काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको एक साता नबित्दै नेतृत्वबीच विवाद हुँदा विभाजनको संघारमा पुगेको छ।
राजपा नेपाल अध्यक्ष मण्डलको मंसिर ४ गते बसेको बैठकले बहुमतका आधारमा महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक बनाउने निर्णय गरेको थियो। ठाकुर विगत १८ महिनादेखि संयोजक थिए।
पार्टी विधानअनुसार हरेक निर्णय सहमतिका आधारमा हुनुपर्ने भन्दै राजपा उपाध्यक्ष वृशेषचन्द्र लाल र केन्द्रीय सदस्य सुरेन्द्र झाले निर्णय सच्याउन दबाब दिएका छन्।
मंगलबार भएको अध्यक्ष मण्डलको बैठकमा संयोजक परिवर्तन गर्ने निर्णयमा अध्यक्ष मण्डलका सदस्य अनिल झाले असहमति जनाएका थिए। उनले आगामी महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मानेर जानुपर्ने अडान राखेका थिए।
बैठकले गरेको निर्णयअनुसार मंसिर ५ गते अध्यक्ष मण्डलको संयोजक भएका महतोको पदभार ग्रहण कार्यक्रममा अनिल झा भने उपस्थित थिए। तर, ठाकुर राजपा अध्यक्ष मण्डलको संयोजक हुनुअघि उनले नेतृत्व गेको राजापाका नेताले संयोजक परिवर्तन गर्ने निर्णय कार्यान्वयन नभए पार्टी फुटाउने धम्की दिइरहेका छन्। स्रोतका अनुसार पुरानो तमलोपाको केन्द्रीय कार्यालय बिजुलीबजारमा लालको नेतृत्वमा दिनहुँजसो भेला भइरहेको छ। अध्यक्ष मण्डलका संयोजक महतोले भने आफू पार्टीको विधानबमोजिम नै संयोजक भएको दाबी गरेका छन्।
पूर्वतमलोपाका कार्यकर्ता र नेताको बृहत् भेला सोमबार ११ बजे आयोजना बिजुलीबजारमा गर्ने तयारी थियो। तर, अध्यक्ष मण्डलको बैठक सोमबार दिउँसो १ बजेदेखि राखेपछि अन्तिम समयमा आएर स्थगित भएको थियो। अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव राजधानीबाहिर भएकाले अध्यक्ष मण्डलको बैठक पनि बस्न सकेन। अर्को बैठक आपसी सल्लाह गरेर तय गरिने संयोजक राजेन्द्र महतोले जानकारी दिए।
राजपा अध्यक्ष मण्डलका पूर्वसंयोजक ठाकुर भने महतोलाई संयोजक हस्तान्तरण गर्नुभन्दा आफूले गरेका निर्णय उल्टाएकोमा बढी असन्तुष्ट छन्।
मंगलबारको बैठकमा महेन्द्र राय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादवले महतोलाई ६ वटा पार्टी एकीकरण हुँदाको समयमा भएको सहमतिअनुसार चक्रीय प्रणालीबमोजिम अध्यक्ष मण्डलको संयोजक तोकिनु उपयुक्त हुने धारणा राखेका थिए।
यसकारण चिढिए ठाकुर
६ वटा मधेस केन्द्रित दल तराईमधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भवाना पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बीच गत वैशाख ७ गते एकीकरण भएको थियो।
पार्टी एकता हुँदा प्रत्येक २ महिना अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने र एक वर्षमा महाधिवेशन गर्ने सहमति भएको थियो। तर अध्यक्ष मण्डलका संयोजक ठाकुर १८ महिना बितिसक्दासम्म नेतृत्व हस्तान्तरण गर्न सकेनन् भने महाधिवेशनको तयारी पनि भएन।
पछिल्लो समय ठाकुरले आफ्ना पुरानो तमलोपाका कार्यकर्ताले राजपा छाडेपछि दसैंअघि र पछि चारजनालाई महासचिव र तीन जनालाई सहमहासचिवमा मनोनीत गरेपछि अध्यक्ष मण्डलका अन्य सदस्यहरू क्रुद्ध बनेका थिए। अध्यक्ष ठाकुरले वीरगन्जका शशीकपुर मियाँ र पुरुषोत्तम झालाई महामन्त्री बनाएका थिए।
महामन्त्रीमा नियुक्त भएका दुवैजना गत स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकामा मेयर उम्मेदवार भएका राजपा महामन्त्री परित्याग गरेका बिमल श्रीवास्तव निकट हुन्। महामन्त्री मनोनीत मियाँ फोरमका जिल्ला अध्यक्ष थिए भने झा सचिव थिए। मधेसी जनअधिकार फोरम फुटेपछि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेका मियाँ र झा केही समयपछि फोरम गणतान्त्रिकमा प्रवेश गरी पुनः संघीय समाजवादी फोरममा फर्किएका थिए।
राजपा अध्यक्ष ठाकुरले चाडपर्वको मौकामा मनोनीत गरेका विनोद सिंह पूर्वकर्मचारी हुन्, जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अनुसन्धान गरिरहेको छ। अध्यक्ष ठाकुरले जयप्रकाश ठाकुरलाई पनि महामन्त्री बनाएका थिए।
ठाकुरले अध्यक्ष मण्डलको संयोजकका हैसितयले सहमहामन्त्रीमा नियुक्त गरेका जनकपुरका परमेश्वर साह र अरविन्द साह तथा सप्तरीका कुमारदास मिश्रको पदीय हैसियत पनि समाप्त भएको छ। तीनै जना राजापा गठन हुनुअघि ठाकुरले नेतृत्व गरेको तमलोपाका नेता हुन्।
पार्टी एकीकरणपछि तमलोपा पृष्ठभूमि भएका राजपाका सहअध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री विमल श्रीवास्तव, महामन्त्री जंगीलाल राय, बृजेशकुमार गुप्ता, ईश्वरदायल मिश्र, पशुपतिदयाल मिश्रलगायतले पार्टी परित्याग गरेका थिए।
अहिले राजपा अध्यक्ष मण्डलले गरेको निर्णय नसच्याएमा पार्टी विभाजन गर्ने चेतावनी दिने लाललाई गत प्रतिनिधिसभा निर्वाचनमा महतोलाई असहयोग गरेको आरोप लागेको छ। सुरेन्द्र झा भने २ नम्बर प्रदेशको नीति आयोगका सदस्य पनि हुन्।
अध्यक्ष मण्डलको संयोजक हुँदा अध्यक्ष ठाकुरले समानुपातिकका उम्मेदवार चयन गर्दा र सांसद छनौट गर्दा २ नम्बर प्रदेशमा संसदीय दलको नेता र मन्त्री तथा राज्यमन्त्री चयन गर्दा पुराना तमलोपाका कार्यकर्तालाई मात्र राखेको भन्दै असन्तुष्ट जनाउँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४