काठमाडौं- नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाले कांग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलालाई पार्टीमा आवश्यक भूमिका दिने बताएका छन्।
कांग्रेस नेता बास्तोलाको निधन भएको ४५ औं दिनको अवसरमा मंगलबार राजधानीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेस सभापति देउवाले भने, ‘कुसुम जस्तो योगदान धेरै महिलाले गर्न सक्दैनन्। पार्टीले उहाँलाई आवश्यक भूमिका र ठाउँ दिन्छ।’
कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले पार्टीमा ठाउँ नहुँदा समेत विजय कुमार गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा कुसुम बास्तोलालाई भूमिका दिन किन नसकेको भनी सभापति देउवासँग प्रश्न गरेका थिए। ‘पार्टीको विधानमा ठाउँ नहुँदा पनि गच्छदारलाई उपसभापति बनाउन हुने अनि कुसुमलाई केन्द्रीय सदस्यमा पनि नियुक्त गर्न हुँदैन’ गिरीले प्रश्न गरेका थिए।
नेता गिरीको जिज्ञासालाई समाधान गर्दै सभापति देउवाले झम्टदै भने, ‘हैन बाबा मैले पार्टीमा आवश्यक भूमिका दिने भनिसकेपछि के-को कुरा गरिरहेको?’ कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कुसुम बास्तोलालाई पार्टीको केन्द्रीय तहमा कुनै भूमिका दिए झापा र समग्र मुलुकको कांग्रेसलाई फाईदा नै हुने बताए। उनले सभापति देउवासँग भने ‘कुसुम भाउजुलाई भूमिका दिँदा गुनासो वा विरोध गर्ने कुनै माईका लालको हिम्मत छैन।’
'शान्तिप्रकृयाका सुत्राधार नै बास्तोला हुन'
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सभामुख कृष्णबहादुर महराले माओवादीसँग भूमिगत कालमै वार्ता गरी पार्टी नेतृत्वलाई गणतन्त्रमा जान दबाब दिने व्यक्ति नै बास्तोला भएको बताए। उनले भने ‘गणतन्त्र र शान्तिप्रकृयाका सूत्राधार नै चक्रजी हो। उहाँले नै भूमिगत समयमा हामीसँग भेटेर प्रधानमन्त्रीसमक्ष ल्याउने काम गर्नु भएको थियो। उनले बास्तोला बौद्धिक दूरदर्शी, परिवर्तन चाहने र चुतौतिको सामवना गर्ने नेता हुनुहुन्थ्यो।’
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले पार्टी विभाजनको संघारमा पुग्दा त्यसलाई रोक्न तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र संस्थापनक नेता कृष्णप्रसाद भट्टराईबीच गोदावारी बैठक गराएर योगदान दिएको बताए। देउवाले माओवादीसँग भूमिगत अवस्थामै वार्ता गरेर शान्ति प्रकृयाको सूत्राधार नै बास्तोला भएको बताए।
कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले स्वर्गीय बाँस्तोला राजनीतिक परिवर्तनको पषमा उभिने, चाँडो निर्णय गर्न सक्ने नेताको रुपमा आफूले पाएको वताए। माओवादीलाई शान्ति प्रकृयामा ल्याउन माओवादी नेतृत्व र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीचको सम्वन्ध बनाउन बास्तोलाको भूमिका महत्वपूर्ण भएको बताए।
सिटौलाले बास्तोलाकी धर्मपत्नी कुसुमको धैर्यता, शाहस, योगदान र सेवा नेपालका अन्य महिलाले पनि लिन सक्नु पर्ने बताए। केन्द्रिय सदस्य डा रामशरण महतले चक्र बास्तोला बौद्धिक राजनीतिक व्यक्ति भएर पनि क्रान्तिकारी र संघर्षशील व्यक्ति भएको बताए। बास्तोलाले शान्ति प्रकृया, पार्टीमा आएको बिबादलाई मिलाउन नेताहरुबीच समन्वयको भूमिको खेल्न र बंगलादेश स्वतन्त्रता आन्दोलनमा बंगलादेश मुक्तिबाहिनीलाई हतियार सहयोग गर्ने योगदान दिएको बताए। बास्तोला नेपालको पहिलो जहाज अपहरण काण्डका एक सहभागी क्रान्तिकारी नेता पनि हुन्।
कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गुरुराज घिमिरे र मीना पाण्डे, नेविसंघ पूर्वउपाध्यक्ष मेदनीप्रसाद सिटौला लगायतले बास्तोलाले कांग्रेसको संगठनमा दिएको योगदानको चर्चा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४