धनकुटा- धनकुटामा एभोकाडो फलको व्यावसायिक उत्पादन भएपछि किसानहरू यसतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले एभोकाडोलाई विशेष महत्त्व दिएर किसानलाई सहयो गर्दै आएको छ । धनुकटामा एभोकाडो फलको बिरुवा किसानलाई बाँड्ने, एभोकाडोको मूर्ति बनाउने, पार्क बनाउने देखि महोत्सवसम्मका कार्यक्रम भइरहेका छन् ।
मूर्तिकारहरू शशि किरण, भक्त राई र चतुर राजवंशीले एभोकाडोको मूर्ति बनाएका छन् । यो मूर्तिको अनावरण शनिबार भयो । यस्तै धनकुटा नगरपालिकाले शनिबार संघीय सांसद राजेन्द्र राईको प्रमुख आतिथ्य र कृषि विज्ञ जीवन राईको उपस्थितिमा एभोकाडो महोत्सव गर्यो । महोत्सवमा तीन दर्जन बढी एभोकाडोका किसानले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए ।
धनकुटा नगरपालिका–६ परिचय मोडमा मूर्तिसँगै एभोकाडो पार्क पनि बनेको छ । पार्कका विभिन्न पाँच सुन्दर फलैँचा बनाइएका छन् । पार्कको बीचमा मूर्ति र भित्तामा विभिन्न आकृति कुँदिएका छन् । भित्तामै नेपाली र अंग्रेजीमा लेखिएको छ, 'एभोकाडोको राजधानी धनकुटा नगरपालिकामा यहाँलाइ हार्दिक स्वागत छ ।'
भिटामिन, पोटासियम र अन्य थुप्रै पौष्टिक गुणले भरिएको एभोकाडोबारेमा गरिएका यी सबै कार्यक्रमको नेतृत्व स्थानीय सरकार आफैंले गर्दैछ । धनकुटाले आफूलाई एभोकाडोको राजधानी पनि घोषणा गरेको छ । राजधानी घोषणा गर्नुअगाडि किसानलाई १० हजार बिरुवा बाँडिएको थियो ।
यस वर्ष २५ हजार र अर्को वर्ष १ लाख विरुवा बाँड्ने योजना रहेको नगरपालिकाका मेयर चिन्तन तामाङले बताए । उनले भने, 'अबको १५ वर्षसम्म नेपालमा एभोकाडोको बजारमा कुनै समस्या नहुने विज्ञहरु बताउँदैछन् । त्यही भएर हामी यसमा लागिपरेका छौं ।'
यसरी सुरु भयो धनकुटाको एभोकाडो प्रेम
धनकुटा नगरपालिकाका १० वटै वडामा एभोकाडोको सामान्य उब्जाउ हुँदै थियो । २०७५ साल वैशाखदेखि धनकुटाका मेयर चिन्तन तामाङले मेयर कृषि पर्यटक कार्यक्रम सार्वजनिक गरे । यो कार्यक्रम आउनुअगाडि उनले कृषि विज्ञमा जीवन राईलाइ नियुक्ति गरे ।
एभोकाडो र ड्रागन फल धनकुटाको माटोमा उचित हुने र व्यवसायको सम्भावना राम्रो भएको सोही फलका बारेमा पुस्तकसमेत लेखेका कृषि विज्ञ जीवन राईले सुझाव दिए । राईको सुझावपछि नगरपालिकाले अध्ययन थाल्यो । अध्ययनले धनकुटाका १० वडाका १ हजार ९ सय ६२ घर परिवारले एभोकाडो रोपेको निष्कर्ष निकाल्यो ।
बेलायत सरकारको सहयोगमा धनकुटामा २०२८ साल चत १२ गते सञ् चालनमा आएको पाख्रिबास कृषि अनुसन्धान केन्द्रबाट बिरुवा ल्याएर स्थानीयले एभोकाडो खेती गर्दै आएका थिए । व्वायसायिक रूपमा ठूलो परिमाणमा भने उनीहरुले खेती गरेका थिएनन् । यही कुरा बुझेर नगरापालिकाले किसानलाई थप एभोकाडो बिरुवा बाँड्न थाल्यो ।
नगरपालिकाले यो वर्ष २५ हजार बिरुवा तयार गरेको छ भने १० हजार बाँडेको छ । आगामी वर्षमा १ लाख वितरण गरिने मेयर तामाङ बताउँछन् । सन् २०८० सम्म धनकुटामा एभोकाडोबाट ७ करोड बढी आम्दानी गर्न सकिने प्रक्षेपण धनकुटा नगरपालिकाले गरेको प्रमुख प्रशाशकीय अधिकृत टीकादत्त राई बताउँछन् ।
धनकुटाको मुख्य उत्पादन सुन्तलाले राम्रो उत्पादन दिन छाडेपछि नगरपालिकाले एभोकाडोमा चासो दिएको मेयर तामाङ बताउँछन् । उनी भन्छन्, 'पछिल्ला वर्षमा सुन्तलाका बोट मर्न थाले र उत्पादनमा ह्रास आयो । हामीले त्यसपछि एभोकाडोमा ध्यान दिन थाल्यौं ।'
'हामीले अहिले किसानलाई १० हजार बिरुवा बाँडेका छौं', तामाङ भन्छन्, 'आगामी वर्ष यो संख्या एक लाख पुर्याउने लक्ष्य छ ।' प्रतिकिलो न्यूनतम १ सय ५० रुपैयाँदेखि अधिकतम २ सय ५० सम्म पुगेको एभोकाडोको भविष्य सुरक्षित रहेको विज्ञ जीवन राई बताउँछन् ।
उनी भन्छन्, 'धनकुटाको माटोको प्रकृतिले उष्णप्रदेशीय फल एभोकाडोलाई सहयोग गर्छ । योफल मुटुरोग, मधुमेह, यौन दुर्बलता निदान गर्न अत्यन्तै लाभदायक हुन्छ ।' नेपालका सम्भ्रान्तहरुले मात्रै मेक्सिको र अमेरिकाबाट आयात गरेर खाने एभोकाडो फल नेपालमै उत्पादन भएपछि मूल्य कम भएको राई बताउँछन् ।
नेपालीले मासु खाएजस्तै फलफूल खाने बानी बसालेमा एभोकाडोको भविष्य झनै राम्रो रहेको राईले बताए । उनले भने, 'हाल नेपालमा २ प्रतिशतले मात्रै खाँदा २० लाख किलो खपत भएको छ भने यो ४ प्रतिशतले खाँदा ४० लाख र ८ प्रतिशतले खाँदा ८० लाख किलो यहीँ खपत हुनेछ ।'
यी हुन् एभोकाडो खाँदाका फाइदा
विश्वमा सबैभन्दा धेरै मेक्सिकोमा र एसियामा सबैभन्दा धेरै इन्डोनेसियामा उत्पादन हुने एभोकाडो खाँदा थुप्रै हुने विज्ञहरू बताउँछन् । विश्व प्रख्यात हेल्थलाइन डटकममा क्रिस गुनार्सले लेखेका छन्, 'एभोकाडोमा भिटामिन सी, ई, के, बी फाइभ, बी सिक्स पाइन्छ । पोटासियम पनि यसमा प्रशस्तै हुन्छ । यसमा १६० क्यालोरी, २ ग्राम प्रोटिन र १५ ग्राम फ्याट र फाइभर हुन्छ ।'