जनकपुरधाम- छोरी चेलीलाई लक्षित गरी प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियनालाई चर्चित नायिका रेखा थापाले सहयोग गर्ने भएकी छिन्। नायिका थापा प्रदेश सरकारको यस कार्यक्रममा अभियन्ता बनेर सहयोग गर्न लागेकी हुन्।
मुख्यमन्त्री लालबाबु राउतले नायिका थापाले आफ्नो ‘रेखा फाउन्डेसन’ नामक गरेको संस्थाबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको अभियन्ता बनेर सहयोग गर्ने जानकारी दिएका छन्।
‘छोरीहरुका लागि रेखाजी ‘स्वर्णीम’ अभियान चलाइ रहनु भएको छ,’ मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गरेर राउतले भने,‘छोरी लक्षित प्रदेश सरकारको अभियानबाट प्रभावित भएर उहाँले सहयोग गर्ने इच्छा व्यक्त गर्नु भएको छ।’
‘बेटी पढाउ, बेटी बचाउ’ अभियनालाई प्रभावकारी बनाउ नायिका थापा अभियन्ताको रुपमा सहयोग गर्ने मुख्यमन्त्री राउतले जानकारी दिए । छोरी जन्माउनै नचाहने मानसिकता समाजमा व्याप्त रहेको भन्दै राउतले समाजिक रुपान्तरण ठुलो चुनौती बनको उल्लेख गरे।
छोरीप्रति गरिने भेदभावपूर्ण व्यवहार परिवर्तन शिक्षाको माध्यमबाट मात्र परिवर्तन गरिन सकिने भएकाले अभियानअन्तर्गत शिक्षामाथि विशेष जोड दिइने राउतको भनाइ थियो । अशिक्षा, दाइजो, बालविवाहजस्ता विकृति विसंगति नहटाए समाज र देश विकासित हुन नसक्ने राउतले उल्लेख गरे।
पत्रकार सम्मेलनमा नायिका रेखा थापाले विगत तीन वर्षदेखि फाउन्डेसनमार्फत छोरीहरुका लागि सञ्चालन भइरहेको ‘स्वर्णीम’ अभियान अन्तर्गत प्रदेश २ का सबै जिल्लामा अभियन्ताको रुपमा काम गर्ने जानकारी दिइन्।
छोरीहरु आत्मनिर्भर बन्नुपर्ने आफ्नो इच्छा रहेको तर उनीहरु माथि भइरहेको भेदभावपूर्ण व्यवहार अन्त्यगर्न प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ सँग जुडेको उनले बताइन्।
‘चलचित्रमा अभिनय गरेर समाज रुपान्तरण गर्ने ठुलो रहर थियो। तर सके जस्तो लागेको छैन,’ नायिका थापाले भनिन्,‘चलचित्रमा मलाई हेरिएपनि मेरो विचार बुझ्न सकिएन । त्यसैले गाउँगाउँ पुगेर यो अभियानमा सहयोग गर्ने चाहना जागेको छ।’ आफूपनि मधेशकै छोरी रहेको बताउँदै थापाले छोरीप्रति सुतेका आत्मालाई जगाउने उद्देश्य बोकेर अभियानमा लाग्न थालेको बताइन्।
अभियान अन्तर्गत नायिका थापा बुधबार प्रदेश २ को रौतहट पुग्दै छिन् । रौतहटमा गाउँपालिका र नगरपालिकासँगको सहकार्यमा चेलीबेटीलाई लक्षित गरेर नमूना कार्यक्रम गर्ने उनको योजना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४