मंगलबार, मंसिर ११, २०८१

दशैं सम्झना
Siddartha premir insuranceSiddartha premir insurance

सत्ताइस सालको त्यो दशैं

दिदी २५ पैसाको तामाको ढ्याक पाएर खुसीले नाच्नुहुन्थ्यो। छोरीहरुलाई पढाउनु पर्दैन भन्ने समाजमा टीका लगाएर पैसा दिएर खुट्टामा ढोग्ने चलन भने थियो।
 |  शनिबार, कात्तिक ४, २०८०
nespernesper

डा‍. चन्द्र गिरी

डा‍. चन्द्र गिरी

शनिबार, कात्तिक ४, २०८०

२०८० सालको दशैं मनाइरहेका छौं हामी। दशैंलाई आधुनिकताले छोपिसकेको छ। दशैंका थुप्रै मौलिक कुराहरु र परम्पराहरु अहिलेको पुस्तालाई एकादेशको कथा भइसक्यो।

triton college

आज म तपाईंलाई ५५ वर्षअघिको दशैंको यात्रा गराउँदैछु। पूर्वी पहाडी जिल्ला खोटाङको चिमचिमा गाउँको त्यो दशैंको ‘फ्लासब्याक’ मा आफूसँगै ‘नोस्टाल्जिक’ बनाउँदैछु। यसक्रममा दाइ तिलक राम गिरी र सानिमा मधु गिरीले कतिपय कुराहरु सम्झिन सहयोग गर्नुभएको छ।

वि. सं. २०२७। चिमचिमा, खोटाङ।

अग्ला पहाड, कान्लाकान्ला परेका भिरालो पाखा, अनि गाउँको सिरानतिर हराभरा जंगल। बेंसीतिर खोलाको अविरल सुसाहट। माथि लेकतिरका डाँडाहरूमा बादलुको घुम्टो। समुद्री सतहबाट करिब १५०० सय मिटरको उचाइमा रहेको अति नै सुन्दर चिमचिमा गाउँ। यो अनकन्टार गाउँबाट मोटर चल्ने बाटो पुग्न छ दिन हिँडेर सुनसरीको चतरा पुग्नुपर्थ्यो। नजिकैको किनमेल गर्ने बजार भनेको धरान थियो। आधा दिनको बाटोमा दिक्तेल बजार थियो तर त्यहाँ धेरै पसलहरु थिएनन्।  

बिजुली, टेलिफोन, घरमा खानेपानीको धारा, स्वास्थ्य सुविधा, शौचालय  हुने कुरै थिएन। बिरामी परे स्थानीय जडिबुटी, झारफुक या धामीझाँक्रीकै भर पर्नुपर्थ्यो र धेरैको अकालमै मृत्यु हुन्थ्यो। स्वास्थ्य सेवाको अभावमा पाँच वर्ष नपुग्दै धेरै बच्चाबच्ची मृत्युको मुखमा पुग्नुपर्ने नियति थियो भने कतिपय सुत्केरी महिलाहरुको अकालमै मृत्यु हुन्थ्यो।

Metro Mart
vianet

गाउँमा सबै महिला निरक्षर थिए। छोरी पढाउने चलनै थिएन। केही पुरुषलाई मात्र अलिअलि लेखपढ गर्न आउँथ्यो। धेरैजसो पुरुषहरू घरमै साधारण लेखपढ गर्न सिक्थे। लेखपढ गरेर रामायण पढ्न जान्यो भने निकै ठूलो उपलब्धि मानिन्थ्यो। हजुरबाले रामायणको ठेली पल्टाएर हरेक दिन बेलुका केही श्लोकहरु घरै थर्किने गरी बाचन गर्नुहुन्थ्यो।

जम्माजम्मी दुइटा घर थिए यहाँ, एउटा हाम्रो अनि तीन कान्लामुनि बडाउको। हाम्रो घर मूल घर थियो किनकि हजुरबा र हजुरआमा बस्ने पुर्ख्यौली घर हो यो। गाउँको सिरानमा माइली फुपूको घर थियो। खोल्सो पारि अलि टाढाको नाता पर्ने पल्लो घरे बडाउको घर अनि  बारीको पल्लो छेउमा एक घर दमाई र एक घर कामी परिवार थिए। अलि तल राई गाउँ र आधा घण्टाको बाटोमा डाँडा गाउँ थियो। राई गाउँ र डाँडा गाउँमा हाम्रो भन्दा बाक्ला घरहरु थिए। यस्तै थियो चिमचिमा गाउँको नापनक्सा।

बडादशैं वर्षभरिको सबैभन्दा ठूलो चाड। मिठो खान, नयाँ लुगा लाउन, पिङ खेल्न, परिवारका सबै सदस्यलाई  भेट्न र रमाइलो गर्न पाइने सुनौलो अवसर। केही दिन भए पनि पिरव्यथा बिर्सेर रमाउने समय। दशैं कहिले आउला भनेर पर्खिन्थ्यौं हामी केटाकेटी।

गाउँमा सबै महिला निरक्षर थिए। छोरी पढाउने चलनै थिएन। केही पुरुषलाई मात्र अलिअलि लेखपढ गर्न आउँथ्यो।

दशैंको लागि भनेर एउटा घोर्ले बोका र एउटा खसी पालेको थियो हाम्रो घरमा। उनीहरुले वर्षभरि अलि राम्रो स्याहार-सुसार पाएका थिए अरुले भन्दा। कुखुरा खाए जात जान्छ भनिन्थ्यो। सुँगुर वा राँगा खाने कुरा कल्पनाभन्दा बाहिरको भइहाल्यो।

शरद् ऋतुको मौसम। न जाडो न गर्मी। बिहान मज्जाले शीत पर्न थालेको छ। घर वरिपरि थुँगे फूल लगायत अनेक रंगका फूलहरू फुलिसके। तल बेंशीमा धानका बाला झुलिसके। हावामा एक किसिमको मिठो सुगन्ध छ। घाम न्यानो लाग्न थालेको छ। अहिलेको भाषामा भन्दा दशैं ‘भाइब्स’ आइसकेको छ गाउँघरमा।

दशैं आउनु एक-दुई महिना अघिदेखि नै गाउँका बूढापाकाको मुखबाट हरेक वर्षझैं दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला,चोरी ल्याउँला, धत् पापी ! म त छुट्टै बसुँला  भन्ने लोकोक्ति सुन्न थालियो। बूढाहरुले यसको अर्थ लगाउँदै नराम्रो काम गर्नु हुँदैन भनेर अर्ती दिन्थे। हामी केटाकेटी पनि गीतजस्तै बनाएर यो लोकोक्ति गाउने गर्थ्यौं। दशैं धुमधाम मनाउनुपर्ने तर त्यसको लागि आर्थिक स्रोत कसरी जुटाउने भन्ने चिन्ता लुकेको यो लोकोक्ति बडा मार्मिक र सन्देशमूलक छ। देश आर्थिक मन्दीले आक्रान्त बनेको बेला यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ।  

एक महिनाअघि नै हजुरबा धरान बजारबाट दशैंको किनमेल गरेर घर आइसक्नु भएको थियो। तीन जना भरियाले ढाकरमा अट्नेजति सामान ल्याएका थिए। नुन, तेल, लुगासँगै केटाकेटीलाई मिस्री पनि थियो त्यो भारीमा। चकलेटको चलन आइसकेको थिएन। मिस्री खान दशैं पर्खनु परेन र भारी पनि खोल्नु परेन किनकि हजुरबाले अलिकति मिस्री इस्टकोटको खल्तीमा राख्नुभएको रहेछ। नयाँ लुगा भने सिलाउन बाँकी नै थियो। लुगा टीकाको दिनमात्र लगाउन पाइन्थ्यो।   

डेढ महिनाअघि नै आमा र हजुरआमाले घरको कुनाकाप्चा बढारेर सफा बनाउनु भएको थियो। अँगेनो वरिपरि गोबरले लिपपोत गरेर चिटिक्क पार्नुभएको थियो। घरका भित्री र बाहिरी भित्ताहरु रातो र कमेरो माटोले लिपपोत गरेर रंगाइएका थिए। सिकुवाले नयाँ गुन्द्री पाएको थियो। बाँसका मुडाहरु आँगनमा मिलाएर राखिएका थिए। बाटोको दायाँबायाँ झारपात उखेलेर सिनित्त पारिएको थियो।

दशैंको लागि भनेर एउटा घोर्ले बोका र एउटा खसी पालेको थियो हाम्रो घरमा। उनीहरुले वर्षभरि अलि राम्रो स्याहार-सुसार पाएका थिए अरुले भन्दा। कुखुरा खाए जात जान्छ भनिन्थ्यो। सुँगुर वा राँगा खाने कुरा कल्पनाभन्दा बाहिरको भइहाल्यो।

चौतारामा लिंगे र रोटे पिङ हाल्न गाउँका तन्नेरीहरुले निकै अगाडि सरसल्लाह सुरु गर्थे। त्यसको तयारी सोह्र श्राद्धमै सुरु हुन्थ्यो र घटस्थापनाको दुई-तीन दिनअघि पिङ हालिन्थ्यो। माथि चौतारमा लिंगे पिङ र गाउँको पुछार खोला किनारमा राई गाउँका ठिटाहरुले रोटे पिङ थाप्थे। दुवै पिङ तिहारपछि मात्र भत्काइन्थ्यो। हाम्रो लागि घरमै पनि पिङ बन्थ्यो। आँगन अघि ठडिएको रुखको हाँगामा डोरी बाँधेर हामी केटाकेटीलाई पिङ बनाइ दिनुहुन्थ्यो। हामी त्यसमै झुत्तिरहन्थ्यौं।

दशैं नजिकिँदै गएपछि कामको चटारो झन् बढ्थ्यो। ढिकीमा चिउरा कुट्न बिहान सबेरैदेखि आमा र अरु महिला आफन्तहरु व्यस्त हुनुहुन्थ्यो। त्यही ढिकीमा धान कुटेर चामल पनि तयार गरिसकिएको थियो। अर्को तिर गाउँभरिका महिला एकठ्ठा भएर घर नजिकैको जंगलमा गएर भोर्लाको पात टिपेर ल्याइसक्नु भएको रहेछ। घटस्थापनाको दुई दिनअघि हाम्रो टपरी बुन्ने दिन रहेछ। सिरान घरबाट माइली फुपू पनि आउनुभयो। पातमा सिन्का खिल्दै गफ चल्थे अनि घरीघरी गीत पनि सुनिन्थे। घरमा हर्ष र उत्सुकता छाएको थियो।

हेर्दाहेर्दै घटस्थापना आइसक्यो। विधि पुर्याएर जमरा राख्ने काम भयो एकाबिहानै। घरको माथ्लो तलाको एउटा कुनामा मान्द्रोले बारेर एउटा सुरक्षित ठाउँ तयार भएको थियो। उज्यालो कतैबाट छिर्न नसकोस् भनेर घरको कुना कुनामा टालटुल पारिएको थियो। हजुरबाले एकाबिहानै नुहाईधुवाई गरेर खोलाको छेउबाट बालुवा मिसिएको पञ्चमाटो लिएर आउनुभयो। अलि अलि पानीले भिजाएर त्यसमा जौ छरी दिनुभयो। बीचमा कलश राखिएको थियो।

गाउँमा भएको एकमात्र प्राथमिक विद्यालय बन्द भइसकेको थियो। त्यतिबेला घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन दशैं बिदा हुन्थ्यो। लामो छुट्टी र दशैंको माहोलले हामी केटाकेटीहरु दंग हुन्थ्यौं। कसको घरमा कत्रो खसी, कसको कस्तो लुगा, पिङ खेल्न कहिले पाइने हो भन्ने नै हाम्रो कुराकानीको विषय हुन्थ्यो।

दशैं नजिकिँदै गएपछि कामको चटारो झन् बढ्थ्यो। ढिकीमा चिउरा कुट्न बिहान सबेरैदेखि आमा र अरु महिला आफन्तहरु व्यस्त हुनुहुन्थ्यो।

हजुरआमाले करेसाबारीबाट फूल टिपेर र घर नजिकैको धाराबाट शुद्ध पानी ल्याई हरेक दिन जमराको पुजा गर्नुहुन्थ्यो। हजुरआमाले नभ्याए आमाले गर्नुहुन्थ्यो। सप्तमी (फूलपाती) देखि त दशैं सुरु भई नै हाल्यो। यो दिन घरमा भएका सबै हातहतियार साँध लगाएर चुस्तदुरुस्त बनाइन्छ। यसो गर्दा दशैंमा मासु काट्नमात्र नभएर वर्षभरि डाले घाँस काट्न वा तरकारी काट्न पनि सहज हुने भयो।

त्यही दिन दशैंका लागि पूजा सामग्रीस्वरुप फूलपाती भित्र्याइन्छ। आमाले नौ-नौ थान केरा, उखु, धान, फूल, हलेदो, सिरुको पात र पिपलको पात तयार गर्नुभएको रहेछ। हजुरबा र हजुरआमा मिलेर त्यसलाई घरमा भित्र्याउनु भयो। अब हजुरबा बेसीमा भएको खेततिर लाग्नुभयो। त्यहाँबाट चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बालासहितको बोट घरमा लिएर आउनुभयो र जमरा राखेको ठाउँको एक कुनामा राख्नुभयो। हामी केटाकेटीहरु उत्सुकतापूर्वक त्यो सबै हेर्थ्यौं। स्कुल छुट्टी भइसकेकोले दशैंका गतिविधिमा रमाउनु र पिङ खेल्नुबाहेक हाम्रो काम के नै हुन्थ्यो र।  

कुन घरमा दश‌ैंको कस्तो तयारी चल्दैछ भनेर दाजुभाइ-छरछिमेकमा सोधनी गर्ने र सरसहयोग गर्ने सौहार्दपूर्ण प्रचलन थियो गाउँमा। कामको धमाधमले वर्षभरि बाक्लो आउजाउ गर्न सम्भव हुँदैनथ्यो। भेटघाट, गफगाफ र सघाउपगाउ गर्ने उपयुक्त समय दशैं नै हुन्थ्यो सबैका लागि। आर्थिक अवस्था कमजोर हुनेले सरसापट गरेर भए पनि राम्रैसँग दशैं मनाउँथे। गच्छेअनुसार सबैको घरमा दशैं भित्रिन्थ्यो। हाम्रो हजुरबा अलि हुनेखाने र मनकारी पनि भएकोले गाह्रोसाह्रो पर्नेको दशैं टारिदिनुहुन्थ्यो।

फूलपातीको बेलुका डाँडा गाउँको पिङमा मेला लाग्थ्यो। हजुरबाको नेतृत्वमा हामी हामी परिवारका सबै मेला हेर्न जान्थ्यौं। अलिअलि डरसँगै रोटे पिङमा मच्चिन बडो मजा आउने। कतिपय आँटिलाले मच्याएर पिङ नै फर्काउँथे पनि। फूलपातीको मेला रातैभर चल्थ्यो। ठिटाठिटीहरु मादल बजाएर गीत गाउने, स्थानीय परिकारहरु खाने, तास खेल्ने, पिङ मच्चाउने गर्दै रातै पनि छर्लङ्‍ग पार्थे।  

कुन घरमा दश‌ैंको कस्तो तयारी चल्दैछ भनेर दाजुभाइ-छरछिमेकमा सोधनी गर्ने र सरसहयोग गर्ने सौहार्दपूर्ण प्रचलन थियो गाउँमा।

खास दशैं अष्टमीको दिन सुरु हुन्थ्यो। राईहरुले फूलपातीकै दिन सुँगुर काटेर मासु खान थाल्थे भने क्षेत्री-बाहुन भने अष्टमीको दिन खसी मार हान्थे। हजुरबा र बुबाले बोको काट्ने तयारी गर्न थाल्नुभयो। मोरङमा बस्ने मेरो बुबा चतराबाट ६ दिन हिँडेर अघिल्लो दिनमात्र घर आइपुग्नु भएको थियो। तल्लो घरबाट बडाउ, उहाँको कान्छो छोरा र माइला फुपाजुको छोरा माइला दाइ पनि आउनुभयो मार हान्न। हजुरबाले भरुवा बन्दुक पुछपाछ पारेर तयार पार्नुभयो।

मार हान्नुभन्दा करिब ५ सेकेन्ड अगाडि कान्छा दाइले एक नाले बन्दुक पडकाउनुभयो। फूल, अक्षता, पानीले बोकाको पूजा गरिसक्नु भएको थियो बुबाले। बोकाले टाउको र जिउ हल्लाएपछि ‘मान्यो’ भनिन्थ्यो। मालदाइले मार हानेपछि बुबाले बोकाको टाउको लगेर जमरा राखेको ठाउँमा चढाउनुभयो। मालदाई र कान्छा दाई मिलेर बोका भुत्ल्याउनुभयो र आँगनमा केराको पात ओछ्याएर मासु काटकुट गर्नुभयो। आन्द्राभुँडी धुने कामचाहिँ घरका महिला सदस्यको भागमा पर्थ्यो। रक्ती, आन्द्राभुँडी, बाँकी मासु पकाएर चिउरासँग खाइन्थ्यो। त्यो दिन जुठो पार्न हुँदैन भनेर भात पकाउने चलन थिएन।

नवमीको दिन पनि बिहानै उठेर हजुरआमाले जमराको पूजा गर्नुभयो। अघिल्लो दिनजस्तै बुबा, हजुरबा, बडाउ, मालदाई र कान्छा दाई मिलेर खसी काट्नुभयो। त्यसपछि अरु घरमा पनि पालैपालो खसी काटियो। दशैंमा काटेको खसीको गर्दन कामीलाई र पुच्छर दमैलाई दिने चलन थियो। त्यहीअनुसार सुरुमै त्यो छुट्याएर बाँकी मासु खाने, पक्कु  बनाएर राख्ने गरिन्थ्यो। आमा र हजुरआमा दशैंभरि खाना पकाउन र खुवाउन व्यस्त हुनुहुन्थ्यो। मासु पकाउन माटोको हन्डा थियो डेढ धार्नीसम्म पाक्ने। पक्कु बनाएको मासु १५-२० दिनसम्म केही हुँदैनथ्यो। खसीको गिदी, जिब्रो आमाबाउ हुनेले खानु हुँदैन भन्ने चलन थियो, हजुरबाले मात्र खानुहुन्थ्यो।

दशमीको दिन बिहानैदेखि धमाधम। नजिकैको धारामा गएर पालैपालो सबैजनाले नुहाउनुपर्‍यो। त्यसदिन केटाकेटीले पनि नुहाउनैपर्छ। त्यसो त फूलपातीको दिनदेखि नै दैनिक नुहाउने चलन थियो। फूलपातीको दिन ननुहाए अर्को जन्ममा राँगो भइन्छ, अष्टमीमा ननुहाए बोका भइन्छ र नवमीमा ननुहाए खसी भइन्छ भन्थे बूढापाका। दशमीको दिन नुहाएर चोखो कपडा लगाएर दुर्गा भवानीको प्रसाद टीका लगाइन्छ।

खास दशैं अष्टमीको दिन सुरु हुन्थ्यो। राईहरुले फूलपातीकै दिन सुँगुर काटेर मासु खान थाल्थे भने क्षेत्री-बाहुन भने अष्टमीको दिन खसी मार हान्थे।

सिकुवामा राखेको गुन्द्रीमा बसेर आज पनि हजुरबाले बन्दुक सफा गरिसक्नु भएको थियो। दस बजेतिर पञ्जेबाजा बजाएर एक हुल हाम्रो घरमा आइपुग्यो। हामी केटाकेटी रमाएर उफ्रियौं। टीका लाउने बेला पनि भएछ। टीकाको साइत १० बजेर १३ मिनेट जाँदा परेको रहेछ। रेडियो नेपालबाट त्यस्तो खबर आएको रे।  हाम्रो घरमा रेडियो थिएन। तल राई गाउँमा ब्रिटिस आर्मीमा काम गर्ने लाहुरेहरुले बिदामा घर आउँदा रेडियो लिएर आएका रहेछन्। साइतको बारेमा हजुरबाले त्यतैबाट खबर लिएर आउनुभएको रहेछ।

टीका लाउने ठाउँ मझेरीको एक कुनामा लिपपोत गरेर शुद्ध बनाउनुभएको रहेछ आमाले।  त्यसमाथि नयाँ गुन्द्री बिछ्याइएको थियो अनि गुन्द्रीमाथि नयाँ राडी। ठिक १०:१३ मा बन्दुक पड्कियो अनि कन्या केटीलाई टिका लगाएर हजुरबाले टीका खोल्नुभयो। पञ्चेबाजाको धुन रोकियो। पालैपालो ज्येष्ठताको आधारमा हजुरबाले श्लोक भन्दै टीका लगाइदिनु भयो अनि कानमा जमरा सिउरी दिनुभयो। सायद रंग नपाइने भएर होला, टीका सेतो हुन्थ्यो। अरु परिवारका सदस्यहरुले टीका लगाइदिने प्रचलन थिएन।

लोग्ने मान्छे र आईमाई मान्छेलाई भन्ने श्लोक र आशीष फरक हुँदोरहेछ। आशीष दिँदा पुरुषलाई पौरख गर्नु भन्नुहुन्थ्यो भने महिलालाई घरजम राम्रो बसाउनु र लोग्नेको ख्याल गर्नु भन्ने आशयको हुन्थ्यो। छोरा खलकले दक्षिणा पाउँदैनथे भने छोरीहरु, भान्जाभान्जी र ज्वाइँचेलाले पाउँथे। दिदी २५ पैसाको तामाको ढ्याक पाएर खुसीले नाच्नुहुन्थ्यो। छोरीहरुलाई पढाउनु पर्दैन भन्ने समाजमा टीका लगाएर पैसा दिएर खुट्टामा ढोग्ने चलन भने थियो।  

घरको टीका सकेपछि पर्खिरहेका दमाई टोलीलाई टपरामा टीका र जमरा राखेर हजुरबाले दिनुभयो। बालसुलभ जिज्ञासामा मैले हजुरबालाई उहाँहरुलाई पनि टीका लगाइदिनु न भनेँ। हजुरबाले लाउन हुँदैन नाति भन्नुभयो। किन लाउनु हुँदैन भन्ने मलाई थाहा थिएन र सोधिनँ पनि। त्यो दमाई परिवारलाई हाम्रा जिजु हजुरबाले सोह्र आना लेखापढी गरेर घर नजिकै बस्ने बारी उपलब्ध गराउनु भएको रहेछ। जग्गा दिएबापत उनीहरुले हरेक वर्ष असारमा ६ जना खेताला सित्तैंमा उपलब्ध गराउनुपर्ने रहेछ। साथै दशैंको टीकाको दिन पञ्जे बाजासहित हाम्रो घरमा टीका लगाउन आउनुपर्ने रहेछ।

घरमा टीका लगाएपछि गाउँका आफन्तहरु टीका लगाउन आउँथे। हामी केटाकेटी कसले के कोसेली लिएर आउँछ भनेर उत्सुक हुन्थ्यौं। कोसेलीको रुपमा केरा, रोटी, कुराउनी, बाबरको चलन थियो। टीकाटालो कोजाग्रत पूर्णिमासम्मै चल्थ्यो। त्यसदिन बिदाइको टीका लगाउने चलन थिएन। टीका, जमरा र फूलपाती विसर्जन गरिन्थ्यो। टीकाको दिनदेखि लगातार बालिएको दियो पनि पूर्णिमाको रात निभाइन्थ्यो।

लोग्ने मान्छे र आईमाई मान्छेलाई भन्ने श्लोक र आशीष फरक हुँदोरहेछ। आशीष दिँदा पुरुषलाई पौरख गर्नु भन्नुहुन्थ्यो भने महिलालाई घरजम राम्रो बसाउनु र लोग्नेको ख्याल गर्नु भन्ने आशयको हुन्थ्यो।

पूर्णिमाको रात जाग्राम बस्ने चलन थियो। त्यस रात को जाग्रत (जागा) छ भनेर लक्ष्मी माता हेर्ने आउँछिन् र जागा बस्नेलाई धनधान्यले भरिपूर्ण बनाइदिन्छिन् भन्ने विश्वास छ। पूर्णिमाको रात राई गाउँको रोटे पिङमा मेला लाग्थ्यो। ठिटाठिटीहरु त्यो रात पनि मादल बजाएर गीत गाउँदै रात छर्लंङ्‍गै पारेर ब्रम्ह मुहुर्तमा घर आउँथे। घरघरमा पनि जुवा खेलेर रात बिताउने चलन थियो।

दशैं सकिएपछि तिहारको प्रतीक्षामा हुन्थ्यौं हामी। तिहारको छुट्टै रौनक हुन्थ्यो गाउँमा। सफा मौसम, रंगीबिरंगी फूलहरु, सेलरोटीको सुगन्ध अनि सयपत्री-मखमलीको माला ढल्काएर पिङ खेल्न जाने उत्साहका साथ तिहार आउने दिन गन्थ्यौं।

(गिरी अमेरिकी सरकारका उच्च अधिकृत र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसर हुन्।)

प्रकाशित: Oct 21, 2023| 07:36 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कानुन बने चल्छ मोटरबोट व्यवसाय

कानुन बने चल्छ मोटरबोट व्यवसाय

पर्यटन क्षेत्रलाई चलायमान बनाउन र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको मोटरबोट व्यवसाय भने आफैँ कानुनको पर्खाइमा छ। स्पष्ट कानुन नहुँदा यसको दर्तादेखि सञ्चालन...
भूगर्भमै सीमित बागलुङका तामाखानी

भूगर्भमै सीमित बागलुङका तामाखानी

दशकौं अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्णरुपमा खानी बन्द छन्।