इटहरी- प्रदेश १ मा विभिन्न मुलुकका राजदूत र दातृ निकायका प्रतिनिधिहरूको भ्रमण बाक्लिएको छ ।
प्रदेश सरकारका प्रशासनिक र संरचनात्मक क्षेत्रमा सहयोग गरी विकास साझेदार हुन भन्दै उनीहरूले पछिल्ला दिनमा प्रदेश सरकार तथा प्रदेश प्रमुखसँग भट्ने क्रम बढेको छ ।
गत साता मात्र विभिन्न चार देशका राजदूत तथा सहयोग निकायका प्रतिनिधिले प्रदेश १ को भ्रमण गरेका छन् ।
गत सोमबार बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्स र प्रदेश प्रमुख गोविन्द सुब्बाबीच भेटघाट भएको थियो । उनले विराटनगरका व्यापारीसँग पनि छलफल गरेकी थिइन् ।
दुई देशबीच ऊर्जा, पर्यटन, व्यापारलगायतका क्षेत्रमा सहकार्य हुनुपर्ने विषयमा राजदूत र प्रदेश प्रमुखबीच छलफल भएको थियो ।
प्रदेश १ बाट स्थलमार्गमै नजिक पर्ने बंगलादेश र प्रदेशको व्यापारिक तथा पर्यटकीय विषयमा राजदूतले कुराकानी गरेको बताइएको छ । प्रदेश प्रमुख गोविन्द सुब्बाका प्रेस संयोजक शेखर रेग्मीका अनुसार प्रमुख सुब्बासँगको भेटमा राजदस्त साम्सले प्रदेश १ नेपाल र बंगलादेश जोड्ने सेतु रहेको बताएकी थिइन् ।
प्रदेश सरकारका प्रशासनिक र संरचनात्मक क्षेत्रमा सहयोग गरी विकास साझेदार हुन चाहेको भन्दै विभिन्न देशका राजदूत र दातृ निकायका प्रतिनिधिहरूले सरकार तथा प्रदेश प्रमुखसँग भट्ने क्रम बढेको छ ।
यसैगरी शुक्रबार दातृ निकायका प्रतिनिधि तथा राजदूत विराटनगर आएका छन् । उनीहरूले मुख्यमन्त्री शेरधन राईसँग विभिन्न छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा प्रदेश सरकारका प्राथामिकता, सहयोगका क्षेत्र र समस्या तथा चुनौतीका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले बताए ।
विराटनगरमा भएको छलफलमा स्विजरल्यान्डकी राजदूत एलिजावेथ भानक्यापलर, बेलायती सहयोग निकाय (डिएफआइडी) का नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व वैंकका प्रतिनिधि जर्ज लार्बी सहभागी थिए ।
मुख्यमन्त्री राईले हाल कानुन निर्माण र आवधिक आयोजना कार्यान्वयनबारे जानकारी दिएका थिए । प्रदेश सरकारको अधिकार प्रयोग गरेर सरकारले विभिन्न कार्यक्रम ल्याएको मुख्यमन्त्रीले बताए ।
मुख्यमन्त्री राईले प्रदेश १ सरकारले सारेका विभिन्न कार्यक्रम तथा विकास आयोजनाकाको खाका प्रस्तुत गरेको पनि सुवेदीले बताए । उनले भने, ‘कुनै एक विकासे परियोजनाका बारेमा छलफल भएन । समग्र पद्रेशका कार्यक्रम बारेमा सामान्य अन्तरक्रिया भएको छ ।’
मुख्यमन्त्रीसँगको छलफलमा राजदूत र दातृ निकायका प्रमुखहरुले नेपालले हासिल गरेका राजनीतिक उपलब्धि संसारका लागि उदाहरणीय भएको बताएका प्रेस सल्लाहकार सुवेदीले बताए ।
छलफलमा विश्वबैंकका प्रतिनिधि लार्बीले प्रदेश सरकारसँग सहकार्यको लागि इच्छुक रहेको बताएका थिए । उनले प्रदेश सरकारका प्रशासनिक र संरचनात्मक क्षेत्रमा सहयोग गर्ने बताए ।
स्विजरल्यान्डकी राजदूत एलिजावेथ भानक्यापलर र बेलायती सहयोग निकाय (डिएफआइडी) नेपाल प्रमुख रुरिक मार्सदेनले पनि संघीय सरकारको अनुमतिमा प्रदेश सरकारसँग आफूहरू विकासे साझेदार हुने बताएका थिए । प्रदेश सरकारका प्रथामिकता र समस्यामा केन्द्रित भएर अगाडि बढ्ने दातृ निकयका प्रतिनिधिले बताएको छलफलपछि मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४