शनिबार, साउन ९, २०८३

सुरुमै सामाजिक सुरक्षा कोषमा ५० अर्ब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – सामाजिक सुरक्षा योजना कार्यान्वयन भएकै दिन मंगलबार सामाजिक सुरक्षा कोषमा ५० अर्ब रुपैयाँ रकम संकलन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरिरहँदा कोषमा करिब ५० अर्ब रुपैयाँ संकलन हुने अवस्थामा रहेको जानकारी दिएका हुन्।

उनले भने ‘अहिले नै कोषमा करिब ५० अर्ब रुपैयाँ जम्मा हुने देखिएको छ।’ उनका अनुसार १९ अर्ब ३३ करोड रुपैयाँ सामाजिक कल्याणकारी कोषबाट सुरक्षा कोषमा प्राप्त भएको छ। बाँकी रकम सामाजिक सुरक्षाका रूपमा सरकारले एक प्रतिशतका दरले पारिश्रमिकबाट कट्टा गर्दै आएको रकम रहेको जानकारी उनले दिए। 

राजधानीमा सामाजिक सुरक्षा योजना शुभारम्भ समारोह सुरु गर्दै प्रधानमन्त्री केपी ओलीले सामाजिक सुरक्षा कोष बृहत् कोष हुने बताए। ‘यो कोष बृहत् हुनेछ,’ उनले भने, ‘कोष उपयोगी हुनेछ।’ सामाजिक सुरक्षा कोषले सिंगो नेपाली समाजलाई नयाँ युगमा प्रवेश गराउने उनको भनाइ छ। ‘रोजगारीमा रहेका, गुमाएका र नभएका सम्पूर्ण नेपालीलाई योजनाले समेट्नेछ,’ उनले भने, ‘गर्भमा रहँदादेखि मृत्यु भएका सबैजनालाई समेटिनेछ।’ 

कार्यक्रममा सबैका लागि सबैको सहभागितामा योजना लागू भएको भन्न पाउँदा आफू गौरवान्वित भएको बताए। ‘२५ वर्षअघि ०५१ सालमा नगरिक सुरक्षाअन्तर्गत मासिक सय रुपैयाँ भत्ता प्रदान गर्दै वृद्ध भत्ता सुरु गरेको थियौं,’ उनले भने ‘सोही अभियानलाई नयाँ आयाम दिएका छौं।’

अभियानले कुनै लक्षित उमेर नभई सबै रोजगार भएका, नभएका, आम्दानी भएका नभएका सबैलाई समेट्ने उनले बताए। 

मुलुककै ठूलो कोष

उद्योगी व्यवसायीले सामाजिक सुरक्षा कोष एक दशकमै सबैभन्दा ठूलो कोष बन्ने बताएका छन्। नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सामाजिक सुरक्षा कोषमा आगामी १० वर्षपछि सबैभन्दा बढी बचत हुने बताए। उक्त रकम सदुपयोगका लागि आजैदेखि सोच्नुपर्ने उनको सुझाव छ।

‘सरकारले पाँच कदम अघि बढी निर्णय गरेको छ,’ उनले भने ‘नेपालीहरू अबको दस वर्षमा म्यानेजरका रुपमा देखिने गरी परिवर्तन हुन आवश्यक छ।’ निजी क्षेत्रले योजना कार्यान्वयनमा सहयोग गर्ने उनको प्रतिबद्धता छ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले योजना प्रारम्भ भएसँगै मुलुकको श्रम क्षेत्रमा नयाँ युग आरम्भ भएको बताइन्। योजनाले सम्पूर्ण नेपालीको भविष्यका लागि महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्