काठमाडौं–मंगलबार दिउँसो साढे १ बज्नै लाग्दा नेकपा केन्द्रीय सदस्य डा. विजय पौडेलको मोबाइलमा घन्टी बज्यो। त्यो घन्टी अन्त कतैको थिएन, नेकपा अध्यक्ष प्रचण्ड निवासबाट आएको थियो। उनलाई भनियो, ‘आज दिउँसो २ बजे अध्यक्ष कमरेडले तपाईंहरूसँग भेट्न समय दिनुभएको छ।’ हुन्छ भनेर डा. पौडेलले फोन राखिदिए । त्यसपछि पौडेलले केही दिनअघि पार्टी नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएका २१ सदस्यहरूलाई धमाधम फोन गर्न थाले।
उपत्यकामा रहेका केन्द्रीय सदस्यहरू दिउँसो सवा २ बजे प्रचण्ड निवासमा भेला भए। कालो चियाको सुर्कोसँगै अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुको हालखबर सोध्न सुरु गरे। त्यसपछि डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरेलगायतले पार्टीभित्रको समस्या सुनाए।
केन्द्रीय सदस्यहरूले करिब २ घन्टा लगाएर आआफ्ना असन्तुष्टि प्रचण्डसमक्ष राखे। उनीहरूले पार्टी एकीकरणमा ढिलाइ हुँदा सबै तहका गतिविधि ठप्प भएको गुनासो गरेका थिए । यस्तै उनीहरूले केन्द्रीय सदस्यहरूको कार्य विभाजन हुनुअघि पोलिटब्युरो गठन हुनुपर्ने र निश्चित मापदण्डका आधारमा नेतृत्व छान्नुपर्ने लगायतका माग राखेका थिए।
केन्द्रीय सदस्यहरूको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले घुमाउरो तरिकाले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पार्टी गतिविधि अघि बढ्न नसकेको बताएका थिए ।
प्रधानमन्त्री ओलीकै व्यस्तताका कारण सचिवालय बैठक पटकपटक सरेको असन्तुष्टि प्रचण्डको थियो । अध्यक्ष ओली विधानविपरीत चलेको भन्दै असन्तुष्टि पोख्न पुगेका केन्द्रीय सदस्यहरूसँग प्रचण्डले उल्टै ओलीका कारण पार्टी गतिविधि ठप्प भएको, बैठक बस्न नसकेको, एकीकरण प्रक्रिया टुंगोमा पुग्न नसकेको जस्ता उजुरी सुनाएका थिए।
प्रचण्डले केन्द्रीय सदस्यले राखेका ६ बुँदे माग जायज भएको र यस विषयमा छलफल गर्ने आश्वासन दिएको केन्द्रीय सदस्य ठाकुर गैरेले नेपाल समयलाई जानकारी दिए।
पार्टी नेतृत्वको कार्यशैली र सरकार–पार्टी सम्बन्ध बलियो बनाउन तत्काल पार्टी बैठक बोलाउन माग गर्दै महासचिव पौडेलमार्फत अध्यक्षद्वयलाई नेकपाका २१ केन्द्रीय सदस्यले मंसिर ७ मा ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापनपत्र अहिले नेकपाभित्र छलफलको विषय बनेको छ। नेकपाका नेताहरू माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र झलनाथ खनाल पनि ज्ञापनपत्रमाथि छलफल गर्नुपर्ने पक्षमा छन् ।
सचिवालयलाई कार्यकारी नबनाउन, स्थायी समितिदेखि केन्द्रीय समितिसम्म बैठक नियमित बोलाउन, पोलिटब्युरो तत्काल गठन गर्न र गठनपछि मात्रै केन्द्रीय सदस्यको कार्य विभाजन गर्न उनीहरूले माग गरेका थिए ।
उनीहरूले पार्टीभित्र आन्तरिक जनवाद कमजोर बनेको भन्दै पार्टी र सरकारबारे गम्भीर समीक्षा गर्न नेतृत्वसमक्ष माग गरेका थिए ।
केन्द्रीय सदस्य डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, माधव अर्याल, निरज आचार्य, रामकुमारी झाँक्रीलगायतले बुझाएको ज्ञापनपत्रमा ६ बुँदे मागलाई पार्टी बैठकको एजेन्डा बनाउन माग गरेका थिए।
यो मागबारे अहिले नेकपामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मतैक्य छैन। प्रधानमन्त्री ओली २१ केन्द्रीय सदस्यलाई कारबाही गर्ने पक्षमा थिए। तर त्यसमा सचिवालय सदस्यहरुले आपत्ति जनाएपछि ओली पछि हटेको बताइएको छ।
ज्ञापनपत्र बुझाउने २१ केन्द्रीय सदस्यहरूले यसअघि सोमबार मात्र सचिवालय सदस्य वामदेव गौतमलाई भेट गरेका थिए। स्रोतका अनुसार भेटमा गौतमले २१ केन्द्रीय सदस्यहरूले उठाएका माग जायज भएकाले सचिवालय बैठकमा छलफल गर्ने बताएको एक नेताले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४