काठमडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले सरकारले घोषणा गरेको पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रमको विषयलाई प्राथमिकतामा पारेका छन् ।
सरकारले मंगलबारबाट ठूलै तामझामका साथ निजी क्षेत्रका काम गर्ने श्रमिकले पनि योगदानका आधारमा पेन्सनसहित चार प्रकारका सुविधा प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको सामाजिक सुरक्षा कोषले योगदान गर्ने श्रमिकलाई पेन्सनसँगै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा सेवा दिने छ ।
सामाजिक सुरक्षा कार्यक्रमबाट कम्तिमा ३५ लाख श्रमिकहरु लाभान्वित हुने अनुमान गरिएको छ । यसका लागि श्रमिकको न्यूनतम तलवबाट ११ प्रतिशत काटिने छ भने रोजगारदाताले २० प्रतिशत रकम कोषमा जम्मा गर्नु पर्नेछ ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नयाँ पत्रिकाले के हो सामाजिक सुरक्षा शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले सुरु भयो सामाजिक सुरक्षा कार्यक्रमः पसिनाको प्रतिफल शीर्षकमा खबर लेखेको छ ।
कान्तिपुर दैनिकले सामाजिक सुरक्षा कार्यक्रमः कोष स्वायत्त निकाय हुने शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले भने यसै कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपीशर्मा ओलीले अब जता हेर्यो त्यतै सरकार भनेर दिएको अभिब्यक्तिलाई मुख्य समाचार बनाएको छ ।
यो विषय बाहेक आजका पत्रपत्रिकाले प्रधानन्यायाधीशका लागि संसदीय सुनवाई समितिबाट अस्विकृत भएका दिपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि सिफारिस गरेको खबरलाई पनि महत्वका साथ छापेका छन् ।
नयाँ पत्रिकाले प्रधानन्यायाधीशमा जोशी फेरि सिफारिस शीर्षकमा समाचार लेखको छ भने नागरिक दैनिकले अस्विकृत जोशीको नाम योग्य सूचीमा शीर्षकमा खबर छापेको छ ।
यस्तै आजको कान्तिपुरले सरकाले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने तयारी गरेको खबर लेखेको छ । समाचारमा जनाइएअनुसार अब होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुका ५ देखि राति १० बजेसम्म मात्र बिक्री तथा सेवन गर्न पाइने व्यवस्था गर्न लागिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४