२८ मंसिरदेखि ०३ पुससम्म नेपाली कांग्रेसको महासमिति बैठक बस्दैछ । पहिला ५-९ मंसिरको मिति तोकिएको थियो । भनियो, विधान मस्यौदाको काम नसकिएकाले सार्नुपर्ने भयो । कांग्रेसको १३ औं महाधिवेशनपछि एउटै महासमिति बैठक बसेको छैन र यो बैठक पनि नियमित नभएर असन्तुष्टहरूको चरम दबाबका कारण बस्दैछ ।
१३ औं महाधिवेशनपछि अहिलेसम्म त्रिशूलीमा धेरै पानी बगिसकेको छ । मेची र महाकालीबीचको यो भूभागमा ठूलो राजनीतिक उलटफेर भएको छ । स्थानीय, प्रदेश र केन्द्र तीनै तहमा कांग्रेसको उपस्थिति कुनातिर धकेलिएको छ । तीनै तहमा कम्युनिस्टहरूको वर्चस्व स्थापित भएको छ । देशका सातमध्ये, सर्वविदित छ- एउटै प्रदेशमा पनि कांग्रेसको सरकार त छैन नै, प्रतिपक्षका रूपमा यसको भूमिकासमेत अत्यन्त निम्सरो छ । फलस्वरूप, नेपाल कम्युनिस्ट पार्टीका दुईमध्ये एक अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले कांग्रेस आफ्नो प्रतिस्पर्धी नभएर ‘सहयोगी दल’ हो भन्नसम्म भ्याएका छन् ।
ओली जो कुनै बेला कांग्रेस नजिकका एमाले नेता मानिन्थे, उनका लागि अचेल कांग्रेस व्यंग्यको विषय बनेको छ । धेरैले उनका व्यंग्यवाणलाई अहंकार चढेको ठान्छन् र यसमा आंशिक सत्यता निश्चय नै छ । तर उनका व्यंग्यमा कांग्रेसप्रति इख पनि मिसिएको छ । त्यो इख के हो भन्ने थाहा पाउनका लागि फ्ल्यास ब्याकमा जानुपर्छ । दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस पहिलो दलका रूपमा (पुनः) प्रतिष्ठित बन्यो र एमाले दोस्रो । हाल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्डको तत्कालीन एकीकृत माओवादी नराम्रोसित तेस्रो स्थानमा पुगेको थियो ।
त्यतिखेर ओली कांग्रेस र एमाले मिलेर संविधान ल्याउनुपर्ने र कांग्रेसलाई नै सरकारको नेतृत्व दिनुपर्ने मान्यतामा अडिग थिए । साँच्चै भन्नुपर्दा कतिपय कांग्रेसी नेताभन्दा पनि बढी सक्रिय थिए । संविधान जारी गरुन्जेल तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहने, त्यसपछि तत्कालीन एमाले अध्यक्ष प्रधानमन्त्री बन्ने भद्र सहमतिअन्तर्गत त्यो लेनदेन भएको थियो । कोइराला प्रधानमन्त्री बने, उनकै नेतृत्वमा संविधान आयो । तर जब नेतृत्व हस्तान्तरणको समय आयो कांग्रेस आफ्नो बाचाबाट पछि फर्कियो, कोइराला आफैंले पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दिए । ओलीले प्रचण्डको सहयोग लिए । निर्वाचित भए, प्रधानमन्त्री बने ।
सर्वप्रथम, आफ्ना अग्रजहरूले कसरी, कुन हेतुले यो पार्टी स्थापना गरेका थिए ? महासमिति सदस्यहरूले इमानदारीपूर्वक त्यसको स्मरण गर्नुपर्नेछ । सिद्धान्तबारे प्रवचन र व्याख्यानले मात्र पार्टी र नेतृत्वको छवि बन्दैन, आफ्नो व्यवहारमाथि प्रशस्तै ध्यान पुर्याउनुपर्छ ।
जानिफकारहरू भन्छन्, कांग्रेसको ओरालो त्यहींबाट प्रारम्भ भयो । निश्चय नै राजनीतिमा ठूलै धोकाधडी चल्ने गरे पनि न्यूनतम नै सही नैतिकताको पालनाचाहिँ भएकै हुनुपर्छ । ओलीले त्यस प्रकरणलाई आफूमाथि कांग्रेसबाट विश्वासघात भएको रूपमा लिए र लिनु स्वाभाविक थियो । उनले त्यसलाई इखका रूपमा आफ्नो मनमा सञ्चय गरेर राखे । पहिलोपलिको प्रधानमन्त्रीका रूपमा ओली पनि अहिलेजस्तो अलोकप्रिय हुँदै गएका थिएनन् । अर्थात् उनले लोकप्रियताको भर्याङ पाएका थिए । त्यसो हुनामा भारतीय नाकाबन्दीको विशिष्ट भूमिका थियो ।
नाकाबन्दी नहटी भारत जान्न भने, गएनन् । नाकाबन्दी हटेपछि मात्र गए । भारत लगत्तै उनी चीन गए । समुद्रसम्म भारतका अतिरिक्त अर्को मार्गप्रशस्त गर्ने अर्थात् चीनसँग यातायात पारवहन सम्झौता गरे । फलस्वरूप उनको लोकप्रियताको पारो उक्लिँदै थियो, कांग्रेस पहिलो दल हुँदाहुँदै पनि अलमल-अलमलमै थियो ।
कांग्रेसले न त्यतिखेर नाकाबन्दीको खुलेर विरोध गर्यो, न त कुनै दृष्टिकोण नै बनायो । ऊ ओलीका गतिविधिको मूकदर्शक बन्यो । त्यसैबीच, सुशील कोइरालाको निधन र त्यसलगत्तै १३ औं महाधिवेशन भयो, कांग्रेसभित्रको आन्तरिक सत्ता समीकरणमा बदलाव आयो । शेरबहादुर देउवा सभापति निर्वाचित भए । त्यसपछि देउवा र प्रचण्डको सघन हिमचिम प्रारम्भ भयो । प्रचण्डले ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिए । ओली हटाइए । देउवा र प्रचण्डको आलोपालो समझदारीअन्तर्गत प्रचण्ड प्रधानमन्त्री बने । कांग्रेस-माओवादी मिलेर सरकार बनाए । यस परिघटनाका कारण कांग्रेसको सिद्धान्तनिष्ठ पंक्ति निष्क्रिय बन्यो । बरु उसको सहानुभूति ओलीतर्फ गयो ।
प्रचण्डपछि देउवाको प्रधानमन्त्री बन्ने पालो निश्चितै थियो र बने पनि । उनले प्रचण्ड प्रधानमन्त्री छँदै माओवादीसित स्थानीय तहको निर्वाचनमा कतै घोषित, कतै अघोषित तालमेल गरेका थिए । प्रचण्डसँग मिलेर सरकार बनाउनु नै घातक थियो, त्यसमाथि चुनावी तालमेल आत्मघाती नै बन्न पुग्यो । कतिपय स्थानमा कांग्रेसजनलाई हँसिया हथौडामा भोट हाल्न उर्दी जारी भयो ।
त्यसमा पनि सबैभन्दा घातकचाहिँ भरतपुर उपमहानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाललाई नगर प्रमुख (मेयर) की उम्मेदवार बनाइयो, कांग्रेस उम्मेदवारलाई फिर्ता बोलाइयो । स्वयं तत्कालीन प्रधानमन्त्री देउवाले रेणु दाहालका लागि भोट मागे । त्यसबाट निष्ठावान कांग्रेसपंक्ति झन् नराम्ररी बिच्कियो ।
स्थानीय तहको निर्वाचनको तेस्रो चरणकै क्रममा भित्रभित्रै तर तत्कालीन एमाले र माओवादीबीच भाबी तालमेलको रूपरेखा बन्न सुरु भइसकेको थियो । आधिकारिक कांग्रेसले यसको सुइँकोसम्म पाउन सकेको थिएन (जो जसले पाएका थिए तिनका सूचना पत्याइएन) । अर्थात् एमाले-माओवादी स्थानीय तहको निर्वाचनको तेस्रो चरणमै भित्रभित्रै सहकार्य गर्न थालिसकेका थिए ।
यद्यपि एमाले र माओवादीबीच सहकार्य र एकताका निम्ति वामदेव गौतम धेरै पहिलेदेखि लागिपरिरहेकै थिए तर त्यस्तो समीकरणसँग ओली कहिल्यै सहमत हुँदैनथे, त्यसपालि भने उनी कांग्रेससँग औधी नै इखिएका कारण गौतमको ‘थेसिस’ नजिक पुग्न गए । फलस्वरूप, दुवै दल पार्टी एकता गर्ने बाचासहित केन्द्र र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निष्कर्षमा पुगे (त्यतिखेर माओवादीबाट फुटेर नयाँ शक्ति पार्टी बनाएका बाबुराम भट्टराई पनि मञ्चमा मुड्की उचाल्न नपुगेका होइनन् तर त्यहाँ उनी टिक्न सकेनन् । गठबन्धनबाट भागे) ।
एमाले माओवादी एउटै घोषणापत्रमा केन्द्र र प्रदेशको चुनावमा गए । परिणाम भनिरहनु परोइन, उनीहरू दुई तिहाइ पुगनपुग पुगे । कांग्रेसले केन्द्र त गुमायो नै, सातै प्रदेशमा समेत कुनातिर धकेलियो । भन्न खोजेको यहाँ पक्कै प्रस्ट भयो, राजनीतिमा, यदि सिद्धान्तमा विचलन आयो भने रणनीतिक गल्ती स्वतः हुँदै जान्छ । कांग्रेसको डरलाग्दो रणनीतिक गल्ती त्यसैको परिणाम हो ।
त्यसैले यही मंसिरको अन्तिम सात प्रारम्भ हुन गइरहेको महासमिति बैठकमा पहिला त कांग्रेसजनले कांग्रेस के हो भन्ने टुंगो लगाउनुपर्छ ।
सुशील कोइरालाले ओलीसँग गरेको भद्र सहमति तोडेपछि प्रारम्भ भएको पतनको शृंखलाका साक्षी कांग्रेसजन आफैं छन् ।
सत्ताका लागि जहाँ जोसित पनि घाँटी जोड्ने प्रवृत्तिले यसको सिद्धान्तनिष्ठतामा भयानक स्खलन आएको छ । त्यसैले सर्वप्रथम, आफ्ना अग्रजहरूले कसरी, कुन हेतुले यो पार्टीको स्थापना गरेका थिए, महासमिति सदस्यहरूले इमानदारीपूर्वक त्यसको स्मरण गर्नुपर्नेछ । सिद्धान्तबारे प्रवचन र व्याख्यानले मात्र पार्टी र नेतृत्वको छवि बन्दैन, आफ्नो व्यवहारमाथि प्रशस्तै ध्यान पुर्याउनुपर्छ ।
साथै, राजनीतिमा पनि जीवनमा जस्तै विश्वासको प्रबल महत्त्व हुन्छ । विश्वासघात गर्दा तत्काल लाभ होला । परन्तुमा त्यसले हानि नै गर्छ । यसको प्रमाण पेस गरिरहनु परेन किनभने धेरै पुराना प्रसंगको चर्चा नगरौं, सुशील कोइरालाले ओलीसँग गरेको भद्र सहमति तोडेपछि प्रारम्भ भएको पतनको शृंखलाका साक्षी कांग्रेसजन आफैं छन् ।
रणनीतिक रूपमा समेत नाकाबन्दीको खुलेर विरोध गर्न नसक्दा, कांग्रेसले राष्ट्रियता छोडेको देखियो । त्यही रिक्ततामा ओली राष्ट्रियताका प्रवक्ता बन्न पुगेका र लाभैलाभले लबालब हुन पुगेका हुन् । कांग्रेसद्वारा प्रचण्डसँग सत्ताको तालमेल, प्रचण्डको लहैलहैमा स्थानीय निर्वाचनमा हँसिया-हथौडाका पक्षमा भोट माग्ने जस्ता कृत्यका कारण कांग्रेसले, आफ्नै गोडामा बञ्चराले हानेको हो । घाउगहिरो छ, उपचार सजिलो छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४