सुर्खेत- वीरेन्द्रनगरको व्यस्त सडक। त्यही सडकमा आजभोलि प्रहरीले दैनिक केही हुल मान्छे जम्मा गर्छ। कहिले बसपार्क त कहिले सुब्बाकुना, वीरेन्द्रचोक, मंगलगढीचौकमा बीच सडकमै गाडी रोक्छ। चालक र सहचालकहरुलाई सडकमा झार्छ। चालक र प्रहरी देखेपछि पैदलयात्रीले प्रश्न गर्छन् कहाँ दुर्घटना भएछ ? कति घाइते भएछन्? कसैको मृत्यु त भएन?
यस्तै-यस्तै कानेखुसी गर्दै ठूलै हुल जम्मा हुन्छ। तर त्यहाँ न कुनै दुर्घटना भएको हुन्छ, न कसैको मृत्यु। यसरी प्रहरीले दैनिक रुपमा सवारीचालकको हुल जम्मा गर्नुको कारण हो, ‘नयाँ ट्राफिक नियमको जानकारी दिनु।’
वीरेन्द्रनगर प्रदेशको राजधानी भएसँगै प्रहरीले पनि नयाँ ट्राफिक नियम लागू गरेको छ। राजधानीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले अन्तर्राष्ट्रिय ट्राफिक नियम लागू गरेको छ।
कर्णाली प्रदेशमा पहिलोपटक अन्तर्राष्ट्रिय ट्राफिक नियम लागू गरेपछि प्रहरीले जनचेतना अभियाना तीव्र बनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिलो चरणमा सुर्खेतबाट अन्तर्राष्ट्रिय ट्राफिक नियम सुरु गरिएको हो।
‘हामीले सुर्खेतमा अन्तर्राष्ट्रिय ट्राफिक नियम लागू गरेका छौँ’, सुर्खेतका ट्राफिक प्रमुख हरिबहादुर बिसीले भने, ‘प्रदेशको राजधानी भएकै कारण सुर्खेतबाट अन्तर्राष्ट्रिय ट्राफिक नियम लागू गरेका हौँ ।’ प्रमुख बिसीका अनुसार पहिलो चरणमा सवारीचालकलाई कसरी बाटो काट्ने भनेर सिकाउन थालिएको छ। ‘नयाँ ट्राफिक नियम सिकाउन जिल्लाका १३ वटा एकाइबाट हामी सडकमा पुगेका छौँ।’
अन्तर्राष्ट्रिय नियमअनुसार ओभरटेक गर्दा जुन साइडबाट ओभरटेक गर्न खोजेको हो त्यही साइडको लाइट बाल्नुपर्नेछ। ओभरटेक गर्न दिने गाडीचालकले ओभरटेक गर्ने साइडको ठिक विपरीत साइड लाइट बाल्नुपर्नेछ। ओभरटेक गरिसकेपछि आफूले सकुशल पार गरिसकेको जानकारी दिन विपरीत साइडतिरको लाइट बाल्नुपर्नेछ।
प्रहरीले पहिलो चरण सवारी चालकलाई अन्तर्राष्ट्रिय ट्राफिक नियम र त्यसपछि जेब्राक्रस सिकाउने जनाएको छ।
४ हजार कारबाहीमा
यस्तै पछिल्लो चार महिना अवधिमा चार हजार एक सय ८ जना प्रहरीको कारबाहीमा परेका छन्। तथ्यांकअनुसार साउनमा १ सय ४१, भदौमा १६ सय ९७, असोजमा १८ सय १८ र कात्तिकमा २ हजार २ सय ९० जना कारबाहीमा परेका हुन्। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने जान्ने बुझ्ने भलाद्मीहरुले नै बढी नियमको उलंघन गरेको प्रहरीको भनाइ छ। यस्तै २ सय चालक मापसे कारबाहीमा परेका छन्।
चाडपर्वमै बढी दुर्घटना
दुर्घटना न्यूनीकरणका लागि प्रहरीले दैनिक जनचेतना फैलाए पनि चाडपर्वमा भने सवारी दुर्घटना न्यूनीकरण हुन सकेको छैन। चाडपर्वमै मादक पदार्थ सेवन गरी सवारी हाँक्ने चालकका कारण सवारी दुर्घटना बढेको हो। प्रहरी तथ्यांकअनुसार दसैंतिहारमा मात्रै २० वटा दुर्घटना भएका छन्। असोज र कात्तिक महिनामा भएका २० दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। त्यस्तै ३३ जना घाइते भएका छन्।
आधा करोड राजस्व संकलन
सुर्खेतमा आर्थिक वर्ष सुरु भएयता कारबाहीमा परेका सवारीसाधनबाट झन्डै ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ। साउनमा ८ लाख ५२ हजार ५ सय, भदौमा १० लाख ३७ हजार, असोजमा १० लाख ४२ हजार र कात्तिकमा १४ लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रमुख बिसीका अनुसार सुर्खेतमा राजस्व संकलन अहिलेसम्मकै बढी हो।
रिक्सालाई कडाइ
दुर्घटना न्यूनीकरणकै लागि प्रहरीले वीरेन्द्रनगरका अटोरिक्सा व्यवसायीलाई कडाइ गरेको छ। ट्राफिक प्रमुख बिसीका अनुसार अबदेखि अटोरिक्साहरु भ्यालीबाहिर जान पाउने छैनन्। वीरेन्द्रनगरभित्र पूर्वमा सुब्बाकुना, पश्चिममा बांगेसिमल र उत्तरमा पानी ट्यांकीभन्दा बाहिरी क्षेत्रमा अटोरिक्सा चलाउन पाइने छैन। अटोरिक्साहरु भ्यालीबाहिर जाँदा दुर्घटना बढेको भन्दै प्रहरीले यस्तो नियम लागू गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४