काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौंडा प्रदेश- ३ को स्थायी राजधानीका निमित्त उपयुक्त भएकाले राप्रपाको पूर्ण रुपमा साथ र समर्थन रहने बताएका छन्।
राजनीतिक तहमा कुनै विवाद गरिरहनु आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले सबै दलहरुलाई सहमति र विश्वासमा लिएर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए।
मकवानपुरे समाजको एक प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै थापाले हेटौंडा भौगोलिक, भौतिक एवं हावापानीका दृष्टिकोणले समेत उपयुक्त भएको दाबी गरे। बन्दै गरेको फास्ट ट्र्याक, धरान–चतरा राजमार्ग, हेटौंडा काठमाडौं सुरुङ मार्गका कारण हेटौंडालाई सबैतिरबाट जोडिने भन्दै भविष्यको निमित्त हेटौंडा अत्यन्त सम्भावना बोकेको स्थान हुनेसमेत उनले बताए।
हेटौंडालाई राजधानी बनाउन सबै राजनीतिक दलका शीर्ष तहका नेताहरु सकारात्मक भएको आफूले महसुस गरेको भन्दै मकवानपुरे समाजको चासो र चिन्ताको निमित्त थापाले धन्यवादसमेत दिए। राजनीतिक वाद तथा आग्रह, पुर्वाग्रहबाट माथि उठेर सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतासमेत थापाले औंल्याए।
हेटौंडालाई प्रदेश राजधानी बनाउन तत्कालीन समयमा आफुले खेलेको भूमिका आफ्नो कर्तव्य र जिम्मेवारी भएको भन्दै थापाले सबै दलहरुले हेटौंडालाई राजधानी बनाउन सघाउ पुर्याउनुपर्नेमा जोड दिए।
मकवानपुरे समितिका अध्यक्ष अरुणकुमार गुरुङले तत्कालीन समयमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा हेटौंडालाई अस्थायी राजधानी बनाउन भूमिका खेलेकोमा आभार प्रकट गर्दै हेटौंडालाई स्थायी राजधानी बनाउन थप अग्रसरता लिन थापालाई अनुरोध गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४