झापा- झापाको शिवसताक्षी नगरपालिका–७ लाल्झोडामा आगलागीमा परि एकै परिवारका ४ जनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला लक्ष्मण खनालको घरमा अचानक आगलागी हुँदा उनीसहित उनका परिवारका ४ सदस्यको जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आगलागीमा परि ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनालको जलेर मृत्यु भएको छ । आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ।
परिवारकको सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आइतबार राति ९ बजेतिर घरमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको र त्यहि विस्फोटसँगै सुतिरहेका ब्यक्तिहरुको मृत्यु भएको हो ।
आगो नियन्त्रणमा लिन लामो समय लागेको थियो । विभिन्न नगरपालिकाबाट आएको दमकल प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजेतिर आगो निन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४