शनिबार, साउन ९, २०८३

कांग्रेसमा भयानक स्खलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
२८ मंसिरदेखि ०३ पुससम्म नेपाली कांग्रेसको महासमिति बैठक बस्दैछ । पहिला ५-९ मंसिरको मिति तोकिएको थियो । भनियो, विधान मस्यौदाको काम नसकिएकाले सार्नुपर्ने भयो । कांग्रेसको १३ औं महाधिवेशनपछि एउटै महासमिति बैठक बसेको छैन र यो बैठक पनि नियमित नभएर असन्तुष्टहरूको चरम दबाबका कारण बस्दैछ । 

१३ औं महाधिवेशनपछि अहिलेसम्म त्रिशूलीमा धेरै पानी बगिसकेको छ । मेची र महाकालीबीचको यो भूभागमा ठूलो राजनीतिक उलटफेर भएको छ । स्थानीय, प्रदेश र केन्द्र तीनै तहमा कांग्रेसको उपस्थिति कुनातिर धकेलिएको छ । तीनै तहमा कम्युनिस्टहरूको वर्चस्व स्थापित भएको छ । देशका सातमध्ये, सर्वविदित छ- एउटै प्रदेशमा पनि कांग्रेसको सरकार त छैन नै, प्रतिपक्षका रूपमा यसको भूमिकासमेत अत्यन्त निम्सरो छ । फलस्वरूप, नेपाल कम्युनिस्ट पार्टीका दुईमध्ये एक अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले कांग्रेस आफ्नो प्रतिस्पर्धी नभएर ‘सहयोगी दल’ हो भन्नसम्म भ्याएका छन् । 

ओली जो कुनै बेला कांग्रेस नजिकका एमाले नेता मानिन्थे, उनका लागि अचेल कांग्रेस व्यंग्यको विषय बनेको छ । धेरैले उनका व्यंग्यवाणलाई अहंकार चढेको ठान्छन् र यसमा आंशिक सत्यता निश्चय नै छ । तर उनका व्यंग्यमा कांग्रेसप्रति इख पनि मिसिएको छ । त्यो इख के हो भन्ने थाहा पाउनका लागि फ्ल्यास ब्याकमा जानुपर्छ । दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस पहिलो दलका रूपमा (पुनः) प्रतिष्ठित बन्यो र एमाले दोस्रो । हाल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्डको तत्कालीन एकीकृत माओवादी नराम्रोसित तेस्रो स्थानमा पुगेको थियो । 

त्यतिखेर ओली कांग्रेस र एमाले मिलेर संविधान ल्याउनुपर्ने र कांग्रेसलाई नै सरकारको नेतृत्व दिनुपर्ने मान्यतामा अडिग थिए । साँच्चै भन्नुपर्दा कतिपय कांग्रेसी नेताभन्दा पनि बढी सक्रिय थिए । संविधान जारी गरुन्जेल तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहने, त्यसपछि तत्कालीन एमाले अध्यक्ष प्रधानमन्त्री बन्ने भद्र सहमतिअन्तर्गत त्यो लेनदेन भएको थियो । कोइराला प्रधानमन्त्री बने, उनकै नेतृत्वमा संविधान आयो । तर जब नेतृत्व हस्तान्तरणको समय आयो कांग्रेस आफ्नो बाचाबाट पछि फर्कियो, कोइराला आफैंले पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दिए । ओलीले प्रचण्डको सहयोग लिए । निर्वाचित भए, प्रधानमन्त्री बने । 
 

सर्वप्रथम, आफ्ना अग्रजहरूले कसरी, कुन हेतुले यो पार्टी स्थापना गरेका थिए ? महासमिति सदस्यहरूले इमानदारीपूर्वक त्यसको स्मरण गर्नुपर्नेछ । सिद्धान्तबारे प्रवचन र व्याख्यानले मात्र पार्टी र नेतृत्वको छवि बन्दैन, आफ्नो व्यवहारमाथि प्रशस्तै ध्यान पुर्‍याउनुपर्छ । 


जानिफकारहरू भन्छन्, कांग्रेसको ओरालो त्यहींबाट प्रारम्भ भयो । निश्चय नै राजनीतिमा ठूलै धोकाधडी चल्ने गरे पनि न्यूनतम नै सही नैतिकताको पालनाचाहिँ भएकै हुनुपर्छ । ओलीले त्यस प्रकरणलाई आफूमाथि कांग्रेसबाट विश्वासघात भएको रूपमा लिए र लिनु स्वाभाविक थियो । उनले त्यसलाई इखका रूपमा आफ्नो मनमा सञ्चय गरेर राखे । पहिलोपलिको प्रधानमन्त्रीका रूपमा ओली पनि अहिलेजस्तो अलोकप्रिय हुँदै गएका थिएनन् । अर्थात् उनले लोकप्रियताको भर्‍याङ पाएका थिए । त्यसो हुनामा भारतीय नाकाबन्दीको विशिष्ट भूमिका थियो । 

नाकाबन्दी नहटी भारत जान्न भने, गएनन् । नाकाबन्दी हटेपछि मात्र गए । भारत लगत्तै उनी चीन गए । समुद्रसम्म भारतका अतिरिक्त अर्को मार्गप्रशस्त गर्ने अर्थात् चीनसँग यातायात पारवहन सम्झौता गरे । फलस्वरूप उनको लोकप्रियताको पारो उक्लिँदै थियो, कांग्रेस पहिलो दल हुँदाहुँदै पनि अलमल-अलमलमै थियो । 

कांग्रेसले न त्यतिखेर नाकाबन्दीको खुलेर विरोध गर्‍यो, न त कुनै दृष्टिकोण नै बनायो । ऊ ओलीका गतिविधिको मूकदर्शक बन्यो । त्यसैबीच, सुशील कोइरालाको निधन र त्यसलगत्तै १३ औं महाधिवेशन भयो, कांग्रेसभित्रको आन्तरिक सत्ता समीकरणमा बदलाव आयो । शेरबहादुर देउवा सभापति निर्वाचित भए । त्यसपछि देउवा र प्रचण्डको सघन हिमचिम प्रारम्भ भयो । प्रचण्डले ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिए । ओली हटाइए । देउवा र प्रचण्डको आलोपालो समझदारीअन्तर्गत प्रचण्ड प्रधानमन्त्री बने । कांग्रेस-माओवादी मिलेर सरकार बनाए । यस परिघटनाका कारण कांग्रेसको सिद्धान्तनिष्ठ पंक्ति निष्क्रिय बन्यो । बरु उसको सहानुभूति ओलीतर्फ गयो । 



प्रचण्डपछि देउवाको प्रधानमन्त्री बन्ने पालो निश्चितै थियो र बने पनि । उनले प्रचण्ड प्रधानमन्त्री छँदै माओवादीसित स्थानीय तहको निर्वाचनमा कतै घोषित, कतै अघोषित तालमेल गरेका थिए । प्रचण्डसँग मिलेर सरकार बनाउनु नै घातक थियो, त्यसमाथि चुनावी तालमेल आत्मघाती नै बन्न पुग्यो । कतिपय स्थानमा कांग्रेसजनलाई हँसिया हथौडामा भोट हाल्न उर्दी जारी भयो । 

त्यसमा पनि सबैभन्दा घातकचाहिँ भरतपुर उपमहानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाललाई नगर प्रमुख (मेयर) की उम्मेदवार बनाइयो, कांग्रेस उम्मेदवारलाई फिर्ता बोलाइयो । स्वयं तत्कालीन प्रधानमन्त्री देउवाले रेणु दाहालका लागि भोट मागे । त्यसबाट निष्ठावान कांग्रेसपंक्ति झन् नराम्ररी बिच्कियो । 

स्थानीय तहको निर्वाचनको तेस्रो चरणकै क्रममा भित्रभित्रै तर तत्कालीन एमाले र माओवादीबीच भाबी तालमेलको रूपरेखा बन्न सुरु भइसकेको थियो । आधिकारिक कांग्रेसले यसको सुइँकोसम्म पाउन सकेको थिएन (जो जसले पाएका थिए तिनका सूचना पत्याइएन) । अर्थात् एमाले-माओवादी स्थानीय तहको निर्वाचनको तेस्रो चरणमै भित्रभित्रै सहकार्य गर्न थालिसकेका थिए । 

यद्यपि एमाले र माओवादीबीच सहकार्य र एकताका निम्ति वामदेव गौतम धेरै पहिलेदेखि लागिपरिरहेकै थिए तर त्यस्तो समीकरणसँग ओली कहिल्यै सहमत हुँदैनथे, त्यसपालि भने उनी कांग्रेससँग औधी नै इखिएका कारण गौतमको ‘थेसिस’ नजिक पुग्न गए । फलस्वरूप, दुवै दल पार्टी एकता गर्ने बाचासहित केन्द्र र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निष्कर्षमा पुगे (त्यतिखेर माओवादीबाट फुटेर नयाँ शक्ति पार्टी बनाएका बाबुराम भट्टराई पनि मञ्चमा मुड्की उचाल्न नपुगेका होइनन् तर त्यहाँ उनी टिक्न सकेनन् । गठबन्धनबाट भागे) ।

एमाले माओवादी एउटै घोषणापत्रमा केन्द्र र प्रदेशको चुनावमा गए । परिणाम भनिरहनु परोइन, उनीहरू दुई तिहाइ पुगनपुग पुगे । कांग्रेसले केन्द्र त गुमायो नै, सातै प्रदेशमा समेत कुनातिर धकेलियो । भन्न खोजेको यहाँ पक्कै प्रस्ट भयो, राजनीतिमा, यदि सिद्धान्तमा विचलन आयो भने रणनीतिक गल्ती स्वतः हुँदै जान्छ । कांग्रेसको डरलाग्दो रणनीतिक गल्ती त्यसैको परिणाम हो । 
त्यसैले यही मंसिरको अन्तिम सात प्रारम्भ हुन गइरहेको महासमिति बैठकमा पहिला त कांग्रेसजनले कांग्रेस के हो भन्ने टुंगो लगाउनुपर्छ । 

सुशील कोइरालाले ओलीसँग गरेको भद्र सहमति तोडेपछि प्रारम्भ भएको पतनको शृंखलाका साक्षी कांग्रेसजन आफैं छन् ।


सत्ताका लागि जहाँ जोसित पनि घाँटी जोड्ने प्रवृत्तिले यसको सिद्धान्तनिष्ठतामा भयानक स्खलन आएको छ । त्यसैले सर्वप्रथम, आफ्ना अग्रजहरूले कसरी, कुन हेतुले यो पार्टीको स्थापना गरेका थिए, महासमिति सदस्यहरूले इमानदारीपूर्वक त्यसको स्मरण गर्नुपर्नेछ । सिद्धान्तबारे प्रवचन र व्याख्यानले मात्र पार्टी र नेतृत्वको छवि बन्दैन, आफ्नो व्यवहारमाथि प्रशस्तै ध्यान पुर्‍याउनुपर्छ ।
 
साथै, राजनीतिमा पनि जीवनमा जस्तै विश्वासको प्रबल महत्त्व हुन्छ । विश्वासघात गर्दा तत्काल लाभ होला । परन्तुमा त्यसले हानि नै गर्छ । यसको प्रमाण पेस गरिरहनु परेन किनभने धेरै पुराना प्रसंगको चर्चा नगरौं, सुशील कोइरालाले ओलीसँग गरेको भद्र सहमति तोडेपछि प्रारम्भ भएको पतनको शृंखलाका साक्षी कांग्रेसजन आफैं छन् । 

रणनीतिक रूपमा समेत नाकाबन्दीको खुलेर विरोध गर्न नसक्दा, कांग्रेसले राष्ट्रियता छोडेको देखियो । त्यही रिक्ततामा ओली राष्ट्रियताका प्रवक्ता बन्न पुगेका र लाभैलाभले लबालब हुन पुगेका हुन् । कांग्रेसद्वारा प्रचण्डसँग सत्ताको तालमेल, प्रचण्डको लहैलहैमा स्थानीय निर्वाचनमा हँसिया-हथौडाका पक्षमा भोट माग्ने जस्ता कृत्यका कारण कांग्रेसले, आफ्नै गोडामा बञ्चराले हानेको हो । घाउगहिरो छ, उपचार सजिलो छैन ।        
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।