एजेन्सी- स्पेनिस ला लिगा क्लब बार्सिलोनालाई चोटले पिरोलेको छ । एकपछि अर्को गरी खेलाडी चोटले संकटमा पर्दा बार्सिलोना पिरलोमा परेको हो । दुई हप्ताको बीचमा मात्र बार्सिलोनाका ७ जना खेलाडी घाइते भएका छन् ।
इभान राकिटिक र फिलिपे कोउटिन्हो घाइते पछि मैदान फर्किन नपाउँदै एकैपटक ४ जना खेलाडी घाइते भएका छन् । गत शनिबार राति एथ्लेटिको मड्रिडसँग भएको खेलमा बार्सिलोनाका ४ जना खेलाडी घाइते भएका थिए ।
सोहि दिनको भोलिपल्ट क्लबले सर्जी रोवेर्टो र राफिन्हा घाइते भएको जानकारी गराएको थियो । जसमा रोवेर्टो १ महिना मैदानबाहिर रहनेछन् भने राफिन्हा ९ महिना मैदानबाहिर रहेन भएका छन् ।
तर, बार्सिलोनाका अन्य ३ जना खेलाडी पनि घाइते भएका छन् । एथ्लेटिकोविरुद्धको खेलछि चेकजाँका क्रममा अन्य २ जना खेलाडी पनि घाइते भएको खुलेको हो । बार्सिलोनाले च्याम्पियनस लिगमा बुधबार राति पिएसभी इन्डोभिनसँग पाँचौं खेल खेल्दैछ ।
सो खेलका लागि सार्वजनिक गरिएको बार्सिलोनाको खेलाडी सूचीमा लुइस स्वारेज र अर्थुर परेका छैनन् । स्वारेजको घुँडामा समस्या देखिएको छ भने अर्थुरको पनि खुट्टामा समस्या देखिएको छ ।
स्वारेज र अर्थुर २ हप्तासम्म मैदानबाहिर रहनेछन् । यता, बार्सिलोनाका दोस्रो रोजाइका गोलरक्षक ज्यास्पर सिलेनी पनि घाइते भएका छन् । प्रशिक्षणक्रममा घाइते भएका उनी ३ सातासम्म मैदानबाहिर रहने क्लबले उल्लेख गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४