रुपन्देही- पहाडी जिल्लामा उत्पादित खाद्य पदार्थ रुपन्देही मणिग्रामका ग्राहकको मन जित्न सफल भएका छन्। कुराउनी, सेलरोटी, गाभाको पकौंडा र गुल्मीको सुन्तलाले मणिग्राममा सञ्चालित तिलोत्तमा औद्योगिक व्यापार मेला, कृर्षि तथा पर्यटन महोत्सव २०७५ अवलोकन गर्न आउने दर्शकको मन जितेका हुन्।
‘तिलोत्तमा नगर कृषिमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ महोत्सवभित्रको कृषि तथा हर्बल प्रदर्शनी स्थलको स्टल नं २८० र २८१ मा मगर दिदीबहिनीले बनाएको कोदोको सेलरोटी सबैभन्दा बढीको रोजाइमा परेको छ। यसैगरी २८८ नम्बरको गुल्मेली सुन्तला, स्टल नम्बर ३०६ र ३०७ को कुराउनी र खीरले धेरैलाई तानेको देखिन्छ। स्टल नम्बर २८६ को टिमुरको छोपमा महोत्सवमा गएका जोकोही पुग्छन्।
कृषि तथा हर्बल व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद भुसालले महोत्सव पहाड र तराईका स्थानीय उत्पादनहरुको संगम स्थल बनेको दाबी गरे। उनले भने, ‘महोत्सवमा कृषि र हर्बलका उत्पादनलाई दर्शकले मन पराएका छन्।’ पहाडको कोदोको पिठो, फापरको पिठो, अचार, मोही राखिएको महोत्सवमा सखिया होमस्टेमार्फत घोंगी र गंगटा पनि राखिएको छ।
यसैबीच सोमबार महोत्सव सचिवालयमा उपभोक्ता सचेतनासम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न भएको छ। नेपाल सरकार वाणिज्य मन्त्रालय उपभोक्ता हित संरक्षण विभागका निर्देशक भगवानलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका उद्योग वाणिज्य मन्त्री लिला गिरीले व्यपारीले उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यापार गर्नुपर्ने बताए।
तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले उत्पादक, उपभोक्ता र विक्रेता सबै सचेत भएान समस्या नहुने बताए। उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारयणप्रसाद भण्डारीले निजी क्षेत्रले गलतलाई गलत र राम्रोलाई राम्रो भनेर अगाडि बढ्ने बताए।
कार्यक्रममा उपभोक्ता हित संरक्षण ऐन २०५४ विस्थापित भएको र २०७५ को नियमावली र ऐन नबनेको अवस्थामा बजार अनुगमनमा समस्या भइरहेको अधिकारकर्मीले बताएका थिए।
कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्बु लामा, वाणिज्य कार्यालयका प्रमुख वेदप्रकाश उपाध्याय, महोत्सव मूल आयोजक समिति संयोजक सत्यव्रत ज्ञवाली, निर्देशन समिति संयोजक जेपी कँडेल, खिमबहादुर खत्री, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डेलगायतले उपभोक्ता हित संरक्षण ऐन २०७५ जनतामूखी हुनुपर्ने र त्यसलाई कार्यान्वयन तहमा पुराउन सबैको भूमिका जरुरी रहेको बताए।
उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष नर्बु लामा, वाणिज्य मन्त्रालयका अधिकृतद्वय हरिप्रसाद दाहाल र रमेशप्रसाद रिजालले कार्यपत्र प्रस्तुत गरेको महोत्सव सचिवालय संयोजक अनिल ज्ञवालीले जानकारी दिए। मंसिर ६ गते मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरको महोत्सव १८ गते सम्म चल्नेछ। महोत्सव अवलोकन गर्न ३५ हजार दर्शक आइसकेको आयोजकले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४