काठमाडौं-नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नै निवास मण्डिखाटारमा मंगलबार डाकेको लन्च मिटिङमा कांग्रेसका सबै तहका नेताहरुको विशेष जमघट देखियो।
कांग्रेसका एक दर्जन बढी वरिष्ठ तथा युवा नेता दिवा भोजमा सहभागी भए। लन्च बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महत, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, यूवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, कमला पन्त, जीवन परियार र प्रदीप पौडेललगायत पुगेका थिए । लन्चपछि फोटो सेसन गरिएको थियो ।
बिहान ११ बजे आयोजना गरेको लन्च बैठकमा पार्टी नेतृत्वका कारण संगठन कमजोर भएको र सरकारले गरेका गलत क्रियाकलापको खबरदारी गर्न नसकेको भन्दै नेतृ कोइरालाले महासमिति बैठकमा एकजुट भएर प्रस्तुत हुनुपर्ने प्रस्ताव राखेकी थिइन्। उनले कांग्रेसलाई अब पुरानै अवस्थामा फर्काउन आफू सक्रिय हुने बताएकी थिइन्।पछिल्लो समयमा कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिमा कमजोर हुँदै गएको चिन्ता उनले प्रकट गरेकी थिइन्।

बैठकमा सहभागी एक नेताका अनुसार सहभागी नेताहरुले गुट उपगुटलाई बलियो बनाउन भन्दा कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताएका थिए। सहभागी सदस्यहरुले पनि पार्टीलाई विधानसंवत नचलाई आफूखुसी गरेको भन्दै पार्टी नेतृत्वबिरुद्ध आक्रोस पोखेका छन्।बैठकमा नेताहरुवीच पार्टी सभपाति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टी भित्र निर्णय लाद्ने गरेको भन्दै त्यसकाबिरुद्ध एकजुट भएर महासमितिमा प्रस्तुत हुने सहमति भएको नेतृ कोइरालाका राजनीतिक सहयोगी केशव दुलालले नेपाल समयलाई बताए।
बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी कार्यक्रमको शिलशिलामा तनहुँमा र महामन्त्री डा. शशांक कोइराला तथा डा. शेखर कोइराला उपत्यकाबाहिर भएकोले लन्चमा सहभागी भएनन् । नेताहरुबीचमा सभापति देउवाले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई उपसभापतिमा नियुक्त गर्दा सहमति र प्रकृयालाई लत्याइएको भन्दै सहभागी नेताहरुले आक्रोश पोखेका थिए ।
छलफलमा बिधान संशोधन मस्यौदा समितिमा फरक मत प्रस्तुत गर्ने समिति सदस्य प्रदीप पौडेलले प्रतिवेदन तयार पार्दा संस्थापन पक्षका सांसदहरुले गरेको व्यवहारको बिषयमा समेत जानकारी दिएका थिए। बैठकमा बोलाईएका रामकृष्ण यादब र कल्याण गुरुङ उपत्यकामा नहरेका कारण आउन सकेका थिएनन्। नेतृ सुजाताले नेता केसीलाई पहिलो पटक लन्च बैठकमा बोलाएकी थिइन्। सुजाताले यसअघि २६ कात्तिकमा पार्टी सभापति देउवाइत्तरका नेताहरुलाई बोलाएर लन्च गराएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४