शनिबार, साउन ९, २०८३

राजधानीमै पालमा बस्‍न बाध्य छन् प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई प्राथमिकतामा पारेका छन् । 

कान्तिपुर दैनिकले राजधानीमै पालमा प्रहरी शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा जनाइएअनुसार महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा साढे तीन वर्षदेखि पालभित्रबाटै चलिरहेका छन् । जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भइरहेका छन् ।

ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् । हावा चल्दा प्रहरी अधिकारीहरु कागजपत्र च्यापेर जोगाउँछन् । यस्तै अाजकाे कान्तिपुरले मन्त्रिपरिषद्को निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशनमा ११६ कलेजलाई सम्बन्धन दिएको विषयलाई एङ्कर न्यूज बनाएको छ ।  

अन्नपूर्ण पोस्ट्ले राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्ने प्रक्रिया अगाडी बढाउन लागेका बेला शीतल निवासको गाडी चालु हालतमा रहेको खबर लेखेको छ ।

यो विषयलाई मुख्य समाचार बनाउँदै उसले राष्ट्रपति कार्यालयका लागि नयाँ गाडीको आवाश्यकता नपरेको उल्लेख गरेको छ । यस्तै राष्ट्रपतिलाई गाडी किन्न युवाहरुले भीख मागेको विषयलाई उसले प्रकाशित गरेको छ ।

खोटाङ एक शैक्षिक संस्थाले बारीमै गएर व्यबहारीक शिक्षा बाडेको विषयलाई प्राथमिकतामा पारेको आजको नागरिक दैनिकले जग्गा कित्ताकाटः दलालदेखि हाकिमसम्मलाई घुस शीर्षकमा मुख्य समाचार छापेको छ ।

काठमाडौं उपत्यकामा एउटा जग्गा एकपटक कित्ताकाट गर्दा दलालहरुले ५० हजारदेखि एकलाख रुपैयाँसम्म घुस लिने गरेका छन् । जुन रकम दलालमार्फत कार्यालयका हाकिम र मन्त्रालका कर्मचारीहरुसम्म पुग्ने गरेको  नागरिकले लेखेको छ । 

आजको नयाँ पत्रिकाले भने भूकम्पको ७५ अर्ब ऋणमा भारतका सर्त शीर्षकमा मुख्य समाचार छापेको छ । भारतीय समाग्री भारतीय ठेकेदार र भारतीय बैंकको अनुमति लिनु पर्ने सर्त भारतले राखेको छ । जुन सर्त राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अस्विकार्न नसकिने जनाएको समाचारमा उल्लेख छ । 

राजधानीमै पालमा प्रहरी

कान्तिपुरमा प्रकाशित समाचारअनुसार २०७२ वैशाखको भूकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्त्वपूर्ण दुई निकाय महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा अर्काको जग्गामा बनाइएका पालभित्र सञ्चालन भइरहेका छन् । 

टेकुस्थित नेसनल ट्रेडिङ परिसरमा साढे तीन वर्षअघि बनाइएका पाल जीर्ण भइसकेका छन् । रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भइरहेका छन् । कागजपत्र असरल्ल छरिएका छन् । हावा चल्न थालेपछि प्रहरी अधिकारीहरू कागजपत्र उडाउने डरले सतर्क हुन्छन् । पानी पर्दा प्वाल टाल्न जुट्छन् ।

नेसनल ट्रेडिङसँग २६ हजार स्क्वायर फिट भाडामा लिएर सञ्चालन भइरहेको सासा बैंक्वेटको आधा क्षेत्रफलमा महाशाखाको कार्यालय छ भने ट्रेडिङको गोदाम र खाली रहेको पुरानो भवनमा परिसरको कार्यालय छ । बैंक्वेटको आँगनमा महाशाखाले दर्जनजति पाल टाँगेको छ । घामपानीले ती पनि मक्किइसकेका छन् । महाशाखासँग करिब दुई सय प्रहरी अधिकारी आबद्ध छन् । परिसरले ३ हजार १ सय ३८ दरबन्दी परिचालन गरिरहेको छ ।

दैनिक ६ सय हाराहारी सेवाग्राहीका अनेकन समस्या र अप्ठ्यारा फुकाउने प्रहरी अधिकारीहरू आफ्ना समस्या कसलाई सुनाउने भन्ने अन्योलमा छन् । महाशाखा र परिसरको नेतृत्व हाँकिरहेका उच्च अधिकारीहरू पनि यही अप्ठेरोमा छन् ।

धुलीका मानिस त लाँगाकै सन्तान भएको विश्वास गर्छन् । कसैले चोरी गरे लाँगा देवता रिसाएर कुलमा अनिष्ट हुने विश्वासका कारण यहाँ चोरी नहुने धलौनका बिरु धामीले बताए ।

..............
शीतल निवासका गाडी चालु हालतकै

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । 

महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तेै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् । गाडी खरिदलाई लिएर चर्को विरोध भइरहँदा पनि सरकारले थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी ल्याउने तयारी गरेको छ । नेपालमा टोयोटा गाडी बिक्री गर्दै आएको वैद्य अर्गनाइजेसनले यसमा सहजीकरण गरेको छ । यसको ओरासँग सीधा सम्बन्ध छ ।

विशेष परिस्थितिमा मात्र रकमान्तरमार्फत बजेट उपलब्ध गराउने प्रचलन भए पनि राष्ट्रपतिलाई गाडी खरिदका लागि १४ करोड ३२ लाख (१२ लाख ३४ हजार ४ सय ६८ अमेरिकी डलर) को प्रतीतपत्र खोल्ने बुधबार स्वीकृत दिइएको हो । नियमित बजेट चार करोडबाट राष्ट्रपतिको सुरक्षाका लागि पछुवा गाडी, बस र एम्बुलेन्स खरिद प्रक्रिया यसअघि नै अघि बढिसकेको छ ।

राष्ट्रप्रमुख चढ्ने हुनाले हाइल्यान्डर जिपलाई बुलेटप्रुफ बनाउँदा महँगो पर्न गएको सरकारी तर्क छ । थाई कम्पनीले बेच्ने ती गाडी क्यानडा लगेर बुलेटप्रुफ बनाइँदै छ । राष्ट्रपतिका लागि उपयोग हुने तीन वटा गाडीको मूल्य नै १२ करोड पर्नेछ । तीन वटा उहीखाले र दुई फरक प्रकारका गाडी तत्काल खरिद गर्न लागिएको हो । अन्य तीन गाडी सेनाले सुरक्षाका लागि भन्दै छुट्टै पुरानो बजेटअनुरूप खरिद गर्ने गरी तत्काललाई मिलान गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

औपचारिक कार्यक्रममा सहभागी हुँदा राष्ट्रपति भण्डारी तत्कालीन राजा ज्ञानेन्द्र शासनको अन्त्यतिर खरिद गरिएको ‘जगुआर–लिमोजिन’ चढछिन् । सेनाको कार्यक्रममा टुडिखेल आउँदा, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा, भोटो जात्रा, हनुमान ढोकालगायत मुस्किलले ६–७ वटा औपचारिक कार्यक्रममा राष्ट्रपतिले यो गाडी चढछिन् ।

..............
जग्गा कित्ताकाट दलालदेखि हाकिमसम्मलाई घुस

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार कित्ताकाट (जग्गा खण्डिकरण) रोक्ने सरकारको निर्णयबाट दलाल, कार्यालयका हाकिम तथा मन्त्रालयका कर्मचारीहरूले समेत आर्थिक लाभ (घुस) लिने गरेको खुलासा भएको छ। 

कित्ताकाट रोक्ने निर्णयबाट जग्गा दलालहरूले खुलेआम आर्थिक लाभ लिने गरेको राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अध्ययन प्रतिबेदनमा जनाइएको छ। मन्त्रालयको यो निर्णयपछि नापी विभाग तथा मालपोत कार्यालयका कर्मचारीहरूले पनि व्यापक रूपमा आर्थिक अनियमितता गरेको प्रतिबेदनमा जनाइएको छ।

स्रोतका अनुसार काठमाडौ उपत्यकामा एउटा कित्ताकाट गर्दा ५० हजारदेखि एक लाख रुपैयाँसम्म दलालहरूले घुस लिने गरेको र यो घुस दलाल,कार्यालयका हाकिम तथा मन्त्रालयका कर्मचारीहरूसँग पुग्ने अध्ययनको निष्कर्ष छ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयको गत २०७४ साउन २६ मा नापी विभागलाई परिपत्र पठाइ एक आथिक वर्षमा एक पटक मात्र कित्ताकाट गर्न आदेश दिएको थियो। २०७४ साउन २६ यता हालसम्म काठमााडौं उपत्यकामा मात्र ५ हजारभन्दा बढी कित्ताकाट गरिएको अनुमान छ। चाबहिल मालपोत कार्यालय अन्तर्गत गोठाटार, साँघु,कलकीं मालपोत, ललितपुर मालपोत तथा नापी कार्यालय अन्तर्गतका ठाउँमा अत्यधिक कित्ताकाट भइरहेको जनाइएको छ।

एक आर्थिक वर्षमा १ पटकभन्दा बढी कित्ताकाट गर्न नपाउने सरकारको निर्णयलाई उल्लंघन गर्दै जग्गा दलालहरूले नापी विभाग तथा मालपोत कार्यालयका कर्मचारीहरूसँग मिलोमतो गरी अनियमिता गर्ने गरेको केन्द्रले तयार गरेको प्रतिबेदनमा जनाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।