शनिबार, साउन ९, २०८३

सुजाताले डाकेको लन्चले कांग्रेसमा तरंग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–कांग्रेस नेतृ सुजाता कोइरालाले मंगलबार आफ्नै निवास मण्डिखाटारमा दिवाभोज आयोजना गरेकी छन्। पार्टी सभापति शेरवहादुर देउवाविरुद्धको मोर्चाबन्दी बृहत् बनाउने रणनीतिअनुसार आयोजना गरेको भोजमा उनले कांग्रेसका शीर्ष र केही युवा नेतालाई समेत डाकेकी छन्। 

पूर्वउपप्रधानमन्त्री तथा पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पुत्री सुजाताले पार्टी सञ्चालन गर्दा विधानविपरीत आफूखुसी गरेको भन्दै देउवाइतरका नेतालाई एकल र सामूहिक रूपमा भेट गर्दै आएकी छन्। उनले गिरिजाप्रसाद कोइराला फाउन्डेसनमार्फत ६ वटा प्रदेशमा संयोजक तोकेर राजनीतिक र सामाजिक कार्यक्रममा थप सक्रियता बढाएकी छन्।

सभापति देउवाइतरका कांग्रेस नेतालाई एकै ठाउँमा ल्याउने क्रममा नेतृ कोइरालाले १३ औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुननरसिंह केसीदेखि सिटौला प्यानलबाट महामन्त्री उम्मेदवार बनेका गगन थापाको समेत साथ लिएकी छन्। सभापति देउवासँग समदूरीको सम्बन्ध कायम राख्दै आएका महामन्त्री डा. शशांक कोइरालासमेत अहिले सुजाताको मोर्चाबन्दीमा समेटिएका छन्।

सुजाताले गत २६ कात्तिकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महतलाई मण्डिखाटारमा बोलाएर सामूहिक दिवाभोजको आयोजना गरेकी थिइन्। सुजाताको सक्रियता र मोर्चाबन्दीले सभापति देउवालाई समेत प्रभावित बनाएको छ।

सुजाताले फाउन्डेसनकै ब्यानरमा गत २ मंसिरमा कोइराला निवास विराटनगरमा गएर आफू, डा. शशांक र डा. शेखर कोइरालाबीच गहिरो एकता भएको भन्दै सयपत्री फूलको एउटै मालामा बाँधिएको तस्बिर सार्वजनिक गरेकी थिइन्। कोइराला परिवारका यी तीनै नेताले परिवारको बिरासत धान्न र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन एकजुट भएको दाबी गरेका थिए।
 
सभापति देउवाइतरका कांग्रेस नेतालाई एकै ठाउँमा ल्याउने क्रममा नेतृ कोइरालाले १३ औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुननरसिंह केसीदेखि सिटौला प्यानलबाट महामन्त्री उम्मेदवार बनेका गगन थापाको समेत साथ लिएकी छन्।

सभापति देउवाले दसैंअघि पार्टीको केन्द्रीय कार्य समिति बैठकमा राजनीतिक निर्णय भन्दै कांग्रेस साधारण सदस्यसमेत नरहेका विजयकुमार गच्छदारलाई उपसभपाति नियुक्त गरेपछि कोइराला परिवार सभापति देउवासँग चिडिएको छ। 

सभापति देउवा समूहका बहुमत सदस्य रहेको विधान संशोधन मस्यौदा समितिले पार्टी केन्द्रीय कार्य समितिमा पेस गरेको प्रतिवेदनमा समेत उपसभपातिको संख्या एउटा मात्र रहने उल्लेख छ। मस्यौदा समितिले एकमात्र उपसभापतिको प्रस्तावसहित पेस गरेको प्रतिवेदनप्रति गच्छदारसमेत असन्तुष्ट छन्। 

कोइराला परिवारका अर्का सदस्य डा. शेखरले यसै साता गच्छदारलाई भेट गरेका थिए। शेखरले युवा नेता गगन थापालाई समेत गोप्य भेट गरी करिब एक घन्टा छलफल गरेका थिए। सुजाताले पार्टीभित्रका शीर्ष नेतासँगको भेटघाट र छलफल तीव्र बनाएपछि सभापति देउवाले आफ्नो प्रतिरक्षा गर्न पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई निर्देशन दिएका थिए।

कोइराला परिवारका सदस्यले ‘परिवारको बिरासत जोगाउने’ भनेर सार्वजनिक कार्यक्रममा बोलेको विषयलाई लिएर नेता कृष्णप्रसाद सिटौलाले भने गुनासो गरेका छन्। सिटौलासहित नेता प्रकाशमान सिंह र डा. रामशरण महतले आफूहरूलाई बाहिर राखेर कोइराला परिवारमात्र केन्द्रबिन्दुमा रहनु उचित नहुने भन्दै असन्तुष्टि जनाएका छन्।

सिंह, सिटौला र महतले सभापति देउवाले विधिविधान मिच्दै एकलौटी निर्णय गर्ने परिपाटी सच्याउन आफूहरुले दबाब दिएको निचोड निकालेका छन्। 

को को जाँदैन भोजमा ?

वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यकाबाहिर भएकाले सुजताको दिवाभोजमा अनुपस्थित रहने भएका छन्। दिवाभोजमा महामन्त्री डा. शशांक र केन्द्रीय सदस्य डा. शेखरसहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहान्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, वरिष्ठ केन्द्रीय सदस्य बलबहादुर केसीलाई निमन्त्रणा गरिएको छ। 

यस्तै युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव र किरण यादवलाई भोजमा बोलाइएको छ। युवाहरुलाई डाकिएको यस पटकको दिवाभोजमा युवाहरूलाई डाकिए पनि केही समयपछि प्रवक्ता शर्मा र डा. डिला संग्रौलालाई पनि साथमा लिने विषयमा छलफल भएको बुझिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।