धनगढी- न्याय माग्न अनसनमा बसेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको मानसिक अवस्था समस्याग्रस्त देखिएसँगै उनको गोजिमा विषको गोली भेटिएको छ ।
अनसनस्थलमा बस्दै आएका एकजना (नाम नखुलाउने सर्तमा)ले दिएको जानकारी अनुसार, निर्मलाका बुबा यज्ञराजको गोजीमा विषादीकारुपमा प्रयोग गरिने सल्फास नामक औषधीको गोली भेटिएको हो ।
सल्फासलाई किरा लाग्नबाट जोगाउन गहुँलगायतका अन्न भण्डारको बेला प्रयोग गरिन्छ । यो घातक विषादी हो । चिकित्सकको प्रेस्किप्सन बिना यो किन्न पाईंदैन । मनसिकरुपमा सन्तुलित नभएका उनले कहाँबाट सल्फास ल्याए भन्ने कुरा खुल्न सकेको छैन ।
‘उनी आफै सल्फास किनेर ल्याउन सक्दैनन् ।’ श्रोतले भन्यो, ‘सल्फास जसले पायो त्यसले किन्न पनि सक्दैन । तर उनको गोजीमा भेटिएपछि यसले डरलाग्दो संकेत गरेको छ ।’
रात्रीकालिन समयमा समेत अनसन सुरु भएपछि उनले मानसिक सन्तुलन गुमाएका हुन् । निर्मला पन्तकी आमाका अनुसार, राती अनसन बस्न थालेपछि उनी आफ्नै सुरमा बोल्ने, हिँडने गर्न थालेका छन् ।
यतिमात्रै होइन, उनी लुगा समेत फुकालेर हिँडने गरेका छन् । अनसनस्थलबाट निस्केर जथाभावी बोल्दै सडकमा हिँडन थालेपछि पन्तकी आमाले उनको उपचारका लागि अपील गरेकी छिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४