जिरो शब्द अचम्मको छ। अंकको पछाडि थपिँदा यो मूल्यवान हुन जान्छ अनि कसैलाई कमजोर देखाउन यो सम्बोधन बनिदिन्छ। जिरो शोधको विषय पनि हो।
जिरो अथवा शून्य भन्नु शब्दको फेर न हो, यसको अर्थलाई अनर्थ बनाउने खेल यिनै अक्षरका खेलाडीहरुले गरेका हुन्। तर त्यही जिरो शब्दको ‘हन्टर’ले मलाई धेरै ‘कोर्रा’ हानिसकेको छ।
सानो छँदा स्कुलमा सरहरुले सानो केही नआउँदा होस् अथवा ‘स्लो लर्न' गर्दा होस् ‘भ्याल्यू जिरो’को ठप्पा लगाइदिहाल्थे। यी ठप्पाहरुले दोहोर्याएर सोध्ने आँट स्कुले जीवनकालसम्म गर्न सकिएन। अझ भनौं, आजसम्म गर्न सकिएन।
नजान्नेको ‘बोली’ माथि अघोषित ‘कर्फ्यू’ नै लागू हुन्थ्यो। हाम्रो बोल्ने प्रतिभाको विकास त के गर्थ्यो र ! स्कुलले अझ बोल्यो कि चुट्यो भन्ने परिपाटीको विकास भइसकेको थियो। यसरी हाम्रो बोलीलाई कुण्ठित बनाइरहँदा कुनै पनि त्यस्तो ‘महान’ शिक्षक–शिक्षिका भएनन् जो हाम्रो नफुटेको बोलीमाथिको प्रतिबन्ध हटाउन अघि सर्थे। र यसरी हामी बोल्न नै जानेनौं।
अहिले सोच्छु, मभित्र यस्ता धेरै कुरा छन् जो सम्भवतः मञ्चमा अथवा मासमा बोले भने, ठूलो फिलोसफर, बोल्ड नेतृ, सफल समाजसेवी, प्रखर समीक्षक अथवा अरु कुन्नि के–केमा ठूलै नाम दरिन सक्छ। तर सानैमा बोलीमाथि यसरी हिटलरी प्रवृत्ति हावी भयो कि आफैंले बोलेको स्वर पनि कानले सुन्ला कि भन्ने त्रासदी यथावत् छ।
यसरी फक्रिन आँटेको एक कोपिला अनाहकमै निमोठिएको थियो, जसको पीडा बिर्सनै नसक्ने गरी दुखिरहन्छ। हामी (ममात्रै कहाँ थिए र मजस्ता थुप्रै थिए, जसको नाम कण्ठ छ मलाई) जो जीवनभर फक्रिन सकेनौं। आफ्नै प्रतिभामाथि शंका लागिरह्यो। हामीले आफ्नै प्रतिभाको ‘जात्रा’ निस्केको पनि देखेका छौं। तर बोल्नै नजानेपछि लड्ने कसरी भन्ने पनि कसले सिकाइ देओस्? हो, यसरी भएको छ हाम्रो ‘स्कुलिङ’।
मेरो प्रतिभाको कदर गरिदेउ न हे बैरी हो ! कस्तो कृपन्न मानसिकता हो तिमीहरुको ? के पहुँच र चलाख हुनेहरुको मात्रै हो यो संसार ? भनेर भीख माग्नु पर्ने अवस्था जीवनको हरेक मोडमा आइपर्छ। तर ‘अहम’ कस्तो छ भने भीख मागेर त केही पनि प्राप्त गर्नु छैन बरु बेनाम बसुँला। यसै पनि कसले नै पो चिनेको छ र ?
हो, यस्तै–यस्तै विचारले घेर्छ, घेरिरहन्छ। हाम्रो स्कुलिङ नै त्यस्तै भएको छ। अरुले मलाई हेर्ने दृष्टिकोण र मैले अरुलाई हेर्ने दृष्टिकोण दुबैको अर्थ हुन्छ। आफूलाई मात्रै हेर्नेहरुको दृष्टिकोणलाई परिभाषित गरेर जीवन बाँच्न खोज्यो भने त्यो बाँच्न लायकको पनि कहाँ रहन जान्छ र ? त्यो तवान मात्रको आत्मकथा हुनजान्छ। किनभने यहाँ हरेकको दृष्टिसँगै हामी परिभाषित भइरहेका हुन्छौं। त्यही भएर ती हेर्ने सबैलाई तिम्रो अगाडि उभिएको व्यक्तिको पनि दृष्टि छ है, उसले पनि तिम्रो एक्सरे गर्न सक्छ भन्ने हेक्का होस्।
हेराइ कहिल्यै एकतर्फी हुँदैन, एकतर्फी बटुवाको हकमा मात्रै लागू हुन्छ। आफूलाई हिरो ठान्नेहरुले के स्मरण राख्नुपर्छ भने बाँकी सबैले आफूलाई कसरी हेरिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो। त्यसैले पनि हिरो हुनु, हिरो कहलिनु र हिरो पल्टिनुको भेद मलाई राम्ररी थाहा छ। अझ सानैदेखि थाहा छ। मलाई केही पल्टिनु पनि थिएन, कहलिनु पनि थिएन यी मान्यताहरुले मेरो केही बिगार्न सकेनन्, अझ जब्बर भएर उभिन सिकायो।
मेरो करियरको शुरुवातको तेस्रो इनिङ हो। र हरेक पटक जिरोबाट शुरु भए झैं लाग्छ। तर म गलेको छैन। उतार–चढावका अनेक कारण छन्, ती कारणहरु पनि आफ्नै जीवनको पाटो हो जसलाई काटेर फ्याल्न सकिन्न। त्यै भएर पनि हेरक ‘पारी’ खेल्न मन लाग्छ।
हो, म हरेक पटक शून्यमा झरेँ र शून्यबाट शुरु भएँ। तर उठ्न छोडिनँ। एउटी महिलाले लिने अनेक विश्रामहरु मैले लिएँ, त्यो चाहे प्रजनन् विश्राम होस् वा परिवारमा परेको बेला मेरो भौतिक उपस्थितिको विश्राम। मैले हरेक पटक आफ्नो प्राथमिकता आफैंले तय गरेँ। त्यही भएर पनि शून्यमाथि सवार भएर यात्रा गरिरहनु मेरो स्वयंको निर्णय थियो।
तर यसबीच मेरो उमेरको पडावले बेला–बेला मलाई सचेत र महत्वाकांक्षी हुन नघच्घच्याएको होइन तर मैले आफ्नै अविवेकी उमेरले सही तर हरेक पटक उचित निर्णय लिएकोमा मलाई सन्तोष छ। र यी सबैका बाबजुद मैले आफैंलाई निर्माण गर्न छोडिनँ।
यी अनेक उहापोहबाट मैले एउटा ज्ञान के पनि प्राप्त गरेँ भने, मैले सुरुवातमा कामप्रति गरेको लगानीले मलाई सधैं प्रतिफल दिइरह्यो। मैले जति लामो अन्तरालपछि आफ्नो कार्य सुरु गरे पनि त्यो उस्तै ओजका साथ आउँथ्यो। मैले काम गर्ने थलोहरु कमसल वा उच्चकोटीको पाए हुँला तर मैले गर्ने कम सधैं स्तरीय रहे। हो, म लहडमा वा प्रथम हुने लोभमा दौडिनँ कहिल्यै। तर गरेको कममा सतप्रतिशत दिने प्रयत्न चाहिँ हरेक पटक गरेको छु। कार्यस्थलमै पनि मलाई अनेक लाञ्छना लगाइयो र मैले सफाइ दिन नसकेको अनेक घटनाहरु छन् तर मेरो इश्वर साक्षी छ, काममा मैले गर्नेै नहुने ‘अपराध बोध’ हुने काम कहिल्यै गरिनँ। शून्य–सारथीका पनि दुस्मन हुन्छन्, कोही हुन्छन् नि माथि उठ्नै नदिने गरी प्रपञ्च रहनेहरु। मेरो पनि त्यस्ता प्रपञ्चेहरुसँग साक्षातकार भइरहन्छ। राजनीति नभएको ठाउँ कहाँ छ र ?
मलाई यत्ति थाहा छ, म आफ्नै हुनरको सिकन्दर हुँ, कसैले बनाई दिएर बन्ने मूर्ति वा हिरो होइन। मलाई मेरो परिधि नापिदिने अमिन न त्यतिबेला चाहिएको थियो न यतिबेला चाहिएको छ।
स्कुलले बोली र सिक्ने उत्साहलाई निमाेठिदियो भने कार्यस्थलमा बोल्नेको चामल बिक्यो, बटर दल्नेहरुको तलब र पद बढ्यो, सत्य यति हो। सबैसँग सबै कला हुँदैन नै, मसँग बोल्ने कला छैन। बोलेर रिझाउने कुरा त झन् मेरो मेन्युमा नै पर्दैन। म अल्पभाषी हुँ तर मन मिल्नेसँग फेरि दुनियाँदारी कुरा हुन्छ। र खेद यति छ प्रतिभाको कदर हुने थोरै ठाउँमा मेरो पहुँच हुन सकेन।
र फेरि दोहोर्याएँ, मैले आफूलाई एकलव्यलाई जस्तै बनाउन छोडेको छैन। कसैले निर्माण गरिदिनु र आफैंले बन्नु ‘सेल्फ–मेड’ मा ठूलो अन्तर हुन्छ। बन्ने क्रम जीवनभर नै जारी रहला सायद किनभने मेरो ‘स्कुलिङ’ नै त्यस्तै भएको छ। तर जीवनको अन्तिम प्रहरमा म त निर्माण भएको ‘वस्तु’ मात्र रहेछु भन्ने पछुतो नरहोस्।
उमेरको पहाड उक्लिँदै गर्दा व्यक्तित्व निर्माणको पक्ष भने शैशव कालतिर धकेलिँदै गएको आभाष हुन्छ बेला–बेला। २०५८–०५९ सालतिर भविष्य निर्माणमा एक पाइला चालेकी थिएँ। त्यो चलाई नियोजित पक्कै थिएन। पत्रिकामा आफ्नो नाम छापिने रहर एउटा नवलेखक वा कवि अथवा कुनै कलाकारलाई सोध्नुस्। त्यो भाव शब्दातित छ।
स्कुलमा कविता कोर्थें तर न पाठक थिए न श्रोता। न माहौल थियो न महफिल। अझ विद्यालयहरु पनि त्यतिबेला क्लास–मोनिटर बाहेकलाई भाउ नै कहाँ दिइन्थ्यो र। शिक्षकहरुले पनि १ देखि २० रोल नम्बरलाई नै रोलक्रममा राख्थे। जसमा आफू कहिल्यै परिएन। नपरिएको अपराधबोध जीवनभर रहने भयो, किनभने मेरो अभिभावकको दुःख मानाउ पनि सधैं यत्तिमै केन्द्रित रह्यो। टोलभरिका फलाना र ढिस्कानाका छोराछोरी त्यहि सरकारीमा पढेर डाक्टर–इन्जिनियर जो भएका थिए। र यसरी आफ्नो ‘भ्याल्यू जिरो’ को एउटा प्रमाण पेश गरेँ।
त्यही भएर होला, सानैदेखि गुरु शब्दप्रति कहिल्यै लगाव भएन। तर कति यस्ता शिक्षक पनि छन् जसले एउटा नश्ललाई नै देशको लागि तयार गरिदिएका छन्। जो मेरो हकमा लागू भएन। आजको परिदृष्य पनि खासै फेरिएको छैन। म मेरो साना छोरीहरुको शिक्षकहरुलाई पनि त्यहि ‘भ्याल्यु’मा राखेकी छु, जति उनीहरुले मेरो बच्चाको भ्याल्यु गरिदिएका छन्। किनभने उनीहरुभित्रको सम्भावना मैले महसुस गरेकी छु तर ‘जागिरे’ शिक्षकहरुले त्यो कुरा महसुस गर्न सक्दैनन्। महसुस गर्नु पनि सबैको ल्याकतको कुरा होइन, यसको लागि विशेष अवस्थामा पुग्नुपर्छ। सधैं आफ्नै बच्चा खराब र कमजोर छ भन्ने आम मानसिकताबाट हामी कहिले बाहिर निस्किने ?
बलिउडका चलचित्र निर्देशक प्रकाश झा भन्छन्, ‘मानवको सम्पूर्ण जीवन नै व्यापार हो।’ हो रहेछ। यिनै व्यापारीहरुले सानैदेखि हामीमा हिरो र जिरोको ‘रेस’ गराइरहेका छन्। एउटा अज्ञात प्रतिस्पर्धा, जसले मलाई सकस हुन्थ्यो। म सम्झिन्छु, मेरो स्कुलीय जीवनका ती ‘हिरो क्लासमेटहरु’ जो कहिल्यै साथी हुन सकेनन्। खोइ कहाँ गुमनाम छन् मेरा शिक्षकका ती हिरोहरु ? शिक्षकहरु भेटे सोध्थे होला। तर सुन्छु प्रायः दिवंगत भइसके। मेरो आत्मिक संवेदना !
स्कुलमै छँदा एउटा सम्भावना यी अदनामा पनि थियो, भावलाई कागजमा कोर्ने। ती कागजका टुक्राहरु जनकपुरको कन्या विद्यालयको कक्षाभरिको फर्समाथि नाउ भएर बगिरहेको दृश्य अझै जीवन्त छन् यो हृदयमा।
यो कवि हृदयले स्कुलमा आफूले लेखेको कविताहरु हिरो–हिरोइनको पोष्टकार्डमा लेखेर दशैं–तिहार र नयाँ वर्षहरुमा बडो उत्साहका साथ साथीहरुमा बाँड्थे। तर प्रायः नाच्ने भीड भएका साथीहरुमाझ मभित्रको कवि मभित्रै मरेको थियो। यद्यपि साहित्य सधैं मेरो पहिलो प्रेम रह्यो, म आज पनि आफ्नो रचनाहरुलाई उत्तिकै प्रेम गर्छु जसरी पहिलो पटक लेखेको कवितासँग लहसिएको थिएँ।
आज पनि आफ्नो विद्यालयको भवन हेर्दा नोस्टाल्जिक हुन्छु र सम्झिन्छु, एउटा भलिबल प्लेयर हुन सक्ने सम्भावनाले कसरी त्यो ग्राउण्डमा मृत्युवरण गरेको थियो। आज पनि बाटो हिँड्दा कुनै बल मतर्फ अकस्मात आउँदा पनि तरिका मिलाएरै फर्काउँछु र खेल्ने छटपटीले बिथोलिन्छु। स्कुलमा हुने भलिबल र दौडहरुमा सधैं अग्रणी र राम्रो सम्भावना भएको खेलाडी रहे पनि मेरो परिवेशले मलाई केही पनि त हुन दिएन, बाहेक शून्यको।
फेरि आफ्नै साथीभाइ, आफूले आदर्श मानेका व्यक्तित्वहरुले पनि थोरै कमजोर देखिँदा पूरै नखरा गर्ने प्रवृत्ति गजबको छ। र अलिकति मासमा देखिनुस् अझ चम्किनुस् र हेर्नुस् सबैको रबैया कसरी फेरिन्छ। शक्तिको पूजा गर्ने परम्परामा सधैं चोखो मानिन्छ हाम्रोतिर, तपाईंहरुको तिर कस्तो छ ?