सुर्खेत- सल्यानको एक नगरपालिकालाई तत्काल नगरसभा सम्पन्न गर्न दबाब परेको छ। बनगाड कुपिन्डे नगरपालिकामाथि तत्काल नगरसभा गर्न दबाब परेको हो।
जनप्रतिनिधिको भागबन्डाका कारण गत असार १० गत नै सकिनुपर्ने नगरसभा अझै सम्पन्न हुन नसकेको भन्दै नेपाली कांग्रेस सल्यानले दबाब दिएको हो।
‘कर्मचारीको तलब र जनताको सामाजिक सुरक्षा नगरपालिकाले रोक्यो’, कांग्रेस सल्यानका उपसभापति निमबहादुर वलीले भने, ‘विकास रोक्ने र नगरसभा सम्पन्न गर्न नसक्ने जनप्रतिनिधिबिरुद्ध हामीले आवाज उठाएका हौँ।’
उसो त जनप्रतिनिधिहरुकै कारण नगरसभा अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ। एक जना वडाध्यक्षबाहेक सबै पदमा नेकपाका जनप्रतिनिधिरहेको नगरपालिकामा पार्टीभित्रकै दुई गुटको लडाइँ जारी छ। नगरभित्रका ठूलो योजनामा एकले अर्कोलाई भ्रष्टचारी आरोप लगाउँदै आएका छन्।
नगरका बहुमत सदस्यले अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माणका कार्यक्रमको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेपछि नगरसभा सम्पन्न हुन नसकेको हो। नगरप्रमुख गोविन्दकुमार पुनले ठूला आयोजनामा भ्रष्टाचार गरेर विकास योजनाको खर्चविवरण पेस गर्न नसकेको उपप्रमुख मञ्जु ऐरी बताउँछिन्।
नगर प्रमुख पुनले भने अनुगमन संयोजक ऐरी नै भएको कारण आफूले नभई उपप्रमुखले नै भ्रष्टाचार गरेको आरोप लगाउँछन्।
नगरसभा सम्पन्न नभएपछि विगत ५ महिनादेखि १ सय २ जना शिक्षक, २ सय ८५ जना कर्मचारी र २ हजार ९ सय ७३ जना नागरिकले सामाजिक सुरक्षाबाट वञ्चित भएका छन्। दसैंतिहारजस्ता ठूला चाडपर्वमै तलब नपाएपछि गएको कात्तिक २६ गते नगरका शिक्षकसमेत आन्दोलित भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४