शनिबार, साउन ९, २०८३

ट्याटु क्रेज : परम्पराबाट ग्ल्यामरतिर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन धेरै पुरानो हो । नेपालमा पनि धार्मिक विश्वासका आधारमा नेवार, थारू, गुरुङ, तामाङ र मगर समुदायमा ट्याटु खोप्ने परम्परा छ। तर पछिल्लो समय यो परम्पराभन्दा पनि फेसनको रुपमा फस्टाएको छ।

नेवार समुदायमा महिलाको खुट्टामा खोपिएको ट्याटुले शक्तिको संकेत गर्ने विश्वास छ । सानै उमेरमा ट्याटु खोप्दा रोग, दु:ख र शत्रुले आक्रमण गर्न नसक्ने यस समुदायका वृद्धवृद्धा बताउँछन् । 

थारू समुदायमा विवाहित महिलाले मात्र ट्याटु खोप्छन् । यसलाई थारू भाषामा गो भनिन्छ । उनीहरू शरीरमा फूल, कोठी, घाम, जुन, आफ्नो र पतिको नाम खोपाउँछन् । रोमाञ्चक पंक्षी मयूरलाई विवाहित जोडी मयूर जोडीजस्तै रहोस् भनी प्रेमपूर्वक चुच्चो जोडिएको चित्र थारू महिलाले आफ्नो गोडामा बनाउने चलन छ ।

वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ भन्छन्, 'संस्कारसँग जोडिएको प्रतीकात्मक चिह्न शरीरमा खोप्ने चलन धेरै पुरानो हो ।' उनका अनुसार कसैको आँखा नलागोस् भनेर कालो रङ प्रयोग गरिन्छ । नराम्रो नजरबाट बच्न कालो धागो, कपडा वा कालो टीका लगाउन चलन धेरै जातजातिमा छ । चिउँडोमा कालो ट्याटु बनाउँदा राम्री देखिनुको साथै नराम्रो नजरबाट बचाउँछ भन्ने धारणा थारू महिलामा रहेको गुरुङ बताउँछन् ।

विकसित मुलुकमा ट्याटुले धेरै पहिला व्यावसायिक रूप लिए पनि नेपालमा ट्याटु भित्रिएको धेरै पछि मात्र हो । सबैभन्दा पहिले बाबुराजा प्रधानले ठमेलमा बाबुज ट्याटु सप खोलेको जानकारहरू बताउँछन् ।

अचेल युवापुस्तामा ट्याटु मोह बढेको छ । ट्याटु खोप्ने व्यवसाय पनि फस्टाउँदै गएको छ । यसका पारखीले आफ्ना अंगमा बुद्ध, शिवजस्ता मनपर्ने देवता, आफ्नो नाम, प्रेमिका वा प्रेमीको नाम लगायत विभिन्न तस्बिर खोपेको देख्न पाइन्छ । विदेशीलाई लक्षित गरेर खोलिएका ट्याटु सपमा नेपाली ग्राहक नै बढी आउने ट्याटु आर्टिस्टहरू बताउँछन् । 



किन खोपिन्छ ट्याटु? 

काठमाडौं ठमेलस्थित गगन ट्याटु सपमा सुष्मा डराइरहेकी देखिन्थिन् । घाउ ठूलो हुने वा छालामा नकारात्मक असर पार्ला भनेर डर लागेको उनले बताइन् । हातमा सानो तीन तारा र परी खोप्न पुगेकी सुष्माले यसले आफू थप आकर्षक हुने बताइन् । ट्याटु जीवनभर रहिरहने भएकाले खोप्दा दुखे पनि छुट्टै आनन्द आउने सुष्माले बताइन् । 

काँधको बायाँपट्टि बटरफ्लाई ट्याटु बनाएकी रिना कार्की भन्छिन्, 'गर्मीमा खुला कपडा लगाउँदा ट्याटु फोकस होस् भन्ने चाहना हुन्छ ।' ट्याटु देख्नेले तारिफ गरिदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई  । उनले ट्याटु आफू राम्री बनेर अरू आकर्षित बनाउने माध्यम रहेको बताइन् । उनीजस्तै अधिकांश युवतीमा आकर्षक देखिनका लागि ट्याटु खोपाउने क्रेज बढेको छ ।

भिन्नभिन्न रुचि र डिजाइन

विगतमा भन्दा अहिले ट्याटुको हरेक कुरामा परिवर्तन आएको ठमेलस्थित गगन ट्याटुका तुलब थापा बताउँछन् । उनले भने, 'यो इन्टरनेट, विज्ञान र प्रविधिको समय हो । गुगल गरेर आफूलाई मनपर्ने ट्याटुको डिजाइन भेट्न सकिन्छ ।' 

थापाका अनुसार अचेलका युवक भगवान् शिवको चित्र छातीमा खोप्न रुचाउँछन् । थापा भन्छन्, 'शिवको चित्र बनाउने चलन भने कायमै रहेको छ ।' कोही भने परिवार नै मिलेर एउटै डिजाइनको ट्याटु खोपाउने गर्छन् । कतिपय भने आमालाई अगाडि राखेर उनको तस्बिर छाती र हातमा खोप्ने पनि छन् । कतिले आफ्नो बुबाको तस्बिर बनाउने गरेका छन् । युवाको टुयाटुमा आमा र ड्याडी शब्द धेरै लोकप्रिय बनेको छ ।

ट्याटुप्रति पुरुषमा मात्र नभई महिला पनि उत्तिकै आकर्षित छन् । महिलाले तारा, विभिन्न देवीदेवताका तस्बिर, आफ्नो नामको पहिलो अक्षरको ट्याटु खोप्न मन पराउने आर्टिस्टहरू बताउँछन् । 

विदेशीमा बढी मोह

ठमेल इंक लिन्क ट्याटुका लिबेन शाक्य भन्छन्, 'जाडोयाममा भन्दा गर्मीको समयमा ट्याटु खोप्नेको सङ्ख्या बढी हुन्छ ।' उनले पनि ट्याटु खोपाउने क्रेज नेपालीमा भन्दा विदेशीमा धेरै रहेको बताए । विदेशीहरू नेपालको सम्पदाका तस्बिर झल्कने ट्याटु खोप्न मन पराउँछन् । धेरैजसोले हिमाल, पहाड, बुद्ध र स्वयम्भूको आँखाको चित्र खोप्ने शाक्यले बताए ।

संवेदनशील अंगमा खोप्नु हुँदैन

टुयाट् खोप्नु कस्मेटिक सर्जरीजस्तै हो । जस्तै : कुनै सर्जरीपछि हरेक व्यक्तिले डाक्टरको सल्लाह मानेजस्तै ट्याटु खोप्नेले पनि ट्याटु आर्टिस्टले भनेअनुसार घाउमा ध्यान दिनुपर्ने हुन्छ । घाउको हेरविचार गरिएन भने छालामा समस्या देखिन सक्छ । सस्ता उपकरण प्रयोग गरेर छिटो ट्याटु बनाउनुभन्दा पेसेवर आर्टिस्टसँग बनाउँदा स्वास्थ्यमा असर पर्दैन ।

 ट्याटु आर्टिस्टहरू हत्केला, औंला, अनुहारलगायत शरीरका संवेदनशील अंगमा नखोप्न सल्लाह दिन्छन् । २१ वर्षभन्दा कमका युवाले ट्याटु खोप्न नहुने उनी बताउँछन् । २१ वर्षभन्दा कम उमेरका युवाले ट्याटु खोप्नुपरे परिवारको सहमति चाहिने जानकारी उनले दिए ।



बिछोड भए पनि प्रेमिका औंलामै

ट्याटु बनाएर पछुताउने युवा पनि धेरै छन् । साथीभाइको लहैलहैमा लागेर ट्याटु खोप्ने युवा पनि कम छैनन् । कीर्तिपुरका अमन तुलाधरले हातको औंलाको बीचमा प्रेमिकाको नाम खोपाए । अहिले उनीहरूको प्रेम सम्बन्धमा बिछोड भइसकेको छ । उनले भने, 'प्रेमको जोसमा ट्याटु खोपेर उनलाई खुसी बनाएँ । केही समयपछि उनीसँग बिछोड भयो । त्यसैले ट्याटु घाँडो भएको छ ।'

बिस्तारै व्यावसायिक बन्दै

ठमेलमा झन्डै करिब चालिसको हारहारीमा ट्याटु सप रहेको ट्याटु आर्टिस्ट बताउँछन् । ठमेलबाहेक अन्यत्र ट्याटु खोप्ने सप थोरै मात्रामा छन् । कतिपय ट्याटु आर्टिस्ट भने घरमै ग्राहक बोलाएर खोप्ने गर्छन् । ट्याटु खोप्ने कार्यले व्यावसायिक रूप लिए पनि अझै पनि कतिपय आर्टिस्टहरूलाई यो व्यवसायबाट जीवन धान्न कठिन भइरहेको छ । 

ट्याटुको बनावट र आकारअनुसार यसको शुल्क निर्धारण हुन्छ । गगन ट्याटु सपका ट्याटु आर्टिस्ट तुलब थापाका अनुसार ट्याटु १५ सय रुपैयाँदेखि सुरु भई जतिसम्मको पनि हुन सक्छ । सानो तारा, नामको पहिलो अक्षरजस्ता सानो डिजाइनको ट्याटु खोपेबापत उनी पन्ध्र सय देखि दुई हजार रुपैयाँसम्म लिन्छन् । 

इन्क लिन्क ट्याटुका लिबेन शाक्य भन्छन्, 'जाडो मौसममा ट्याटु खोपाउन खासै कोही आउँदैनन् । गर्मी मौसममा भने ग्राहकको चहलपहल बढी हुन्छ ।' गर्मीमा थोरै कपडा लगाउँदा ट्याटु फोकस होस भन्ने हरेक ग्राहकको चाहना हुन्छ । जाडोयाममा दुखाइ सहन गाह्रो हुने उनी बताउँछन् । उनी भन्छन्, 'दैनिक यति नै आम्दानी हुन्छ भन्न सकिन्न, कहिले धेरै हुन्छ, कहिले थोरै हुन्छ, सधैं एकनासको हुँदैन ।' 

'ट्याटु बनाउने एक कला हो र जति आफू क्रियटिभ हुन सकिन्छ त्यति नै राम्रो गर्न सकिन्छ,' तुलब भन्छन् । लगनशील र सिर्जनात्मक बनेमा कठिन नरहेको उनको अनुभव छ । आर्टिस्ट शाक्यका अनुसार सानो आकारको सामान्य कालो ट्याटु खोप्न थोरै समय लाग्छ तर ठूलो आकार र डिजाइनको खोप्ने हो भने धेरै समय लाग्छ । उनले भने, एउटा ट्याटु खोप्न कम्तीमा डेढ घन्टादेखि एक महिनासम्म लाग्न सक्छ ।' पोखराका मोहन गुरुङले ठमेलमै मोहन ट्याटु इन खोलेका थिए । अहिले उनी आफ्नो छोरासँगै मिलेर अमेरिकामा ट्याटु खोप्ने व्यवसाय सञ्चालन गरेर उतै बसेका छन् । 

किलोइड टेन्डेन्सी परीक्षण गरेर खोपौं : चिकित्सक

शरीरमा किलोइड टेन्डेन्सीको मात्रा कति छ भन्ने थाहा पाएर मात्र ट्याटु खोप्दा राम्रो हुन्छ । किलोइडको मात्रा बढी भएमा घाउको दाग बस्‍ने, घाउको आकार बढ्ने  खतरा हुन्छ। त्यसैगरी शरीरमा फोका उठ्ने, मुसा आउने, मासु पलाउने र एलर्जी हुने जस्ता समस्या देखिन्छन्।

ट्याटु खोपेर क्यान्सर लाग्छ भन्ने धारणा गलत हो । एउटा व्यक्तिले प्रयोग गरेको सियो अर्को व्यक्तिले प्रयोग गरेमा हेपाटाइटिस बी, एचआईभी र विभिन्न प्रकारका रोग सर्ने सम्भावनाचाहिँ हुन्छ । कतिपयलाई रङको पनि एलर्जी हुन्छ । 

ट्याटुका डिजाइनअनुसार विभिन्न प्रकारको रसायनिक पदार्थको प्रयोग गरिएको हुन्छ । यस्ता पदार्थको प्रयोगले छालामा नकारात्मक असर पर्न सक्छ । एकपटक खोपेको ट्याटु हटाउन निकै गाह्रो हुन्छ । ट्याटु लेसर गरेर मात्र हटाउन मिल्छ तर ट्याटुको दाग हटाउन सकिँदैन । ट्याटु बनाउँदा जति पीडा हुन्छ त्यो भन्दा बढी पीडा ट्याटु हटाउँदा दुख्छ । 

सेना, प्रहरी र वैदशिक रोजगारीका लागि जाने युवालाई ट्याटुले समस्या निम्त्याउँछ । आफूलाई मनपर्ने डिजाइन वा पे्रमिकाको नाम वा सेलिब्रिटीका नाममा खोपेको ट्याटुको बिस्तारै महत्व घट्न थालेपछि समस्या हुने गरेको देखिन्छ ।
 (छाला रोग विशेषज्ञ डा. राजन बाबु ताझ्यासँगको कुराकानीमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।