीय समितिमा गत आइतबार विधानको मस्यौदा बुझाएको छ। यसमा पार्टीभित्रैबाट पनि असन्तुष्टी व्यक्त भएको छ।
जिल्ला सभापतिहरुकै पहलमा भएको यो भेलामा शीर्ष नेताहरुलाई बोलाइएको छैन। पार्टीभित्रको आन्तरिक गुटबन्दी अन्त्य गरेर पार्टीलाई थप एकढिक्का बनाउन भेलाले महत्वपूर्ण हुनसक्ने सहभागी सभापतिहरुले बताएका छन्। चुनावको पराजयपछि पनि कांग्रेस नेतृत्वले संगठन पुनरजागरण र पुनरसंरचना अभियान अघि बढाउन नसकेको भन्दै जिल्ला सभापतिहरुले आलोचना गर्दै आएका छन्।
विधान मस्यौदा समितिले तयार पारेको विधानमा उल्लेखित सङ्गठनात्मकलगायत विभिन्न विषयमा संशोधनको लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको जिल्ला सभापति केसीको भनाइ छ ।
काङ्ग्रेसको महासमितिको बैठक आगामी पुस २० गतेबाट हुने तय भएको छ । महासमितिले विधान दुई तिहाइले पारित गरेपछि मात्र नयाँ विधान लागू हुने भएकाले महासमितिमा जिल्ला सभापतिको धारणा समान बनाउन ककनी भेलाले सहयोग पुग्ने काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४