शुक्रबार, मंसिर २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रिगलको रवाफमा प्रतिबिम्बित राजनीतिक रंग

लोकतन्त्रको नाममा लोकतन्त्रलाई प्रदूषित गर्ने काम लोकतन्त्रको लागि लड्ने नेताहरूले नै गरे। उनीहरू आफ्नो गलत निर्णय र अभ्यासको दलदलमा फर्किन नसक्ने गरी भासिएका छन्।
 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

भानु बोखिम

भानु बोखिम

सोमबार, कात्तिक २०, २०८०

ntc landingntc landing

राजनीतिको प्रिय र अप्रिय दुवै खालका रंग हुन्छन्। विधिको शासन रहेको देशमा पनि बेला मौकामा राजनीतिका अप्रिय रंगहरू देखा पर्छन्। तर कतिपय देशमा राजनीतिप्रति नागरिकको वितृष्णा र आलोचना बढी नै हुन्छ। हाम्रो देशमा राजनीतिको रंग कति अप्रिय बनेको छ, त्यो बुझ्न सरकारले रिगलको कैद मिनाहा गरेको र सर्वोच्चले उल्ट्याएको सोही निर्णय काफी छ।

himalayan bank box

योगराज ढकाल उर्फ रिगलको कैद मिनाहामा प्रचण्ड सरकारमाथि प्रश्न उठ्छ। सतहमा हेर्दा प्रचण्ड सरकार दोषी छ। तर वर्तमान परिस्थितिमा प्रचण्ड सरकारको नेतृत्वकर्ताको हिसाबले एक मोहरा मात्र हुन्। वास्तवमा यो समग्र राजनीतिक संस्कार र अभ्यासको प्रतिबिम्ब हो। यो लोकतान्त्रिक आचरण र राजनीतिक नैतिकता बिना लोकतन्त्रको अभ्यास गर्दाको परिणाम हो। राजनीतिमा सिद्धान्त र दर्शन महत्वपूर्ण हुन्छन्। त्योभन्दा पनि महत्वपूर्ण सिद्धान्तप्रतिको निष्ठा र नैतिकता हो।

हाम्रो लोकतन्त्रले आवधिक निर्वाचन र हारजित मात्र देख्यो। नेताहरूले जनताको म्यान्डेट भन्दा पनि सत्ता मात्र देखे। अक्सर ग्रामीण भेगमा मान्छेहरू भन्ने गर्छन् कि कुरो र कुलो जता पनि घुमाउन मिल्छ। अर्थात् तर्कहरू जसरी पनि गर्न सकिन्छ। शब्द जाल बुनेर आफ्नो महत्व दर्शाउन सकिन्छ। तर महत्व कति छ र आफूले कुन भूमिका निभाउने हो ? यस्तो निर्णय र अभ्यास राजनीतिक नैतिकका भएको व्यक्तिले मात्र गर्छन्।

हाम्रो राजनीतिक परिवेशमा खड्किएको तत्त्व नै राजनीतिक नैतिकता हो। पार्टीको आन्तरिक र सिंगो देशको लोकतान्त्रिक अभ्यासमा इन्कार गरिएका नेताले नै रजगज गरिरहेका छन्। यसमा नेता तथा दल विशेषको योजना, दक्षताभन्दा बढी दाउपेचले काम गरेको छ। यस्तो राजनीतिको परिणाम भनेको तेस्रो ठूलो दलको नेता प्रधानमन्त्री हुन्छन्। प्रधानमन्त्री भएर जनताको हितमा त सोच्लान्, तर आफ्नो सोचको कार्यान्वयन बिरलै मात्र गर्न पाउँछन्। उनी रिगल जस्ता जेल सजाय भोगिरहेका व्यक्तिको कैद मिनाहा गर्न बाध्य हुन्छन्।

यो निर्णयमा अहिले प्रधानमन्त्री र राष्ट्रपतिमाथि प्रश्न उठेको छ। सामाजिक सञ्जालमा प्रश्न उठाउनेहरूको कमी छैन। प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामाको कुरा पनि उठेको छ। यसमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसदहरूले त लय मिलाउने नै भए। यो विषयमा नागरिकले सामाजिक सञ्जाल वा कुनै पनि मञ्च तथा भेटघाटमा आलोचना गर्नु राजनीतिप्रतिको वितृष्णा हो। तर प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसदहरूले यसको आलोचना गर्नुचाहिँ राजनीतिक दाउपेच र सार्वजनिक खपतको विषय प्रदान गर्नु मात्र हो।

vianet

प्रतिपक्षी दललाई राम्ररी थाहा छ कि योबारेमा प्रधानमन्त्री र राष्ट्रपतिले राजीनामा दिँदैनन्। किनभने यस्तो विषयमा राजीनामा दिए नेपालको राजनीतिमा नेताको अभाव खड्किन्छ। वा यस्ता विषयमा राजीनामा दिए वा राजनीतिबाट संन्यास लिए नेपालका कुनै पनि नेता राजनीतिक गर्न लायक रहँदैनन्।

रिगलको कैद मिनाहामा प्रचण्ड र सिंगो नेपाली कांग्रेसका बाध्यताहरू छन्। नेपाली कांग्रेसले भनेको मान्नु प्रचण्डको बाध्यता हो। किनभने उनलाई यो सरकारको नेतृत्व गर्न आफ्नो खुट्टाभन्दा बढी नेपाली कांग्रेसको बैसाखीको सहारा छ। नेपाली कांग्रेस अहिले त्यस्ता दल भइसकेको छ, जो जसरी पनि जित्नुपर्छ भन्ने प्रदूषित राजनीतिको सिकार भइसकेको छ। यस्तो राजनीतिमा एमाले अछुतो रहने कुरा भएन। अन्य अधिकांश दशले पनि आफ्नो बलबुताले भ्याएसम्म यही बाटो अंगीकार गर्ने कोसिसमा छन्।

यो देशको राजनीतिक समस्यामध्ये एक लोकतन्त्रलाई प्राविधिक रूपले मात्र जीवित राख्ने प्रयास गर्नु हो। नैतिकता र निष्ठाले यसलाई जीवन्त पार्ने प्रयास गरिएन। प्राविधिक पक्ष मात्र ध्यान दिएको राजनीतिले ल्याउने नौबत यस्तै हो। निरीह र इमानदार नागरिकको समस्या भन्दा आफ्नो दलको लागि काम गर्ने खराब चरित्रलाई बचाउ गर्न दलहरू बाध्य हुन्छन्।

पहिलो जनआन्दोलनपछि विधि र निष्ठाको राजनीति गर्नुपर्थ्यो। तर तत्कालीन ठूला दलले घृणा र मनभेदको राजनीति सुरु गरे। उनीहरूको राजनीति दर्शन सिद्धान्तको मतभन्दा बढी उनीहरूको मनभेदबाट निर्देशित थियो। यस्तोमा उनीहरूले आफ्नो कार्यकर्तालाई अर्को दलको अस्तित्वमाथि धावा बोल्न सिकाए। यसमा नेता तथा दलभित्र लोकतान्त्रिक आचरण र व्यवहार लोप हुँदै गयो। अहिले बोलीमा लोकतान्त्रिक निष्ठा त झल्किन्छ र व्यवहारले आत्मसात् गरेका छैनन्। उनीहरूको यो सोच र व्यवहारले कार्यकर्तालाई फरक विचारप्रति असहिष्णु त बनायो। कालान्तरमा यतिले नपुगेर आपराधिक पृष्ठभूमिका व्यक्तिलाई आफ्नो दलमा कार्यकर्ता बनाएर भित्र्याउने प्रचलन पनि बढ्यो।

अधिकांश दलको नेतालाई सत्ता र शक्ति चाहिएको छ। यसको लागि उनीहरू जनमतमा मात्र विश्वास गर्दैनन्। अर्को अर्थमा भन्दा नेपालका राजनीतिज्ञ तथा नेताहरू इमानदार पूर्वक प्रकट भएका जनमत स्विकार्न तयार छैनन्। जसरी पनि परिणाम आफ्नो पक्षमा पार्नु छ। विधि मिचेर आफूलाई सत्ता र शक्ति तिनीहरूले दिलाउँछन्, जो विधिको शासनमा दोषी छन्। यही कारण सबै राजनीतिक दलले गुन्डागर्दीलाई प्रश्रय दिएका छन्।

हिजो जित्नैपर्ने अभिलाषाले गुन्डागर्दी गरेका थिए। तर कालान्तरमा माहौल यसरी बदलियो कि अब यो हरेक राजनीतिक दलको लागि बाध्यता हुँदै गएको छ। राजनीतिक दलले हरेक दिन खराब चरित्रका मान्छेको पृष्ठपोषण गर्दै आएका छन्। यसपालि रिगलको कैद मिनाहा गर्ने विषय सरकारको औपचारिक निर्णय भएर मात्र बढी विरोध र चर्चा भएको हो।

लोकतन्त्रको नाममा लोकतन्त्रलाई प्रदूषित गर्ने काम लोकतन्त्रको लागि लड्ने नेताहरूले नै गरे। उनीहरू आफ्नो गलत निर्णय र अभ्यासको दलदलमा फर्किन नसक्ने गरी भासिएका छन्। यस्तोमा राजनीतिलाई सङ्‍लो बनाउन जनताको विवेकको भूमिका अहम् हुन्छ। त्यसको लागि नागरिकले राजनीति विद्रुप दृश्यमा प्रतिकृया जनाएर मात्र पुग्दैन। हरेक राजनीतिक सहभागिता र निर्णयमा इमानदार हुनुपर्छ।

प्रकाशित: Nov 06, 2023| 10:15 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

ईभीको भाडा किन छैन सस्तो ?

ईभीको भाडा किन छैन सस्तो ?

वीरगञ्ज भन्सार कार्यालय हुँदै आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात बढी भएका छन्।
विपद् पीडितको चिन्ता- कसरी कटाउने जाडो ?

विपद् पीडितको चिन्ता- कसरी कटाउने जाडो ?

गत असोज दोस्रो साताको बाढी, पहिरोले घरबारविहीन अवस्थामा पुगेको काभ्रेपलाञ्चोकमा हजारौँ परिवार छन्। घरसहित परिवारका सदस्य गुमाएको पनि ७९ परिवार छन्। जो अढाइ महिनादेखि छिमेक...
वैकल्पिक पेसा खोज्दै जलारी युवा

वैकल्पिक पेसा खोज्दै जलारी युवा

अहिले फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब एक सय घरधुरी जलारी छन्। पोखरा महानगरले जलारी समुदायलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ। तोकिएको स्थानमा...
अपांगता अब सामाजिक मुद्दा

अपांगता अब सामाजिक मुद्दा

कुनै दिवस मनाउने कुरा दिवसमा मात्र सीमित हुनुहुन्न। यसभन्दा अगाडि उठान गरिएका अपांगताका सवालको व्यवस्थापन सम्बोधनको अवस्था कस्तो छ, त्यसमा समीक्षा हुनु जरुरी छ।